भारतीय राजदुतलाई राजपाको पाँच तारे होटलमा ‘भब्य भोज’

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०७६, ०९ : ०१
भारतीय राजदुतलाई राजपाको पाँच तारे होटलमा ‘भब्य भोज’

काठमाडौं । सत्ताको भ¥याङ चढ्नका लागि खुट्टा उचालिसकेको मधेस केन्द्रीत दल राजपाले नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीलाई पाँच तारे होटलमा एक भब्य भोज दिएको छ । राजदुत पुरी कार्यकाल सकेर घर फिर्ती हुने तयारी गरिरहेका बेला पार्टीले पाँच तारे होटलमा बिदाई कार्यक्रम नै राखेर भब्य भोज दिएको हो ।

पुरीलाई राजपाले हिजो आईतबार दरबारमार्गस्थित याक एण्ड यति होटलमा बिदाई भोज दिएको हो । कुनै एउटा देशका सहसचिव स्तरको राजदुतलाई पाँच तारे होटलमा भब्य बिदाई भोज पार्टीले संस्थागत रुपमा नै दिएपछि राजपा विवादमा आएको छ । हुन त पाहुनाका लागि यसरी स्वागत र बिदाई गर्नुलाई नराम्रो मानिदैन् । तर नेपाल भारत सीमा विवाद बल्झिरहेको, नेपालको राजनीतिमा भारतीय हस्तक्षेप देखिने गरेको आरोप लागिरहेका बेला मधेस केन्द्रीत दल राजपाले पुरीको बिदाई भोज पाँच तारे होटलमा गर्नुले भने राजपा विवादमा आएको छ ।

उसले यस अगाडी कुनै राजदुतलाई पनि यसरी भोज दिएको थिएन् । अघिल्ला राजदुतलाई यसैगरी भोज दिएको वा अन्य देशका राजदुतलाई पनि यस्तै गरेको भए यो उसको पार्टीको राजनीतिक र भाइचारा संस्कार हो भनी मान्न सकिन्थ्यो होला । तर पुरीको हकमा मात्र यो खालको बिदाई भोज गरेपछि राजपा विवादमा आएको हो ।

उसले भारतीय शासकसामु आत्मसमर्पणवादी नीति अख्तियार गरेको यो बिदाई भोजबाट देखिने विश्लेषण राजनीतिक वृत्तमा भईरहेको छ । राजपाका नेताहरुले यस अघि २०७२ मा संविधान जारी हुने बेला भारतीय नेताहरुसँग हारगुहार गरेर नेपाल माथी नाकाबन्दी लगाउन भारतीय पक्षलाई अनुनय गरेको र भारतले नाकाबन्दी लगाएको थियो । त्यसपछि उसलाई भारतीय शासक वर्गले चलाउने पार्टीका रुपमा लिइदै आएको छ । अझ राजदुत पुरीको बिदाईमा पाँच तारे होटलमै बिदाई भोज दिएपछि त्यसको थप पुष्टि आफैंले गरेको छ । राजपाका अध्यक्ष मण्डले उनलाई फेममा राखेर चिनो उपहार समेत दिएका छन् ।

राजदुत पुरीले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । यही डिसेम्बर अन्तिमसम्म उनको कार्यकाल थियो । उनी १५ पुसमा कार्यकाल सकेर स्वदेश फर्कदैछन् । राजदुत पुरी पछि भारतले नेपालका लागि नयाँ राजदुत कसलाई बनाएर पठाउछ भन्ने अहिलेसम्म अन्तिम निर्णय लिएको छैन । नयाँ राजदुतका लागि विकास स्वरुप, अखिलेस मिश्रा, गोपाल बगाले लगायतको नाम चर्चामा छ ।
 

प्रतिक्रिया दिनुहोस