सन्दर्भ : पृथ्वी जयन्ती

राष्ट्रिय एकता दिवस भनेर पृथ्वीनारायणको पूजा गर्ने पञ्चायती संस्कार गलत

आइतबार, २७ पुस २०७६, ११ : ५३
राष्ट्रिय एकता दिवस भनेर पृथ्वीनारायणको पूजा गर्ने पञ्चायती संस्कार गलत

- राम लोहनी

पृथ्वीनारायण शाहलाई सामन्ती राजा भनेर आजभोलि मूल्याङ्कन गर्ने गरेको सुनिन्छ। पृथ्वीनारायणको समय भनेको अठारौँ शताब्दीको समय हो। यो समय संसारको कुन कुनामा गैह्र-सामन्ती राज्य थियो? पृथ्वीनारायणले खडा गरेको राज्य एकात्मक नै हो। इतिहासको कालखन्डलाई सामन्ती समाज भन्नु स्वाभाविक कुरा हो, तर त्यो समाजको सदस्यको रूपमा कोही एक व्यक्तिको भूमिकालाई त्यो समाजको कारक मान्नु त्रुटिपूर्ण कुरा हो। यसको मतलब पृथ्वीनारायण भगवान नै हुन्, गल्ती नै गरेनन् भन्ने होइन। यो शैली पनि ठिक होइन।

प्रसङ्ग नेपाल राज्य खडा गर्ने सूत्रपातको हो। त्यो कामलाई सामन्ती भनेर अहिले त्यो ऐतिहासिक घटनालाई अस्वीकार गर्नुले हामीलाई कहीँ पनि पुर्यााउँदैन। तटस्थ भएर हेर्दा के देखिन्छ भने पृथ्वीनारायणले गरेको गोरखा विस्तार नै हो। ठूलो र सम्पन्न मुलुकको राजा हुने महत्वाकांक्षा नै हो पृथ्वीनारायणको। तर त्यो समयमा सबै राजा (शासक) को चिन्तनै त्यही थियो भने पृथ्वीनारायणको त्यो चिन्तन कसरी गलत भयो? समाजको दवाब नै त्यही थियो।

यसलाई इतिहासको कसीमा हेर्नु उपयुक्त हुन्छ। सन् १७६८ मा पृथ्वीनारायणले काठमाडौं जितेका थिए। संसारले प्रजातान्त्रीक आन्दोलन र सुरुवात भनेको भनेर मान्ने गरेको अमेरिकी स्वतन्त्रता आन्दोलन १७७६ मा भएको थियो र अमेरिकाको संविधान (जुन संघियताको प्रारूप थियो) १७८७ मा आएको थियो। अमेरिकाको युद्ध पनि बेलायती उपनिवेशविरुद्ध थियो। अमेरिकामा त्यो समय कुन खालको समस्या थियो र मुलुक एक हुन नसकेका प्रसङ्गहरू के के थिए भन्ने सामान्य इतिहासको विद्यार्थी धेरैलाई थाहा भएकै कुरा हो।

अर्को आन्दोलन फ्रान्सको राज्यक्रान्ति हो, १७८९ को। त्यो राज्यक्रान्ति कति सफल, कति असफल भन्ने वहसको विषय हो। त्यसपछि नेपोलियनको उदय भयो फ्रान्समा। युरोपको उन्नाइसौं शताब्दीको पहिलो आधा त मेटरनिखको दबदबामै बित्यो। औद्योगिक क्रान्ति अठारौँ शताब्दीको पछिल्लो खण्डमा सुरु भए पनि त्यसको उत्कर्ष उन्नाइसौँ शताब्दीमा भएको हो। पुँजीवाद औद्योगिक क्रान्तिको परिणाम हो। साम्राज्यवादको धङधङीबाट बेलायत अझ राम्ररी बौरिएको छैन।

वर्तमान नेपालले चर्चेको भूमि मुख्य रूपले चार खण्डमा विभाजित थियो। पश्चिममा कर्णाली नदीको दायाँबायाँ बाइसे राज्यहरू थिए। गण्डकी क्षेत्रमा चौबिसे राज्यहरू थिए। बाइसे, चौबिसे राज्य बाहेक पनि विभिन्न भुरे टाकुरे समुहहरू थिए। जस्तो कि द्रव्य शाहले विजय गरेको लिगलिग, सिरानचोक आदि चौबिसे राज्यभन्दा बाहेकका भूमि थिए। नेपाल उपत्यकामा नै तीन राज्य थिए। उपत्यका वरिपरिका क्षेत्रमा उपत्यकाकै मल्लहरूको शासन थियो।

पूर्वमा मकवानपुरदेखि सेनहरूको राज्य थियो। पहाडी क्षेत्रमा किरातहरू थिए। उपत्यकामा यक्ष मल्लको १४८२ मा मृत्यु भएपछि उनका छोराहरू बीच राज्यको भागभन्डा भएको थियो। दुई सय वर्षसम्म उनीहरूबीच परस्पर पटक पटक युद्ध भयो, एक अर्कविरुद्ध षडयन्त्रहरू भए। आफू आफैभित्र पनि उत्तराधिकारको खिँचातानीले उपत्यकाको राजनीति जर्जर थियो। तर आर्थिक दृष्टिले नेपाल उपत्यकाको स्वर्णकाल थियो। नेपाल उपत्यका तिब्बत र दक्षिणको व्यापारको सेतु थियो। उपत्यका आफ्नै उत्पादनले भन्दा पनि व्यापारको कारण समृद्ध बनेको थियो।

दक्षिणमा मुगल साम्राज्य लगभग छिन्नभिन्न हुने क्रममा थियो। सन् १७०७ मा मुगल बादशाह औरङ्गजेबको मृत्यपछि नाम मात्रका बादशाह उदाए। स्थानीय स्तरमा उठेका रजौटाहरू आफू आफूबीच युद्धमा चर्लुम्म डुबेका थिए। यसै बीच पश्चिमा मुलुकको साम्राज्य विस्तार भारतसम्मै आइपुग्यो। सन् १४९८ मा पोर्चुगलबाट जहाज लिएर भास्को डी गामा भारत आइपुगेपछि त्यसको जग बसेको हो। सन् १५४० मा बेलायती व्यापारिक कम्पनी इस्ट इन्डिया कम्पनीले मद्रासमा आफ्नो अफिस खडा गरेर व्यापार सुरु गर्योो। अर्को सय वर्षसम्ममा भारत इस्ट इन्डिया कम्पनी मार्फत बेलायतको उपनिवेश बनिसकेको थियो। सन् १७५७ को पलासीको युद्ध अङ्ग्रेजविरुद्धको अन्तिम युद्ध बन्न पुग्यो।

नेपालको छुट्टै पहिचान

यो पृष्ठभूमिमा वर्तमान नेपाल बन्ने गरी नेपालको छुट्टै अस्तित्व प्रकट भएको हो। सामाजिक, राजनैतिक दृष्टिले नेपाल सामन्ती युगमै थियो। इतिहासका घटनामाथि वास्तवमै निर्मम समीक्षा हुनु पर्छ। यसमा दुई मत छैन। तर नेपालको वर्तमान स्वतन्त्र अस्तित्वको उपादेयतामाथि प्रश्न गरेर होइन। छुट्टै मुलुकको रूपमा रहँदा यो मुलुकका बासिन्दाले पाएका र पाउन सक्नेव लाभको कसीमा इतिहासका घटनाको मूल्याङ्कन हुनु पर्छ। राष्ट्रिय मूल प्रवाहमा आउन नसकेका, आउन नदिइएका समुदायलाई मूल प्रवाहमा ल्याउनु सबैको दायित्व हो। तर पृथ्वीनारायणलाई गलत सिद्ध गर्ने प्रयासमा मुलुकको स्वरूपलाई अस्वीकार गर्नु कदापि उपयुक्त हुँदैन। "एकीकरण" भन्ने शब्द कति उपयुक्त हो बहसको विषय हो। तर भौगोलिक रूपले यो जुन स्वरूपमा एकीकृत छ, त्यो यथार्थ हो।

अहिले नेपाल भनिएका भाग नेपालको नभए अर्कै मुलुकको भाग हुन्थ्यो होला। मेची पारि र काली पारिका भूभागको दृष्टान्त हाम्रै सामुन्ने छ। साना चिर्कटा जस्ता जमिन छुट्टै राज्यको स्वरूपमा रहन सक्थे कि सक्थेन भन्ने कुरा संसारका धेरै ठाउँको इतिहासबाट छर्लङ्ग हुन्छ। नेपाल छुट्टै मुलुक भएकोले सामान्य योग्यता भएका मानिसले विभिन्न राजनैतिक हैसियत प्राप्त गरेका छन्। सर्वसाधारण जनतालाई त, लौ त भनुँ भने, यो देश र ऊ देश भनेर कुनै फरक पर्दैन। अहिलेको गतिविधिलाई हेर्ने हो भने नेपाल बेग्लै हुनुको उपलब्धी यिनै नेताबाहेक अरूले उस्तो भोगेका पनि छैनन्।

भौगोलिक एकीकरण र त्यसपछिका विभिन्न परिघटनाले यो अवस्था आइपुगेको हो। अबको "एकीकरण" सर्वसाधारण जनताको तहसम्म लैजाने गरी हुनुपर्छ। पृथ्वीनारायणले यो मुलुकलाई सबैको साझा फूलबारी हो भनेको कुरा यहाँ स्मरणीय छ।

हामीकहाँ केही भ्रम छ। पहिलो भ्रम, जनजाति भनेर पहिचान खोज्नु भनेको पृथ्वीनारायणलाई गलत भन्नु हो भन्ने। दोस्रो उग्र कान्तिकारी हुनु भनेको पृथ्वी नारायणलाई तिरस्कार गर्नु भन्ने। यी दुबै विकृत चिन्तन हुन्। पहिचानलाई पृथ्वी नारायणले कहाँ मासे? छुट्टै राज्य हुनु, भुरे टाकुरे राज्यका बासिन्दा हुनु पहिचान हो? रुसमा पनि पहिलेका राजाहरूले निर्माण गरेको भूमिलाई जोगाउन स्टालिन लङौटी कसेरै लागेका थिए। वरिपरिका सानासाना मुलुकलाई मासेर संघ बनाएको होइन? स्वायत्तताको कुरा गर्ने हो भने स्टालिन चाहिँ कसरी कम्युनिस्टका नेता भए? चीनमा पनि सिङ्गो मुलुक कायम राख्न कसरी चिनिया सरकार दमनमा उत्रने गरेको छ? तिब्बतलाई हड्पिनु कहाँको न्यायसङ्गत कुरा हो?

हामी बुझ्नु भन्दा पहिले दिग्भ्रमित छौं। पहिचानको, आत्मनिर्णयको, स्वायत्तताको लडाइँ कहाँ छैन? समूहमा बसेपछि नै पहिचानको खोजी हुन्छ। समूहबाट अलग्गिनेको त्यो मुद्दा पनि समाप्त हुन्छ। जहाँसम्म जातीय विभेदको कुरा छ, त्यो पृथ्वीनारायणले लागू गर्न पनि भ्याएनन्। समस्याको जड जयस्थिति मल्लले काठमाडौंमा लागू गरेको मनुस्मृतिको सङ्कुचित रूप थियो, जुन मुलुकी ऐनको नाममा सन् १८५४ मा अझ विस्तारित रूपमा संस्थागत भयो। काठमाडौंलाई राजधानी बनाउँदा यहाँ लागू नियम कानून, धर्म प्रथा सबै अपनाउनु एउटा कारण हो। एउटा सामान्य व्यक्तिले - जनजाती, वा अरू पहाडे वा मधेसी - जुनसुकै रूपमा जुन आवाज बुलन्द गर्न पाएको छ, त्यो नेपाल भन्ने छुट्टै मुलुक भएकोले हो।

अङ्ग्रेजको पञ्जाबाट नेपाल बच्न नसकेको भए के हुन्थ्यो भन्ने सामान्य रूपमा सोच्दा नै नेपालको छुट्टै अस्तित्वको महत्व देखिन्छ। पृथ्वीनारायणले अङ्ग्रेजबाट जोगाएर नेपाल बनाए। अथवा भनौं राज्य विस्तार गर्ने प्रतिस्पर्धामा पृथ्वीनारायणले अरू भुरे टाकुरेलाई उछिने। राज्य जोगाउन अङ्ग्रेजको चाकडी गरेनन्। त्यसैले नेपाल नामको मुलुक बन्न पुग्यो। अहिले नेपाली भनेर चिनिदाँ के नोक्सान छ? अथवा यो छुट्टै मुलुक हो भन्दा के हानि छ? नेपाल र नेपाली भनेर चिनिएपछि यहाँभित्र रहेका सबैको समानता र सहअस्तित्वको कुरा हुनुपर्छ भन्ने कुरामा दुई मत हुनुहुँदैन। तर त्यो सिङ्गो नेपालको विरुद्धमा होइन।

गोरखामा बाहुन क्षेत्रीभन्दा जनजातिकै बाहुल्य थियो। काठमाडौं आएपछि नेवारको बाहुल्य भयो। कान्तिपुरको राजा हुने क्रममा पृथ्वीनारायणले नेवारको सबै संस्कार र प्रथालाई स्वीकारेका थिए। यहाँको कुमारीलाई आफ्नो इष्टदेवी समेत स्वीकारे। मकवानपुर पूर्वका सेनहरू आफूलाई हिन्दुपति ठान्थे, सम्भवत दक्षिण-पश्चिम भारतमा शिवाजीले उठाएको आन्दोलनको प्रभावमा। सेनहरूको राज्य दखल गरेपछि पृथ्वीनारायण स्वत: हिन्दुपति ठानिए। पृथ्वीनारायणले त्यसको दाबी गरेको भने पाइँदैन।

उपत्यका विजयपछि केपुचिन पादरीसहित इसाईधर्मावलम्बीहरूलाई निष्कासन गर्नुबाहेक धार्मिक विषयमा दख्खल गरेको पनि बुझिँदैन। सबै जातजातिले आफ्नो कूलधर्मअनुसारको व्यवहार कायम राख्नु् भन्ने निर्देशन नै थियो। केपुचिन धर्मप्रचारकहरूलाई निष्कासन गर्नुमा पनि धार्मिकभन्दा राजनीतिक कारण बढ्ता बुझिन्छ। किनभने उपत्यकामाथि नाकाबन्दी लगाउँदा तीन सहरमा भएका केपुचिन पादरीहरूलाई बाह्य सम्पर्क गरी आवश्यक सामग्री किनमेलको छुट पृथ्वीनारायणले दिएका थिए, जुन सुविधा उपत्याकाका बासिन्दालाई थिएन।

तिब्बतमा दलाई लामाले सर्वस्वहरण गरेर निष्कासन गरिदिएका पादरीहरूलाई पृथ्वीनारायणले त्यसो गरेका थिएनन्, स-सम्मान निष्कासन गरेका थिए। उसो त, पृथ्वीनारायण एक मानिस हुन्। यिनीबाट गल्ती नै भएन भनेर देवत्वकरण गर्नुको पनि कुनै तुक छैन।

नेपालको एकताको कुरा गर्दा विजितको कुरा मात्र गर्नु राम्रो होइन, र जो अगाडि देखियो उसको मात्र कुरा गर्नु पनि राम्रो होइन। पराजित हुनेले पनि एकतामा सघाएका थिए। भक्ती थापा जो पछि गोरखा फौजका सरदार भए लमजुङबाट गोरखाविरुद्ध लडेका थिए। मतलब के भने, साझा प्रयासबाट मात्र एकता सम्भव हुन्छ। जे जस्तो छ, त्यो सबैको हो भन्ने भावना आउन पर्यो। पराजित भयौं भन्नेले पनि प्राप्त गरेका कुराको खोजीनीति गर्नुपर्छ, त्यसको लेखाजोखा गर्नु पर्छ।

अहिले सयको सङ्ख्यामा भएका समुहले पनि आवाज उठाउन पाएका छन्। यो पनि त अवसर हो नि नेपाल छुट्टै मुलुक हुनुको। छुट्टै एउटा डाँडा छुट्टै राज्यको रूपमा त पक्कै पनि अस्तित्वमा रहने थिएन। कदाचित्, विशाल भारतको अङ्ग भएको भए लाखको जनसंख्या पनि बिलाएर जाने थियो, आवाज उठाउन पाउने त अर्कै कुरा। सकारात्मक कुरा पनि खोज्नु पर्छ हामीले। पृथ्वीनारायण धेरै मध्येका एक हुन् र पछिल्लो समयको एकताको नेतृत्व गरेका थिए।

पृथ्वीनारायणले सत्यनारायण पूजा लगाएका होइनन् अपुङ्गो बाँड्ने गरी! युद्ध भएको थियो। युद्धको नियम, विनियम धेरै हुन्छन्। कतिपय अवस्थामा युद्धको नियम तोडिएका पनि हुन्छन्। बदलाभाव र क्रुरता युद्धको आवश्यक तत्व ठानिन्छ। त्यो कति र कुन हदको भन्ने बहस हुनु चाहिँ आवश्यक हुन्छ। पृथ्वीनारायणले गरे, गराएका सबै कर्म सबै कोणबाट सदर नै गरिनु पर्छ भन्ने पनि होइन।

पृथ्वीनारायणका क्रुरताको उदाहरण दिनु पर्दा पाटनका काजीहरूलाई काट्न लगाएको, जयन्त रानालाई छाला काढेको, भक्तपुरमा लुटपाट गरेको आदि उदाहरण दिने गरिन्छ। पाटनका ती काजीहरू अवसरवादी राजनीति गर्थे। लामो समयसम्म राजाहरू फेरबदल गर्दै राजनीतिमा सर्वेसर्वा भएका व्यक्ति थिए। पछिल्लो समय पृथ्वीनारायणलाई साथ दिए पनि विश्वास चाहिँ गरेका थिएनन्। पाटनबाट काठमाडौँ आउन लाग्दा आफ्नो साथमा नआएपछि पृथ्वीनारायणले मृत्युदण्ड दिएका थिए। जयन्त राना पहिलाका आफ्नै भारदार भागेर जयप्रकाशकहाँ पुगेको भएर दोहोरो बदला लिएको हुन सक्छ। यद्यपि त्यो क्रुरता थियो।

भक्तपुरको लुटको प्रसङ्गको कुरा गर्दा पाटन र कान्तिपुरमा नगरेको लुट भक्तपुरमा किन भयो प्रश्न उठ्नु पर्छ। लुटपाट बाहेक आगजनी, भक्तपुरका जनतालाई अनावश्यक दण्ड, जरिवाना पनि उल्लेख गरेको पाइन्छ। त्यसको यथेष्ट प्रमाणहरू प्राप्त भैसकेका छैनन्। भक्तपुरसँग गोरखाको मितेरी सम्बन्ध थियो र भक्तपुरका गुमेका भूभाग फिर्ता गराउन पृथ्वीनारायणले सहयोग पनि गरेका थिए। यद्यपि भक्तपुरलाई छोडेर उपत्यकामा आधिपत्य भने हुने थिएन। कान्तिपुर र पाटनका राजाहरूलाई संरक्षण प्रदान गरेर गोरखालाई घात गरेको अर्थमा प्रतिशोध लिइएन भन्न सकिँदैन। तर त्यस्तो प्रतिशोध लिइएकै भए पनि सर्वसाधारण जनता पर्नु हुँदैनथ्यो। त्यसको उचित मूल्याङ्कन हुनै पर्छ।

उपत्यकाका मल्ल राजाहरूको द्वन्द्वको कुरा गर्दा उपत्यकाका राज्यहरू बिच पनि त्यस्तै लडाइ पर्दा परस्पर लुटपाट र आगजनी हुने गर्थे भन्ने कुरालाई पनि ध्यान दिनु पर्छ। बाहिरबाट आउनले पनि पटक पटक उपत्यकामा आगो लगाइदिएका थिए। भक्तपुरमा आक्रमण गर्न जानेहरू गोरखाका मात्र नभएर कान्तिपुर र पाटनका सैनिक पनि थिए। कीर्तिपुर युद्धमा भारी नोक्सान व्यहोर्दा समेत नगरिएको लुटपाट भक्तपुरमा किन भयो खोजको विषय हुन सक्छ।

प्रारम्भमा पृथ्वीनारायणमा केही उन्माद पक्कै पनि थिए भन्ने अनुमान हुन्छ। मकवानपुरमा जुत्ता लगाएर सलाम गर्ने सेनाका जवानहरूलाई कटाउनु यसको एउटा उदाहरण हो। यद्यपि त्यो जेठान दीगबन्ध सेनसँग लिएको तात्कालीक प्रतिशोध हुन सक्छ। काशीबाट फर्किँदा गोरखपुर नजिक चेकजाँच गर्ने मुसलमान कर्मचारी पनि पृथ्वीनारायणको उन्मादको शिकार भएका थिए। अर्काको मुलुकमा सुझबुझले काम गर्नु पर्ने ठाउँमा मारधाडमा उत्रिनु बुद्धिमत्ता पक्कै पनि होइन। गोरखा फर्कने क्रममा बुटवलमा पनि त्यस्तै घटना घट्यो। यसमा केही बढाइचढाइ पनि हुन सक्छ।

पूर्वी नेपाल दखल गर्ने क्रममा अरुण किनारमा भएको युद्धमा विपक्षीतर्फ ठूलो हताहत भएको थियो। सेनाका कतिपय जवान अरुणमा वेपत्ता भएका थिए। यसलाई लिएर ज्यूँदा मानिसलाई बोरामा हालेर अरुणमा फ्याँकिएको पनि बताइन्छ। त्यस्ता घटना हुँदै भएन भनेर दाबी गर्न सकिँदैन। तर उचित अनुसन्धानको अभावमा तथ्य र तथ्याङ्कको तोडमरोड भएको हुन सक्छ सम्भावना पनि त्यत्तिकै रहन्छ। किनभने उपत्यकाबाट निष्कासित इसाई धर्मावलम्बी र तिब्बतसँगको व्यापारमा नियन्त्रण गरिरहेका काश्मिरी मुसलमान र गोसाइँहरू पृथ्वीनारायणसँग असन्तुष्ट थिए। उनीहरूले तथ्यलाई बढाइचढाइ गरी प्रचार प्रसार गरेका थिए।

विशेष गरी पश्चिमा इतिहासकारहरूको वर्णनमा यस्ता चर्चा परिचर्चा र हल्लाले पनि प्रशस्त स्थान पाएका देखिन्छन्। नुवाकोट फत्ते गरेपछि बेलकोट हान्न जान केही धैर्य गर्न कालु पाँडेले दिएको सल्लाह नमानेर हतारिएर जाँदा झन्डै आफै परेका घटना हेर्दा पृथ्वीको हतारिने र फुर्सदमा पछुताउने स्वभाव पनि देखिन्छ।

विश्लेषण

इतिहास भनेको एउटा ठूलो वर्णपट हो। कतिपय परम्परा आदिबाट कोही पनि व्यक्ति मुक्त हुन सक्दैन। पृथ्वीनारायण प्रचलनलाई मानेरै अघि बढेका हुन्। त्यो अस्वाभाविक होइन। अहिले हामीले खोजेको क्रान्तिकारी चरित्र उनमा देखिएन भनेर उनको योगदानलाई अस्वीकार गर्नु तर्कसङ्गत देखिँदैन। मनुस्मृतिलाई विकृत ढङ्गले प्रयोग गरेर जातजातिमा कठोर विभाजन गर्ने काम काठमाडौंमा जयस्थिति मल्लले गरेका थिए, जो वास्तवमै दक्षिणबाट आएका थिए र दक्षिणको प्रचलन यहाँ थोपरेका थिए।

नेवार एउटा छुट्टै जाति नभएर लामो कालखण्डमा पटक पटक गरेर नेपाल भित्रिएका मानिसहरूको समुह भएकोले जयस्थिति मल्लले जात विभाजन गरे हुनन्। तर त्यो विभाजन नै भविष्यको लागि दूर्भाग्यपूर्ण ठहरियो। पृथ्वीनारायणलाई राम शाह, जयस्थिति मल्ल वा महेन्द्र मल्लको जस्तै छुट्टै संहिता जारी गर्ने मनुसवा थियो। यसको अर्थ, केही परिवर्तन गर्ने चाहना र मुलुक ठूलो भएपछि त्यसैअनुसारको संहिताको आवश्यकता अनुभूत भएको हुन सक्छ। उनको समयमा भएका न्यायसम्पादनका प्रक्रिया र घटनाहरूलाई हेर्दा त्यो कुरा बुझिन्छ। यसको अर्थ फेरि के पनि होइन भने पृथ्वीनारायणले कुनै क्रान्तिकारी छलाङ लिने थिए। पृथ्वीनारायण त्यही समाजका उपज हुन् भन्ने कुरा बिर्सनु हुँदैन।

राष्ट्रिय एकता दिवस भनेर पृथ्वीनारायणको पूजा गर्ने पञ्चायती संस्कार गलत थियो। पृथ्वीनारायणको उपदेशलाई "दिव्योपदेश" भन्नु अर्को हास्यास्पद निर्णय हो। राजतन्त्रलाई खुसी पार्न गरिएका चिप्ला र चिल्ला वर्णनले पृथ्वीनारायणको नाम र कामलाई नै हानि भएको छ। पृथ्वीनारायणलाई देवत्वकरण गरेर राजतन्त्रलाई दिगो बनाउन सकिने कुरा दिवास्वप्नव थियो, जुन अहिले वास्तविकतामा परिणत भएको छ। आफ्ना केही भारदारहरूको अगाडि पृथ्वीनारायणले बताएका केही आफ्ना नीजि विगत, केही आफ्ना योजना र केही सल्लाह सुझावलाई उनको देहावसानको लगभग तीस वर्षसम्म अभिलेखीकरण गरिएको थिएन। सन् १८०० को आसपास तिनीहरूमध्ये कसैले लिपिबद्ध गरेको भनाइलाई दिव्योपदेश भन्नु त्यसको मानवीय पक्षलाई इन्कार गर्नु हो।

पृथ्वीनारायण कतिपय कमजोरीसहितका एक मान्छे नै थिए। उनले नेपाल राज्य निर्माणको प्रारम्भमा नेतृत्वदायी भूमिका खेलेका थिए भन्ने पाटोलाई बढी महत्व दिनु पर्थ्यो। एकतालाई अगाडि बढाउने कुरामा पृथ्वीनारायणको नेतृत्व थियो तर पृथ्वी एक्लैले त्यो गरेका होइनन्। उनलाई सघाउने विभिन्न जातजातिका मान्छे थिए। त्यसैले सबैले जस पाउने, सबैलाई जस दिने परम्परा नबस्नु दुर्भाग्यपूर्ण कुरा हो।
एकथरिको तर्क के छ भने मुलुक एकीकरण ऐतिहासिक आवश्यकता थियो, पृथ्वीनारायणले नगरेका भए अर्कैले गर्थे। तर त्यो धारणा कोरा भ्रम हो। तत्कालीन समयको जति जानकारी छ, त्यसको आधारमा मूल्याङ्कन गर्दा अर्को कुनै व्यक्ति त्यो बेला पैदा हुन्थ्यो भन्ने देखिँदैन। सम्पन्न भनिएका उपत्यकाका राजाहरू थिए, पाल्पा थियो, मकवानपुर थियो। यिनीहरूबाट केही हुन सक्ने देखिएकै थिएन। वास्तवमा एकीकरण भनेर जुन अहिले दाबी गरिँदैछ, त्यो नै पनि पृथ्वीनारायणको योजना थिएन। ठूलो र सम्पन्न मुलुकको राजा हुने मुख्य उद्देश्य मात्र थियो। पृथ्वीनारायण त्यो कामनाले घचेटिएर अघि बढेका थिए। गोरखा कुनै समृद्ध क्षेत्र थिएन।

द्रव्य शाहका नाति राम शाहले गोरखाको समृद्धि तिब्बतसँगको व्यापारमा रहेको देखे। तिब्बतसँगको व्यापारमाथि नेपाल उपत्यकाको एकलौटी थियो। राम शाहले तिब्बत जाने बाटोमाथि पहुँचको प्रयास पनि गरेका थिए। पृथ्वीनारायणमा त्यो विचारले महत्वाकांक्षा पैदा गर्योय। तिब्बतसँग व्यापार गर्ने मुख्य मार्गमाथि नियन्त्रण गरेर गोरखाको समृद्धि गर्ने सपना थियो। सकेसम्म ठूलो मुलुकको राजा हुने सपना थियो। समृद्ध मुलुकको राजा हुने रहर थियो। समकालीन पाल्पा, तनहुँ, लमजुङ, मकवानपुर र सके नेपाल उपत्यकाकै राजा सरह हैसियत बनाउने सपना थियो।

यो क्रममा जब जयप्रकाशले अङ्ग्रेजसँग सहयोग मागे, तब राष्ट्रियताको भावनाको पनि शिलान्यास भयो। बाहिरीया विरुद्ध एकजुट हुने हुटहुटी त्यसअघि भएको थिएन। त्यसकारण एकीकरण ऐतिहासिक आवश्यकता भन्न सकिंदैन, जुन अवश्यम्भावी हुन्थ्यो कसै न कसैको हातबाट! यथार्थ चाहिँ के देखिन्छ भने छिन्नभिन्न र परस्पर द्वेष तथा ईर्श्याले ग्रस्त भुरेटाकुरेहरू एक वा अर्को कारण छिमेकी राज्य विरूद्ध अङ्ग्रेजको शरणमा पुग्थे।

त्यो समयमा पृथ्वीनारायण नामका दुस्साहसी राजा निस्के र राज्यविस्तार अभियान चलाए, जुन समय क्रममा राष्ट्रिय एकताको आधार बन्यो। यसमा योगदान धेरैको छ। काठमाडौंका जनताको पनि छ, जो जयप्रकाश मल्लसँग आजित थिए। जनताको साथ नपाई पृथ्वीनारायणले रक्तपातविहिन विजय गर्न सक्नेा थिएनन्। राष्ट्रिय एकता दिवस मनाउँदा पृथ्वीनारायणलाई मात्र नसम्झेर सबैलाई सम्झिन नसक्नु् पहिलेको दृष्टिदोष थियो। त्यही दृष्टिदोषको कारण अहिले पृथ्वीनारायणलाई गलत भन्ने अर्को दोषको प्रादुर्भाव भएको छ।

प्रसङ्ग नेपालको एकताको हो, पृथ्वीनारायणको जन्म वा मृत्युको स्मरण गर्ने मात्र होइन। मान्छे जन्मनु र मर्नु एउटा शाश्वत घटना हो। राष्ट्रिय एकताको श्रेय पृथ्वीनारायणलाई मात्र दिनुपर्छ भन्ने छैन। पराजित समूहले धेरै कुरा गुमाएर पनि राष्ट्रिय एकतामा गाँसिएका छन्। आखिर नेपाल छुट्टै मुलुक बन्यो, जसको कारण हामीहरूले आफ्नो अन्तरराष्ट्रिय पहिचान पाएका छौं।

इतिहास भनेको वास्तवमा अत्याचारकै इतिहास हो। गुमाउनेहरूकै इतिहास हो, तर लेखिन्छ जित्नेको आँखाबाट। जित्ने भनिएकाहरूले पनि गुमाएका हुन्छन्। तर त्यो ओझेलमा परेको हुन्छ। गोरखा ठूलो राज्य हुन पुग्दा केन्द्र हुनबाट बञ्चित रह्यो। समृद्धिको मूल प्रवाहमा गोरखा पुग्नैु पाएन। गोरखाले गुमाएको पाटो हो यो। नुवाकोट, लामीडाँडा कब्जा गरिसकेपछि पृथ्वीनारायणले गोरखाबाट मानिसहरू यी स्थानहरूमा बसाइँ सराएका थिए। नयाँ स्थानको रजाइँ गर्ने क्रममा शासनको मूल प्रवाहमा यी आउन पाएनन्।

राष्ट्रिय एकता दिवस अरू दिन मनाउँदा पनि हुन्छ, पृथ्वीनारायणकै जन्म वा मृत्यु दिन नै पार्नु पर्छ भन्ने छैन। जुनसुकै दिन भए पनि त्यो दिनमा सम्झिने व्यक्तिहरूमा पृथ्वीनारायणको नाम अग्रपङ्क्तिमा आउनु पर्छ। एक महत्वपूर्ण व्यक्तिको रूपमा सम्झिनु पर्छ यिनलाई। त्यो समयमा पृथ्वीनारायणले गरेका राम्रा र गलत दुबै काम कुराको निष्पक्ष आलोचना गरिनु पर्छ। यसरी आलोचना गर्दै गर्दा पनि आजको नेपाल उनको नेतृत्वको परिणाम हो भन्ने स्वीकार्नु आवश्यक छ। यसो गर्दा कोही पनि पराजित भएको हुँदैन।

आज हामी सङ्क्रमणकालीन न्याय भनेर कुदिरहेका छौँ। त्यही तर्क पृथ्वीनारायणको हकमा पनि लागू हुनुपर्छ। गुमाउनेले के गुमाए भन्ने कुराको लेखाजोखा पनि गरिनुपर्छ। गुमाउँदाको पीडालाइ बिर्सनुपर्छ भन्ने होइन। तर त्यसको वस्तुगत विश्लेषण हुनुपर्छ। गुमाएको र पाएकोको तुलना गरिनुपर्छ। गुमाएका मात्र छौं, पाएका केही पनि छैनौं भन्ने तर्क अवस्तुवादी तर्क हो।

प्रतिक्रिया दिनुहोस