चितवनमा प्रहरी कल्याण कोषले सञ्चालनमा ल्यायो पेट्रोल पम्प

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, २० पुस २०७६, १४ : ४९
चितवनमा प्रहरी कल्याण कोषले सञ्चालनमा ल्यायो पेट्रोल पम्प

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । भरतपुर महानगरपालिका– १० बाईपास रोड, बसेनी चोकस्थित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन भएको छ । 

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले आज आइतबार एक कार्यक्रमकाबीच पेट्रोल पम्पको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नायब महानिरीक्षक प्रजापतिले २०७६ साल मंसिर ९ गतेदेखि यस पेट्रोल पम्प विधिवतरुपमा सञ्चालनमा आएको जानकारी दिए । उनले २०७१ साल माघ १५ गते यस स्थानमा पेट्रोल पम्प निर्माण गर्ने निर्णय गरिएको पनि स्मरण गरे ।

उनले जनमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले विभिन्न स्थानमा आवश्यकता अनुसार कल्याणकारी कामहरु गर्ने क्रममा यस स्थानमा पेट्रोल पम्प सञ्चालन गरेको बताए । यस पेट्रोल पम्पले सुलभ ढंगबाट आमनागरिकहरुमा सेवा प्रदान गर्ने अपेक्षा उनले व्यक्त गरे । 

कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक ईञ्जीनियर शंकर सिलवालले प्रहरी कल्याण कोषको लगानीमा निर्मित यस पेट्रोल पम्प निर्माणमा ३ करोड १७ लाख ६९ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । उनका अनुसार यस पेट्रोल पम्पमा डिजेल ४० हजार लिटर र पेट्रोल २० हजार लिटर भण्डारण गर्न मिल्छ । एक पटकमा ४ वटा पेट्रोल गाडी र ४ वटा डिजेल गाडीमा इन्धन भर्न सकिन्छ ।

कार्यक्रममा बोल्दै प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर तामाङले प्रहरी र प्रहरीका परिवारहरुको शिक्षा, स्वास्थ्य लगायतका कल्याणकारी कार्यक्रमहरु प्रहरी कल्याण कोषले सञ्चालन गर्दै आइरहेको जानकारी दिए । ‘प्रहरी र उनीहरुको परिवारप्रति राज्यको पनि दायित्व हुन्छ । त्यही दायित्वमा होस्टेहैंसे गर्न प्रहरी कल्याणकारी कोष स्थापना गरिएको हो’ उनले भने । 

नाफामात्र गर्ने उद्देश्य नभई सेवाको उद्देश्यले पनि पट्रोल पम्प सञ्चालन गरिएको उनको भनाइ थियो । आकस्मिक अवस्थामा यस पेट्रोल पम्पले ठूलो काम गर्ने उनले बताए । 

उद्घाटन कार्यक्रममा चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोईराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रहरी कल्याणकारी कोषले देशभर ४ वटा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । काठमाडौंमा २ वटा, चितवनको बसेनीमा एउटा र बाराको पथलैयामा एउटा पेट्रोल पम्प सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस