हप्तामा तीन वटाभन्दा बढी अन्डा खानु हानिकारक

एजेन्सी

शनिबार, ०५ पुस २०७६, १६ : १५
हप्तामा तीन वटाभन्दा बढी अन्डा खानु हानिकारक

अण्डालाई प्रोटिनको राम्रो स्रोत भनेर यसलाई दैनिक खान सुझाइन्छ । विशेषगरी, ब्रेकफास्ट (बिहानको खाना) मा । हिन्दीमा एउटा गीत नै छ ‘सन्डे हो या मन्डे, रोज खाओ अण्डे’ तर अण्डा खानु स्वास्थ्यका लागि ठिक छ कि बेठिक भनेर विज्ञहरुले वर्षौंदेखि अनुसन्धान गर्दै आएका छन् ।

केही पहिले एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार दिनमा दुईवटा मात्रै पनि अण्डा खाँदा यसले मुटुलाई हानी पुर्याउने र उमेर नपुग्दै मृत्यु हुने बताएको छ । अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुने कारणले यस्तो खतरा देखिएको हो । एउटा ठूलो अण्डामा करिब एक सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो ।

उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको ६वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित विश्लेषण हो । अनुसन्धानकर्ताहरूले प्रतिदिन तीन सय मिलिग्राम कोलेस्ट्रोल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन् ।

उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा ६ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा ८ प्रतिशत बढ्ने बताएका छन् ।

दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमशस् २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ ।

सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्ति सेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो ।
यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणमा केही त्रुटि  हुनसक्ने बताएका छन् ।

सहभागीले गएको महिना वा वर्षहरूमा अण्डा खाएको बारे प्रश्नोत्तरमार्फत् जानकारी दिनुपर्ने भएकाले सो अध्ययनको निष्कर्ष अपूर्ण हुनसक्ने देखिएको छ ।

अन्य विज्ञहरूले यो अध्ययनले अण्डाको खान्की र मुटुरोग बीचको सम्बन्ध देखाए पनि मुटुसम्बन्धी रोगको कारणकै रुपमा अण्डाको आहारलाई स्थापित गर्न नसकेको बताएका छन्। अध्ययनकर्ताले हप्तामा तीनवटा भन्दा बढी खान नहुने जाेड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस