नारायणगढ–मुग्लिन सडक दुईहप्ता दिउँसो बन्द हुने

रासस

शुक्रबार, ११ पुस २०७६, १९ : १३
नारायणगढ–मुग्लिन सडक दुईहप्ता दिउँसो बन्द हुने

फाईल फोटो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ ।  आयोजनाले आज सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएको भन्दै थप दुई साता सडक अवरुद्ध हुने जानकारी दिएको हो । 

 गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ । पुस २२ गतेसम्म दिउँसो सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । दुई साताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भए पनि काम नसकिएपछि समयावधि थप गरिएको उहाँको भनाइ थियो । सो अवधिमा अत्यावश्यक सवारीसाधनलाई भने प्रवेश दिइने खनालले बताउनुभयो । 

नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिने छन्  । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस