कथाकार लक्ष्मण अर्याल र गणेश श्रमण सम्मानित

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०७६, १८ : २६
कथाकार लक्ष्मण अर्याल र गणेश श्रमण सम्मानित

– बालकृष्ण थपलिया 
चितवन । १३६ औं लेखनाथ जयन्तीको अवसरमा चितवनका दुई जना साहित्यकार सम्मानित भएका छन् । चितवन साहित्य परिषद्ले स्थापना गरी वितरण गर्दै आएको चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार कथाकारहरू लक्ष्मण अर्याल र गणेश श्रमणलाई सम्युक्तरूपमा प्रदान गरिएको  ह‍‍ो । 

अर्यालको 'औंला' र श्रमणको 'गुलियो काठमाडौ' लघुकथा सङ्ग्रहलाई नगद ११ हजार ४५ सहित सम्मान गरिएको परिषद्ले जनाएको छ । यसअघि यस पुरस्कारबाट साहित्यकारहरू लकाश पौडेल, नरेन्द्रराज पौडेल, सुमन घिमिरे, डा. मतिप्रसाद ढकाल, दीपेन्द्र सिंह थापा, निर्मल ढुङ्गाना र प्रसन्न घिमिरे सम्मानित भएका थिए । 

परिषद्का सदस्य पदम प्रसाद अर्यालले संयोजन गर्नु भएको कार्यक्रम प्रा।डा। चूडामणि बन्धुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  कार्यक्रममा कविहरू  गोविन्दराज विनोदी, प्रेम विनोद नन्दन, वैजनाथ देवकोटा, कृष्णाकुमारी पौडेलले कविता वाचन तथा समीक्षक केदारनाथ खनालले लेखनाथ पौडेलको र चेतराज रेग्मीले पुरसकृत स्रष्टाहरूको व्यक्तित्व बारे प्रकाश पारेका थिए ।

परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कारका लागि अक्षय कोषका संस्थापक कृष्णप्रसाद पौडेलले यसअघिको कोषमा रू १ लाख १ हजार एकसय एघार थप गर्ने घोषणा गर्नु भयो । यसअघि यो पुरस्कारको अक्षयकोषमा १ लाख पचास हजार रहेको र यसै कोषको ब्याज आम्दानी पुरस्कार वितरण गर्दै आएको परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस