भन्सार छलेर ल्याएको २१ लाखको कपडा र मोबाईल बरामद

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, ०९ : ३१
भन्सार छलेर ल्याएको २१ लाखको कपडा र मोबाईल बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको २१ लाख बढीको कपडा र मोबाइल प्रहरीले बरामद गरेको छ । काठमाडौँको नागढुंगामा गाडी जाँचका क्रममा मोवाइल र कपडा बरामद भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रहरीले ७५ थान मोबाइल र ३४ थान कपडा बरामद गरेको हो । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौँको चन्द्रागिरी नगरपालिका २ नागढुंगा चेक प्वाइन्टमा वीरगञ्जबाट काठमाण्डौ आउदै गरेको ना ६ ख १५३४ नम्बरको यात्रु बाहक बस जाँच गर्ने क्रममा सिटमुनी लुकाई ल्याएको अवस्थामा आईफोन २, ओप्पोको ११, भिभोको ३६, रिद्मीको १३, सामसुङको दुई थानसमेत गरी ७५ थान मोबाईल बरामद भएको छ । 

मोबाइलहरु बिल भरपाई नभएको अबस्थामा फेला पारिएको हो । यसको अनुमानित बजार मूल्य रु १९ लाख रहेको प्रहरीले जनाएको छ । बरामद भएका सामग्री थप अनुसन्धानका लागि भन्सार कार्यालय सानो गौचरण पठाईएको प्रहरीले जनाएको छ । 

यसैबिच नागढुङ्गामै खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको यात्रुबाहक बसमा जाँच गर्ने क्रममा बसको पछाडीको डिकीमा बोरामा लुकाईछिपाई गरी ल्याएको अवस्थामा ३४ थान कपडा फेला बरामद गरेको छ । 

सोधपुछ गर्दा कपडाको धनी फेला नपरेको र हालसम्म कोही कसैले हकदाबीसमेत गर्न नआएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा रहेकोले उक्त कपडा भन्सार छली राजस्व चुहावट गरी ल्याएको आशंका गरिएको छ । थप अनुसन्धान र कार्वाहीको लागि भन्सार कार्यालय सानो गौचरणा पठाइएको छ ।  कपडाको मुल्य करिव रु दुई लाख रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस