यी हुन् शेयर बजारका नटवरलाल, जसले डुबाए लगानीकर्ता

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०७६, १२ : ५२
यी हुन् शेयर बजारका नटवरलाल, जसले डुबाए लगानीकर्ता

काठमाडौं । अपि पावर कम्पनीका प्रमुख गुरुप्रसाद न्यौपाने शेयर बजारको नटवरलालका रुपमा कुख्यात छन् । न्यौपानेले शेयर लगानीकर्तालाई हकप्रद शेयरको नाममा झुक्याइरहेका छन् ।

न्यौपानेको लगानी रहेको अपि पावर कम्पनीले गत वर्षको पुस ४ गते नेपाल धितोपत्र बोर्डमा २०० प्रतिशत हकप्रद सेयर बिक्री जारी गर्नका लागि आवेदन दिएको थियो । कम्पनीले एक कित्ता शेयर बराबर दुई कित्ता शेयर दिने गरी हकप्रद शेयरको योजना अगाडि सा¥यो ।  

न्यौपानेको कम्पनीले २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न मागेको अनुमति हालसम्म पनि बोर्डको पाइपलाइनमै रहेको  छ । उनले सधै हकप्रद आउँदै गरेको तथा लगानीका लागि आकर्षक रहेको भन्दै वार्षिक साधारणसभामा समेत ढाँट्दै आएका छन् । 

उनले हकप्रद दिन्छु भनेर घोषणा गरेको तीन वर्ष जति भयो । उनै न्यौपानेले धेरैलाई ऊर्जा क्षेत्रमा लगानीका लागि भन्दै पैसा उठाइरहेका छन् । त्रिशुली गल्छी परियोजनामा लगानी गर्न भन्दै उठाएको पैसा फिर्ता माग्न आउनेको संख्या थापाथलीस्थित टे«ड टावरमा असंख्य रहेका छन् । उनै न्यौपानेले हकप्रदको नाममा लगानीकर्तालाई मारिरहेको भएपनि कारवाही गर्ने निकायले कुनै ध्यान दिएको छैन । 

न्यौपानेले अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नै मान्छे भएको, प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै लगानीकर्तालाई समेत थर्काउने काम गरेका छन् । हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको न्यौपानेलाई बोर्डले गत असार २४ गते आवश्यक कागजात माग गरेको थियो । त्यसपछि कम्पनीले बोर्डमा कुनै सम्पर्क गरेको छैन । लगानीकर्तालाई डुबाएर न्यौपाने भने कहिले थाइल्याण्ड, कहिले यूरोप त कहिले भारतको मुम्बई पुगेर रामरमिता गर्ने गरेका छन् ।

उनले आफ्नो कम्पनीको रु १ अर्ब १३ करोड ४० लाख  चुक्ता पुँजी रहेको र हकप्रद शेयर बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ४० करोड २० लाख पुग्ने भन्दै प्रचार गराएका छन् । हिसाब भने उनले भनेको मिल्छ, तर नियत भने ठग्ने नै रहेको छ । शेयर बजारमा न्यौपाने समूहको लगानी रहेको अपि पावर, अरुण भ्याली, अरुण काबेलीलगायतका आयोजनाको शेयर मूल्य रु १०० भन्दा कम रहेको छ । शेयर मूल्य कम रहेको कम्पनीमा संस्थापक लगानी समेत झिकेर न्यौपानेले बजारमा समेत चलखेल गरेका छन् । 

अपि पावरको हकप्रद शेयर कहाँ पुग्यो ? लगानीकर्ताले अझै पनि थाहा पाउन सकेका छैनन् । हकप्रदको हल्ला चलाएर कम्पनीको शेयर मूल्य पनि निकै बढाइयो ।  तर जो लगानीकर्ताले हकप्रद पाउने नाममा शेयर किनेका थिए । ती लगानीकर्ता डुबेका छन् । यो मात्रै होइन पछिल्लो समयमा माइक्रोफाइनान्स कम्पनीले लगानीकर्ताले निकै ठगेका छन् । 

सरकारी निकायको कमजोरीको फाइदा उठाएर यसरी लगानीकर्ता ठग्ने काम स्वरोजगार लघुवित्त विकास बैंकले गरेको छ । त्यसपछि स्पर्श लघुवित्त वित्तीय संस्थासम्म यो क्रम आइपुगेको छ । स्वरोजगारले गत मंसिर २८ गतेको साधारण सभामा १०० हकप्रद ल्याउने एजेन्डा लगेको थियो । 

यसअघि नै कम्पनीले कुनै संस्थालाई मर्ज गरिसकेपछि कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद जारी गर्ने भनेको थियो । त्यसको प्रक्रिया हालसम्म अगाडि बढेको छैन ।  कम्पनीहरुले एक आपसमा गाभिएर कायम भएको पुँजीबाट हकप्रद शेयर जारी गर्ने भनेका छन् । यति राम्रो कम्पनीसँग मर्ज भएको खण्डमा, पुँजी धेरै भएको कम्पनीसँग मर्ज भएको खण्डमा हकप्रद जारी नगर्ने उनीहरुको नीति रहेको जानकारको दाबी छ । 

गाभिने प्रक्रिया पछि अर्को संस्थाले हकप्रद जारी गर्न मान्छ कि मान्दैन भन्नेमा अन्योलता उत्तिकै रहेको छ । आफूसँग भएको शेयर सञ्चालकले बेच्ने र साना लगानीकर्ता जसले हकप्रदको नाममा शेयर किन्ने गरेका छन, । त्यसमा न्यौपाने समूह नै अग्रपंक्तिमा रहेका छन् । 

स्पर्श लघुवित्त वित्तीय संस्थाले जारी गरेको तेस्रो वार्षिक साधारण सभाको सूचनामा समेत वित्तीय संस्था गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने/प्राप्ति हुने कार्य समाप्त भए पश्चात कायम हुने चुक्ता पुँजीको १ बराबर १ ले हुन आउने हकप्रद शेयर दिने उल्लेख छ ।  

साना कम्पनीलाई हकप्रद ल्याउन अनुमति दिने र उनीहरुले त्यो हकप्रद ल्याउन पछाडिको कारणका बारेमा चासो नदेखाउने र त्यो ल्याए वा ल्याएनन भनेर ध्यान नदिँदा कयौं लगानीकर्ता ठगिरहेका छन् । तर नेपाल धितोपत्र बोर्डका सरकारी कर्मचारी भने तिनै संस्थाले दिने दारुपानीमा रमाएर बसेका छन् । बोर्डका अधिकाशं कर्मचारीको काम कुन संस्थाबाट कसरी झार्ने भन्ने अरु कुनै ध्यान छैन । 

साना पुँजी भएका कम्पनीलाई लगानीकर्ता ठग्ने बहानाको रुपमा हकप्रद शेयरको फण्डा गर्ने गरेका छन् । हकप्रद निकाल्ने भन्ने अनि राम्रो कम्पनीसँग मर्ज भएपछि पुँजी २० करोड पु¥याउर चुपचाप बस्ने, नियामक निकायको रुपमा रहेको बोर्ड समेत चुप बसिदिँदा लगानीकर्ता नराम्ररी मारमा परेका छन् । न्यौपाने जस्ताको कम्पनीको लापरबाहीले लगानीकर्ता नराम्ररी ठगिएपनि कारवाही गर्ने निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंक, बोर्ड जस्ता संस्था समेत चुपचाप बसेका छन् । 

सरकारी नियामक निकायले समयमा नै यसमा चासो दिन नसकेको खण्डमा आगामी दिनमा लगानीकर्ता ठगिने क्रम झनै बढ्ने देखिएको छ । लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्ड भने मौन बसेकाले लगानीकर्ता ठगिन थालेको र अर्थ मन्त्रालयलाई आग्रह गर्दा समेत सुनुवाई नभएको पाइएको छ । 

धितोपत्र बोर्डले यो समस्या समाधानका लागि नियमावली संशोधनको क्रममा रहेको बताएको पनि लामो समय भयो । तर कहिले उक्त नियमावली संशोधन हुने हो त्यसको कुनै ठेगान छैन । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ संशोधनको लागि अर्थमन्त्रालयमा पुगेको भएपनि कोही कसैले चासो दिएको छैन ।  

केही समयमा नै संशोधन भएर आउने भन्दै बजारमा साना लगानीकर्ता ठग्न छुट दिइएको छ । त्यसमा केही संशोधन भएर आउने छ । नियमावली आएपछि यो समस्यमा समाधान हुने भनिएको पनि दुई वर्ष भयो, तर हालसम्म कुनै सुनुवाई भएको छैन । 

प्रतिक्रिया दिनुहोस