काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक चौथो दिन आज पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको छ ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालय, धूम्रबाराहीमा भएको बैठकमा आज अध्यक्ष केपी शर्मा ओली र दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १२ स्थायी कमिटी सदस्य र आमन्त्रित सदस्यले विचार राख्ने क्रम जारी रहेको हो । नेकपा स्थायी कमिटीको बैठक एक वर्षपछि गत मङ्सिर २९ गतेदेखि शुरु भएको हो ।
उहाँहरुले प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आआफ्ना थप सुझावसहित धारणा राख्नुभयो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीपकुमार ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा पुष्पराज कँडेलले आफ्ना विचार राख्नुभएको थियो ।
उहाँहरुले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित र सङ्गठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीका आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारका कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयमा जोड दिनुभएको थियो । सदस्यहरुले बोलिसकेपछि अध्यक्ष र वरिष्ठ नेताहरुले जवाफ दिनुहुनेछ ।
बैठकका लागि राजनीतिक प्रतिवेदन र विधान संशोधनका साथै नेपाल–भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ । विधान संशोधन प्रस्तावमा पार्टीको तत्कालीन कार्यनीति समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने शब्दावली प्रस्तावनामा थपिएको छ भने उपाध्यक्ष पद सिर्जना गरी सो पदमा नेता वामदेव गौतमलाई जिम्मेवारी दिने सचिवालयको प्रस्ताव छ । स्थायी समितिको अर्को बैठक बिहीबार बिहान ११ः०० बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०७६, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग