भरतपुर महानगर प्रमुख दाहालको पहलमा बाइपास सडक चार लेनमा बिस्तार हुँदै

पहिलो ठेक्का अवधि चैत मसान्तमा सकिँदै, दोस्रो ठेक्काको लागि टेण्डर आह्वान

प्रकाश सिग्देल

सोमबार, १४ पुस २०७६, १७ : ३७
भरतपुर महानगर प्रमुख दाहालको पहलमा बाइपास सडक चार लेनमा बिस्तार हुँदै

चितवन । भरतपुर बाइपास सडक बिस्तारका लागि दोस्रो पटक टेण्डर भएको  छ । यसअघि २०७३ पुस १९ मा २२ सय मिटर सडक ४ लेनमा बिस्तार गर्ने गरी  ठेक्का सम्झौता भएको थियो । ४६ सय मिटर लम्बाई रहेको यो सडकको बाँकी २४ सय मिटर चार लेनमा बिस्तार गर्ने गरी बहुबर्षीय योजना अन्तर्गत यस पटक टेण्डर आह्वान भएको हो ।

यो सडक चार लेनमा बिस्तारका लागि यसअघि २०७३ पुस १९ गते केन्द्रीय बसपार्क चोकदेखि बिकास चोकसम्मको २२ सय मिटर चार लेन बिस्तारका लागि सम्झौता भएको थियो ।  दुईतर्फको राजमार्ग जोड्ने यो सडकको झण्डै आधा सडक चार लेनमा बिस्तार गर्ने गरी काम अहिले भइरहेको र अब बाँकी सडक पनि चार लेनमा बिस्तार गर्ने गरी ठेक्का आह्वान भएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले बताउनु भयो ।

२० महिनामा सम्पन्न गर्ने गरी फुटपाथ र नालासहित चार लेनमा सडक निर्माण गर्ने गरी ठेक्का आह्वान भएको उहाँ बताउनु हुन्छ । हाल काम भइरहेको बाहेकको सडकलाई बिस्तार गर्ने गरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको पहलमा भौतिक योजना मन्त्रालयको ४१ करोडको बजेटमा यो सडक बिस्तारका लागि टेण्डर आह्वान भएको हो ।

यसअघि निर्माण सम्झौता भएको सडक बाहेकको सडक निर्माणका लागि टेण्डर आह्वान भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । चार लेनभित्र पर्ने विद्युतको पोल हटाउने र रुखहरु काट्ने काम यसअघि नै सम्पन्न भइसकेको  छ ।  

निर्माण कम्पनीले सम्झौता पाएको मितिले दुई वर्षभित्र यो सडक निर्माण गरिसक्नु पर्नेछ । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको चार दशमलव ६ किलोमिटर सडकलाई आधुनिक डिजाइनमा सवारी चाप अनुसार निर्माण गर्ने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । सडकको चौडाइ भाग दुईतर्फी ढलसहित २४ मिटरको हुने र १४ मिटर पिच हुनेछ ।

यसअघि ठेक्का आह्वान भएको आधा खण्डको २०७६ चैतसम्म अन्तिम पटकका लागि म्याद थप भएको र अब पनि सडक निर्माण नसके नियम अनुसार कारबाही हुने अधिकारी बताउनु हुन्छ ।
२०७३ पुस १९ मा १५ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । सडक बिस्तारको ठेक्का गौरीपार्वती निर्माण सेवा काठमाडौँले पाएको थियो । गौरीपार्वती निर्माण सेवाले कुल १२ करोड ८१ लाख ८२ हजार रूपैयाँमा ठेक्का पाएको हो । 

२०७३ चैत १९ गतेबाट सडक बिस्तारको काम सुरू गरेको गौरीपार्वतीले अहिलेसम्म पनि सडक निर्माणको काम सकेको छैन । अन्तिम पटक थपिएको म्याद पनि यहि चैतमा सकिँदै छ । निर्माणको अवस्था हेर्दा अहिले पनि सडक निर्माण कार्य सकिने अवस्था देखिँदैन ।  

यस सडक अन्तर्गत बिजुलीका तीन सय, टेलिकमका ८८ वटा पोल सार्नु पर्ने र ९६ वटा रूख काट्नु पुर्ने अवस्था थियो भने खानेपानीको पाईप सार्नु पर्ने लगायतका कारण देखाउँदै निर्माण कम्पनीले पटक पटक समय थपेको थियो । अब भने यी सबै समस्या समाधान भएका छन् तर निर्माण कार्य भने तीब्र रुपमा अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस