प्रदेश सांसदलाई फकाउँदै नेकपा नेतृत्व

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०७६, ०९ : १०
प्रदेश सांसदलाई फकाउँदै नेकपा नेतृत्व

काठमाडौं । पार्टीको केन्द्रीय समितिको बैठक सार्ने एजेण्डामा छलफल गर्न सत्तारुढ दल नेकपाको ‘कोर अफ लिडरसिप’ अर्थात पार्टी सचिवालय बैठक आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै थियो । वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामवहादुर थापा बादल अनुपस्थित बैठकले सरासर केन्द्रीय समिति बैठक सार्ने विषयमा निर्णय लिइहाल्यो ।

राष्ट्रिय सभा चुनावको तयारी, केन्द्रीय समिति बैठकमा पेश गर्ने अध्यक्षको राजनीतिक प्रतिवेदन तयार पार्ने देखि जम्बो केन्द्रीय समितिको ब्यवस्थापन तयारी लगायतका कारण देखाउँदै बैठक १५ माघमा सार्ने प्रस्ताव बैठकमा अध्यक्षद्दय केपी ओली र प्रचण्डले प्रस्तुत गरे । 

पार्टी एकतायता बस्न नसकेको केन्द्रीय समिति बैठक २३ पुसबाट बस्ने तयारी थियो । एकाएक बैठक स्थगनको प्रस्ताव आएपछि नेताहरुले धेरै समय पछि नसार्न नेताहरुलाई आग्रह गरे । नेतृत्वले बैठक सार्न किन प¥यो भन्ने बारेमा दिएको कारणमा बैठकमा सहभागी कुनै नेताले असहमति जनाएनन् ।
 
हुन पनि प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य वेदुराम भुषाल लगायत केन्द्रीय सदस्यहरु नै राष्ट्रिय सभा चुनावका उम्मेदवार थिए । ९ माघमा चुनाव रहेको र उम्मेदवारी दर्ता समेत भएकाले पार्टी नेतृत्व उक्त चुनावको तयारीमा जुट्नुपर्ने कार्यसूचि नेकपाभित्र पहिलो प्राथामिकता थियो ।

दोश्रो सभामुख चयन प्रक्रिया प्राथमिक सूचिमा थियो । त्यसपछि प्रतिवेदन लेखन र बैठकको ब्यवस्थापन तयारी लगायतका काम पनि गर्नुपर्ने अवस्था नेकपाभित्र थियो । जसकारण पनि कुनै नेताले यस वारेमा विमति जनाएनन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने,–त्यसपछि सरासर बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय लियो । तर कहिले सार्ने ? त्यसमा भने नेताहरुले आ–आफना धारणा राखे । ‘उपस्थित नेताहरुले राष्ट्रिय सभा चुनाव लगत्तै शुरु गरौं भन्ने प्रस्ताव राख्नुभयो, अध्यक्षद्दयले माघ १५ बाट राख्यौं भन्ने प्रस्ताव ल्याउनु भयो, त्यसैमा सहमति बन्यो र बैठक सार्ने निर्णय लियौं,’ खनालले भने । 

वरिष्ठ नेता माधव नेपाल कञ्चनपुरमा रहेको, प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा उम्मेदवारी दर्ताका लागि पोखरा पुगेको र गृहमन्त्री बादल हिजो देखि नै हुन लागेको चिन भ्रमणको तयारीमा रहेका कारण सचिवालय बैठकमा उपस्थित भएका थिएनन् ।

केन्द्रीय समिति बैठक सार्ने निर्णय पछि नेकपा सचिवालय बैठक प्रदेश ३ को राजधानी र नामका विषयमा पूनः छलफलमा केन्द्रीत रह्यो । केन्द्रीय निर्णय विपरित आफ्नै पार्टी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यका अभिब्यक्ति, प्रदेश सांसदहरुले प्रदेश संसदीय दलको बैठकमा दिईरहेका अभिब्यक्ती र मतदान प्रक्रियाका विषयमा केन्द्रीत रहेर नेताहरुले आइतबारको सचिवालय बैठकमा पनि थप छलफल गरे ।

सचिवालयका एक सदस्यले भने,–प्रदेशको नाम र राजधानी सचिवालयको निर्णय अनुसार कायम गराउन सकिन्छ, सकिन्न ? पार्टी सांसदहरुले केन्द्रको निर्णय मान्ने की नमान्ने ? ह्वीप लगाउने या के गर्ने भन्नेमा त्यसपछि नेताहरुका बीचमा छलफल भएको थियो ।

तीन दिन यता पार्टीका प्रदेश पदाधिकारीको उपस्थितीमा हेटौंडामा बसिरहेको दलको बैठकमा अधिकाशं सदस्यहरुले राजधानी हेटौंडाको विकल्प खोज्नुपर्ने धारणा राखिरहेको बेला पार्टी निर्णय कसरी कार्यान्वयन गराउने भन्नेमा नेताहरुको बीचमा बालुवाटारमा छलफल केन्द्रीत भएको थियो ।

नेकपा सचिवालयले यस अगाडी नै प्रदेशको नाम वाग्मती र राजधानी हेटौडा राख्न निर्देशन गरेको थियो । प्रदेशको अधिकार क्षेत्रमा केन्द्रले निर्णय लाद्ने काम भएको भन्दै त्यसको आलोचना पनि भएको थियो । तर प्रदेशले दुई वर्षसम्म नाम र राजधानी आपसी समझदारीका आधारमा टुंगो नलगाएपछि केन्द्रले हस्तक्षेप गरी निर्णय लिईदिएको थियो ।

प्रदेश ३ मा नेकपा एक्लैको बहुमत 
प्रदेश सभा सांसदहरुलाई केन्द्रको निर्णयमा आवश्यक परे सम्झाउन पार्टी अध्यक्ष नै हेटौंडा जानुपर्ने निश्र्कष सचिवालयले निकालेको थियो । आज केन्द्रीय सदस्य र प्रदेश सांसदहरुको संयुक्त छलफल आयोजना गर्ने र आवश्यक परे प्रचण्ड र महासचिव विष्णु पौडेल नै हेटौंडा पुगेर पार्टी निर्णयका बारेमा आफ्ना सांसदहरुलाई सचेत गराउने तयारीमा नेकपा छ ।

नेकपा प्रदेश सभासंद रामेश्वर फूयालले केन्द्रको निर्णयलाई असहमति जनाएपनि सांसदहरुले अटेरी गर्ने सम्भावना नरहेको बताउँछन् । त्यसो त मुख्यमन्त्री डोरमणि पौडेलले पूर्व एमालेका सांसद तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकटटेलले पूर्व माओवादी सांसदहरुलाई हिजो छुटटाछुटै छलफल राखी पार्टी निर्णय मानेर जानुको विकल्प नभएको विषयमा अवगत गराएका थिए ।
 

प्रतिक्रिया दिनुहोस