बाख्राको दूध प्रतिलिटर हजार रुपैयाँ

पत्रपत्रिकाबाट

मंगलबार, १५ पुस २०७६, ०८ : ११
बाख्राको दूध प्रतिलिटर हजार रुपैयाँ

झापा । बिर्तामोडका  एकजना बाख्रापालक किसानले बाख्राको दूध बेचेर मनग्य आम्दानी गरेका छन् । बिर्तामोड नगरपालिका–३ स्थित शिव कृषि फार्मका सञ्चालकले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका हुन् ।

फार्मका सञ्चालक दिनेश ओझाले एक महिनामा करिब १० हजार रुपैयाँको बाख्राको दूध बिक्री गरेका छन् । डेंगु रोग लागेका बिरामीका लागि भन्दै मानिस बाख्राको दूध लिन उनको फार्ममै पुग्ने गरेका छन् । “धेरैजना बाख्राको दूध खोज्दै आउनुहुन्छ,” ओझाले भने, “दूध दिएवापत एकजना बिरामीबाट एक हजार रुपैयाँ लिने गरेका छौं, एकजना बिरामीले पाँच पटकसम्मको डोज माग गर्ने गरेका छन् ।”

एक डोजमा २ सय मिलिलिटर दूध दिने गरेको ओझा बताउँछन् । जसको मूल्य २ सय रुपैयाँ पर्ने उनले बताए । त्यसलाई हिसाब गर्दा बाख्राको दूध प्रतिलिटर एक हजार रुपैयाँ पर्न जान्छ । फार्ममा उन्नत र स्थानीय जातका ५९ वटा बाख्रा छन् । त्यसमध्ये ३० वटा माउले दूध दिन्छन् । काराेबार दैनिकमा खबर छ ।