कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा ३५ जनाको मृत्यु

एजेन्सी

मंगलबार, २२ पुस २०७६, १७ : १०
कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा ३५ जनाको मृत्यु

काठमाडौं । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार, सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन् । आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन् । इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन् । 

केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लेको थियो । उनी यही शहरका बासिन्दा थिए । यहीँ उनको अन्तिम संस्कार हुनेछ ।  अन्तिम संस्कारमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् ।

शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए । शिया परम्पराअनुसार रातो झण्डाले प्रतिशोधको सङ्केत गर्छ । इरानले उनको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ ।

केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो । उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदै छ । सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ ।

इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो । तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस