वर्षेनी कालोसूचीमा थपिदै निर्माण व्यवसायी ठेकेदार

पत्रपत्रिकाबाट

शुक्रबार, २५ पुस २०७६, ०७ : ५०
वर्षेनी कालोसूचीमा थपिदै निर्माण व्यवसायी ठेकेदार

काठमाडौं । समयमै काम नगर्ने विभिन्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, फर्म तथा कम्पनीको संख्या झनै बढेको छ । ठेकेदारले ढिलासुस्ती तथा लापरबाही गर्ने र नियमअनुसार काम नगर्दा कालोसूचीमा पर्नेको संख्या बढेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले झन्डै दर्जन ठेकेदारलाई कारबाहीको सूचीमा राखेर कारबाही गरेको छ । कार्यालयले पछिल्लोपटक श्री रमण/पप्पु जेभी, श्री हुल ट्रेडर्स, श्री डमरु कन्सट्रक्सन प्रालि, श्री जेएमबीडी इन्टरनेसनल, श्री अरनिको÷त्रिशूली जेभीलाई कालोसूचीमा राखेको छ । श्री चौलागाईं निर्माण सेवा, श्री शान्ति÷राम जेभी, श्री सुनौला खिम्ती कन्सट्रक्सन प्रालि, श्री ॐ श्री ॐ इन्टरप्राइजेज, श्री कृष्ण कन्सट्रक्सन/त्याडी निर्माण सेवा पनि पछिल्लोपटक कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार झन्डै २ सय ठेकेदार कालोसूचीमा छन् ।

सरकारले समयभित्रै काम नगर्ने तथा सम्झौता पालना नगर्ने व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्दै आए पनि ढिलासुस्ती भने हट्न सकेको छैन । स्वदेशी व्यवसायी तथा कम्पनी मात्र नभएर दर्जनौं विदेशी कम्पनीसमेत नेपाल सरकारको कालोसूचीमा छन् ।

सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार सार्वजनिक निकायसँग गरेको खरिद सम्झौताविपरीत काम गर्ने, समयमा काम पूरा नगर्ने तथा काममा लापरबाही तथा अटेरी गरी जिम्मेवारी नलिनेलाई सरकारले कारबाही गरी कालोसूचीमा राख्ने गरेको छ । लामो समयसम्म काम नगर्ने, तोकिएबमोजिमको गुणस्तरीय काम नगर्ने तथा सम्झौताको उल्लंघन गर्नेलाई पनि सरकारले कालोसूचीमा राख्ने गरेको छ । आर्थिक वर्ष २०६४÷६५ मा ६ व्यवसायी तथा कम्पनी कालोसूचीमा परेकामा आर्थिक वर्ष २०७५÷७६ सम्म ३ सय १० बढी कालोसूचीमा परेका छन् ।

आर्थिक वर्ष २०६५/६६ मा १० वटा, २०६६/६७ मा १५ वटा र २०६७/६८ मा ८ वटा व्यवसायी तथा कम्पनी कालोसूचीमा परेका थिए । यस्तै, २०६८/६९ मा २५ वटा, २०६९/७० मा १३ वटा, २०७०/७१ मा ३० वटा गरी जम्मा १ सय ७ व्यवसायी तथा कम्पनी कालोसूचीमा परेका थिए ।

यसैगरी, २०७१/७२ मा ३६ वटा, २०७२/७३ मा १८ वटा, २०७३/७४ मा ४७ वटा, २०७५/७६ मा ५० वटा गरी गत आर्थिक वर्षको अन्त्यसम्म ३ सय १० व्यवसायी, फर्म तथा कम्पनी कालोसूचीमा परेका छन् ।
सरकारले विदेशी दर्जनौं कम्पनीलाई समेत कारबाही गरी कालोसूचीमा राखेको छ । चिनियाँ कम्पनी सेन्जेन फराड इलेक्ट्रिकलाई कालोसूचीमा राखेको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस