अस्ट्रेलियामा पानी पर्‍यो, वर्षाले डढेलो नियन्त्रणमा नआउने

एजेन्सी

सोमबार, २१ पुस २०७६, ११ : ४४
अस्ट्रेलियामा पानी पर्‍यो, वर्षाले डढेलो नियन्त्रणमा नआउने

File photo

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ ।

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा विकराल रुप लिएको छ । आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ ।

डढेलोले अति प्रभावित भएको न्यू साउथ वेल्सका केही क्षेत्रमा पनि वर्षा भएको छ । तर अधिकारीहरुले आउँदो बिहीबारदेखि पुनः तापक्रम बढ्ने चेतावनी दिएका छन् । भिक्टोरिया तथा न्यू साउथ वेल्समा भीषण डढेलोका कारण थप संकट आउन सक्ने उनीहरुको भनाई छ । 

अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ नरहेको न्यू साउथ वेल्स राज्यका प्राइमिएर ग्लाडीस बेरेजिक्लिएनले बताएका छन् ।