प्रदेश ३ को राजधानी बिबाद

'मुख्यमन्त्री र प्रदेश इन्चार्जलाई रातारात काठमाडौं बोलाइयो'

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, ०९ : १९
'मुख्यमन्त्री र प्रदेश इन्चार्जलाई रातारात काठमाडौं बोलाइयो'

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रै प्रदेश ३ को राजधानीको विषय पेचिलो बनेपछि मुख्यमन्त्री डोरमणी पौडेल र पार्टीका प्रदेश इन्चार्ज समेत रहेकी प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई काठमाडौं बोलाईएको छ । नेकपाको पार्टी सचिवालयले प्रदेश नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको थियो ।

दुई वर्षसम्म प्रदेश सभाले नाम र राजधानी टुंगो लगाउन नसकेपछि नेकपाको सचिवालयले त्यसमा हस्तक्षेप गदै नाम र राजधानीको विषय टुंग्याईदिएको थियो । तर पार्टीको निर्णय प्रदेश सभाका बहुसंख्यक सांसदहरुले चित्त बुझाईरहेका छैनन् ।  

प्रदेश ३ मा नेकपाका ८० सांसद छन् । नाम र राजधानी टुंग्याउन ७४ मत भए पुग्नेमा नेकपाकै ८० मत रहेकोले उसको दुई दुई तिहाई मत छ । तर नेकपाभित्रका सांसदहरुमा एकमत नदेखिदा र राजधानी हेटौंडाको पक्षमा बहुमत सांसदहरु देखिएपछि नेकपा अप्ठयारोमा परेको हो  ।

केन्द्रको निर्णय लगत्तै बालुवाटारमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रदेश पार्टीका पदाधिकारीलाई बोलाई सचिवालयको निर्देशनका विषयमा जानकारी दिदै निर्णय कार्यान्वयनमा जान निर्देशन गरेका थिए । तर प्रदेश अध्यक्ष अष्टलक्ष्मी शाक्यले आफुले निर्णय मान्न नसक्ने र यसले पार्टीलाई अप्ठयारो पार्ने बताएकी थिइन् ।

प्रदेश सभा संसदीय दलको बैठक हेटौंडामा तीन दिन बसेको थियो  । बैठकमा सबैजसो सदस्यहरुले आफनो धारणा राखेपनि अष्टलक्ष्मी शाक्यले आफनो मत राखेकी छैनन् । संसदको हिजोको बैठकले प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि पारित गरेको छ । तर सत्तारुढ दलमै विवाद नमिलेका कारण प्रदेश सभा बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । 

प्रदेश सांसदहरुका बीचमा बढ्दो विवाद सल्टाउन नेकपा नेतृत्वले मुख्यमन्त्री डोरमण्ीा पौडेल र नेकपाका प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई काठमाडौं आउन निर्देशन गरेको छ । शुरुमा पार्टीका अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल स्यवं हेटौडा पुगेर सांसदहरुलाई पार्टी केन्द्रको निर्णयमा मनाउने भनिएपनि त्यसरी जाँदा अप्ठयारो हुने र नकारात्मक सन्देश जाने ठानी नेकपाले मुख्यमन्त्री पौडेल, नेतृ शाक्य लगायत नेताहरुलाई काठमाडौं बोलाएको हो ।

उनीहरु हिजो साँझ नै काठमाडौं आईपुगेका छन् । पौडेल र शाक्यका अतिरिक्त राजेन्द्र पाण्डे लगायत प्रदेशका प्रभावशाली केन्द्रीय सदस्यलाई पनि काठमाडौं आईपुगेका छन् । आजै उनीहरुसँग नेकपाका शीर्ष नेतृत्वले प्रदेशको राजधानीका विषयमा छलफल गर्ने तयारी भएको छ । शीर्ष नेतृत्वले पार्टी निर्णयमा मनाउन सकेमा मात्र बुधबारको प्रदेश सभा बैठक बस्ने छ ।

 प्रदेश सभा बैठक पछि धकेलिने सम्भावना रहेको नेकपाका एक प्रदेश सभा सदस्यले बताए । पार्टी नेतृत्वसँग आज हुने छलफलले एउटा निकास दिएमा भोलि बिहान संसदीय दलको बैठक बस्ने र नामका विषयमा मतदान प्रक्रिया शुरु गराउने तयारी छ । 

प्रतिक्रिया दिनुहोस