डढेलो व्यवस्थापनमा दुई अर्ब डलर : अस्ट्रेलिया प्रधानमन्त्री मोरिसन

सोमबार, २१ पुस २०७६, २१ : ४४
डढेलो व्यवस्थापनमा दुई अर्ब डलर : अस्ट्रेलिया प्रधानमन्त्री मोरिसन

क्यानबेरा । विगत केही महिनादेखि अस्ट्रेलियामा लागेको डढेलो नियन्त्रणका लागि सरकारले दुई अर्ब अष्ट्रेलियाली डलर छुट्ट्याएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

सरकारले उक्त रकम डढेलो प्रभावित किसान, साना उत्पादक तथा डढेलोका कारण मानसिकरूपमा प्रभावित नागरिकलाई आवश्यक कार्यक्रम सञ्चालनका लागि उपलब्ध गराइने उनले बताए । डढेलोको खतरा अझै पनि कम नभएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा गत शुक्रबारदेखि एक हप्ता लामो सङ्कटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री मोरिसनले भने, ‘हामीले डढेलोबाट प्रभावित यस राष्ट्रको उथ्थान र भविष्ययका आवश्यक पर्ने सबै क्षेत्रमा लगानी गरी देशलाई थप व्यवस्थित गर्दै अघि बढ्नेछौँ ।’

अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका छन् । डढेलोको खतरा बढेसँगै अहिलेसम्म लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी भएको बताइएको छ । त्यस्तै डढेलोका कारण यहाँका जङ्गलमा रहेका ठूलो संख्यामा जनावरहरू मरेका छन्  ।

यसवर्ष अस्ट्रेलियामा गर्मी अत्यधिक महसुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनमा देशका अधिकांश स्थानमा तापक्रम वृद्धि भएको छ । (रासस)