प्रचण्डले हकारेपछि टिकेन् भीम रावलको फरक मत

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०७६, ०८ : ४५
प्रचण्डले हकारेपछि टिकेन् भीम रावलको फरक मत

काठमाडौं । सत्तासिन दल नेकपाको स्थायी समिति बैठक सकिएको छ । अध्यक्ष प्रचण्डको अध्यक्षता र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अनुपस्थितीमा नेकपा बैठक एक साता चलेको थियो । बैठकको अन्तिम दिन स्थायी समिति सदस्य भीम रावलले अध्यक्ष प्रचण्डको हप्काई खानु परेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

कुनै नेताले बोलिरहेका बेला उनीहरुका कुरा सुन्ने कम्युनिष्ट पार्टीका मात्र नभई सबै जसो पार्टीका नियम हुन्छन् । आफुलाई लागेको कुरा बोल्न परेमा बैठकको अध्यक्षता गरिरहेका नेतासँग अनुमति लिएर बोल्नुपर्ने पनि अनुशासन भित्र पर्छ । तर यसपटक नेकपा स्थायी समिति बैठकमा केही नेता यस्ता देखिए,– उनीहरुलाई कसले बोलिरहेको छ ? त्यही बेला बोल्न हुने नहुने मात्र समस्या देखिएन, अध्यक्षसँग सामान्य बोल्नका लागि अनुमति पनि नमाग्ने र बोलिहाल्ने संस्कार पनि ति नेताहरुले देखाए ।

यस्ता नेताहरु मध्येका थिए, – बामदेव गौतम, भीम रावल र रघुजी पन्त ।

‘वामदेव आफुलाई बोल्न मन लाग्यो र उनको केही प्रसंग आयो भने जुरुक्क उठेर अध्यक्ष ज्यू मलाई बोल्न अनुमाति चाहियो भन्दै सिधै आफ्नो करा राखिहाल्थे, तर भीम रावल र रघुजी पन्तले भने अनुमाति पनि नलिने, बैठकमा अर्काे कसले बोलिरहको छ भन्ने पनि ख्याल नगर्ने, साथीले बोलिसक्यो सकेन् पनि नहेरी सिधै उठेर बोलिहाल्ने प्रवृत्ति देखियो,’ बैठकमा नेताहरुको प्रस्तुतीका बारेमा ति सदस्यले भने ।

आइतबार बैठक सक्ने बेला यसैगरी बोल्ने क्रममा अध्यक्ष प्रचण्डको हप्काई नै खान परेको थियो नेता भीम रावलले । आफुलाई बैठकमा बढी जानकार देखाउने र जे विषयमा पनि असन्तुष्टि मात्रै राख्ने गरी रावल प्रस्तुत हुन थालेपछि उनले अध्यक्षको हप्काई भेटेको ति नेताले बताए । प्रसंग थियो –अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गराउँदै गर्दाको । ‘अध्यक्षले नेताहरुले उठाएका विषय र उपयुक्त सुझाव समेटेर राजनीतिक प्रतिवेदन परिमार्जन हुन्छ, यसलाई पारित गरौं,’ अध्यक्षले राजनीतिक दस्तावेज पारित गर्न प्रस्ताव राख्दै भने ।

प्रतिवेदनको एक अंशमा सचिवालयले यस अगाडी गरेका निर्णय अनुमोदन सिधै गराउन सकिन्न, त्यसमा आफ्नो फरक मत रहन्छ भनी धारणा राखेका माधव नेपाल र वेदुराम भुषालसमेत बोलेका थिएनन, तर रावल प्रतिवेदनमा मेरो फरक मत छ भन्दै बोल्न थाले । त्यसपछि उनले अध्यक्षको हप्काई खानु परेको हो ।

रावलले प्रतिवेदनमा फरक मत रहेको बताउँदै आफुले लेखेर ल्याएको डकुमेन्ट पनि देखाए । महासचिव विष्णु पौडेलले भर्खरै लेख्नु भयो की कहिले ? योजनामा आउने ? नियत के ? भन्दै रावलसँग चर्काचर्की गरे । त्यसपछि भने प्रचण्डले रावललाई हकारेका हुन् । ‘तपाईले उठाएका कतिपय कुरा समेटिएकै छन्, अब केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ पनि तपाईले आफना कुरा राख्न पाउनुहुन्छ, अनि यो बेला के को फरक मत? ’ प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने,–‘यो फरक मत के का लागि ? म गम्भिरतापूर्वक भन्छु, तपाईलाई यो फिर्ता लिनुहोस् ।’

धेरैले रावलको त्यो प्रस्तुतीलाई रुचाईरहेका थिएनन् । त्यसपछि उनले आफनो फरक मत फिर्ता लिएको बैठकमा घोषणा गरेका थिए । प्रचण्डको हप्काई पछि उनले बैठकमा आफनो फरक मत छ भनी बोलेको अभिब्यक्ति ५ मिनेट पनि टिकाउन नसकेको एक सदस्यले बताए ।  नेकपाले २३ पुसमा केन्द्रीय समिति वोलाएको छ ।
 

प्रतिक्रिया दिनुहोस