नारायणी नदी किनारमा भरतपुर महानगरको पर्यटन स्तम्भ शिलान्यास

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०७६, १४ : २१
नारायणी नदी किनारमा भरतपुर महानगरको पर्यटन स्तम्भ शिलान्यास

चितवन । भ्रमण वर्ष २०२० को शुभारम्भको पहिलो दिन भरतपुर महानगरको पर्यटन स्तम्भ शिलान्यास गरिएको छ ।भरतपुर महानगर प्रमुख रेनु दाहालले आज नारायणगढको नारायणी नदी किनारमा महानगरको पर्यटन स्तम्भ शिलान्यास गर्नुभएको हो । भरतपुर महानगरबाट बाजागाजासहितको विशेष प्रदर्शनीसहित नारायणी नदी किनार पुगेर महानगर प्रमुख दाहालले स्तम्भ शिलान्यास गर्नुभएको हो । 

शिलान्यास कार्यक्रममा उहाँले नारायणी नदी किनारलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाइने बताउनुभयो । उहाँले निजी क्षेत्रसँग साझेदारी गरेर नदी किनारलाई पर्यटकीय गन्तव्य बनाइन लागिएको बताउनुभयो । 

देशकै प्रमुख पर्यटकीय गन्तव्य चितवन, त्यसमा पनि नारायणी नदी किनारको विशेष महत्व रहेको हुनाले यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महानगर सदैव लागिरहने उहाँको भनाइ थियो । 

शिलान्यास कार्यक्रममा उहाँले नदी किनारको संरक्षणमा उवासंघ चितवन, पाँच वटा टोलसुधार समितिलगायत समग्र व्यवसायीहरुको उच्च भूमिकाको प्रर्शसा गर्दै महानगर प्रमुख दाहालले भन्नुभयो, ‘भरतपुर महानगरले नारायणी नदी किनारको विकासमा विगतदेखि नै लागिरहेको छ ।’

समग्र चितवनको पर्यटन क्षेत्रलाई अघि बढाइने र भ्रमण वर्षमा चितवनमा सोचेकोभन्दा बढी पर्यटक भित्र्याइने उहाँको भनाइ थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘भ्रमण वर्ष सफल पार्न सबैको हातेमालो आवश्यक छ, चितवनले भ्रमण वर्षलाई सफल पार्नेछ, त्यसमा पनि भरतपुर महानगर सदैव अघि लम्किरहनेछ ।’

कार्यक्रममा प्रमुख दाहालले नदी किनारमा बन्न लागेको पर्यटन स्तम्भको निर्माण तीव्र गतिमा अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तोकिएको समयभन्दा अगाडि नै महानगरको स्तम्भ सकिन्छ, अन्य महानगरका आयोजनाहरु पनि समयमै सकिने प्रतिबद्धता म यहाँ गर्न चाहन्छु ।’

शिलान्यास कार्यक्रममा उपप्रमुख पार्वती शाहले स्वागत मन्तव्य दिँदै भन्नुभयो, ‘चितवनको प्रमुख पर्यटकीय गन्तव्य भएको हुनाले यसको विकासमा भरतपुर महानगर लागिरहेको छ, सबैसँग हातेमालो गर्दै अघि बढ्ने छ ।’ 
कार्यक्रममा नेपाल होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले निजी क्षेत्र र महानगरको साझेदारीमा नारायणी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने बताउनुभयो । 

महानगरको स्तम्भ शिलान्यास कार्यक्रममा संघीय सांसद कृष्णभक्त पोख्रेल, प्रदेश सांसद कृष्णप्रसाद भुर्तेल, विजय सुवेदी, गीता वाग्लेलगायतको उपस्थिति रहेको थियो । 

शिलान्यास कार्यक्रमअघि भरतपुर महानगरको कार्यालयबाट विशेष -याली निकालिएको थियो । -याली नगरको परिक्रमा गर्दै स्तम्भ स्थल पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस