एमआरपी विवादले वीरगञ्ज भन्सार जाँचपास प्रभावित, व्यवसायीको असहयोग

सफल खबर संवाददाता

विहीबार, १७ बैशाख २०८३, ०७ : ३१
एमआरपी विवादले वीरगञ्ज भन्सार जाँचपास प्रभावित, व्यवसायीको असहयोग

बिरगंज । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भागमा अवस्थित भन्सार कार्यालयबाट राजस्व सङ्कलन प्रभावित भएको छ।

वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा दुई दिनदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन्।

आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो।

उद्यमी–व्यवसायीको असहयोगका कारण राजस्व सङ्कलन प्रभावित भएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीका अनुसार आयात–निर्यातकर्ताले जाँचपासको फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका काममा सरिक नहुँदा जाँचपास रोकिएको हो।

सरकारको हालैको निर्णयअनुसार भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रुपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो।

पेट्रोलियम पदार्थ, सागसब्जी, फलफूल तथा औद्योगिक कच्चापदार्थको भन्सार जाँचपासमा कुनै समस्या नभएको विभागले जनाएको छ। त्यसबाट रु ३१ करोड राजस्व सङ्कलन भएको छ। वीरगञ्ज भन्सार कार्यालयले दैनिक रु ५० देखि ६० करोडसम्म राजस्व सङ्कलन गर्दै आएको छ।

यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले एमआरपी अव्यावहारिक भएकाले आफूहरु भन्सार जाँचपास प्रक्रियामा सहभागी नभएको बताए।