पम्फा र अष्टलक्ष्मीले आफ्नै नेतालाई किन थर्काए ?

स्थायी समिति सदस्य पम्फा भुषाल र अष्टलक्ष्मी शाक्यले महिला प्रतिनिधत्वको माग गदै लिखित मत राख्ने तयारी गरिरहेका छन्

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, ०८ : ४६
पम्फा र अष्टलक्ष्मीले आफ्नै नेतालाई किन थर्काए ?

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकमा सोमबार दुई महिला नेतृले गज्जबको दृश्य देखाए । स्थायी समितिमै महिला प्रतिनिधित्वका रुपमा रहेका नेतृहरु अष्टलक्ष्मी शाक्य र पम्फा भुषालले कमिटिमा पुरुषमात्रै किन भनी नेतृत्वप्रति बारम्बार औला ठ्डयाईरहे । अध्यक्षद्धय केपी ओली र प्रचण्डको तफबाट आइतबार स्थायी समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा धारणा राख्ने क्रममा नेतृहरु भुषाल र शाक्यले सचिवालयमा पुरुषमात्रै सदस्य रहेको भन्दै आपत्ति जनाएका थिए ।

उनीहरुले पार्टी नेतृत्वलाई औला ठ्डयाउदै भनिरहे,– ‘नेतृत्वले कान खोलेर सुन्दैन भने हामी फरक प्रस्ताव नै ल्याउन सक्छौं । लिखित ल्याउने तयारी गरिरहेका छौं ।’ ‘पुरुषको जति, के हाम्रो पार्टीमा योगदान छैन ? के हामीले निगाहमा मात्रै यो पद प्राप्त गरेका हौं ? पुरुषमात्रै कमिटिमा बस्ने हो भने हामी दुई जनालाई किन राखिएको ? हामीलाई पनि हटाईदिएको भए हुन्थ्यो नी ?’ पार्टी कमिटिमा महिला प्रतिनिधित्वमा ब्याङग्यात्मक टिप्पणी गरेका नेतृहरु भुषाल र शाक्यले सचिवालय देखि पार्टीका सबै तहमा कानुनले ब्यवस्था गरे अनुसारको प्रतिनिधित्व अब आफुहरुले नछोड्ने चेतावनी दिएका हुन् ।

‘सचिवालय, स्थायी, केन्द्रीय समिति देखि पार्टीका सबै तहमा महिला चाहियो । हामी महिला पुरुषसरहनै लड्ने अनि पार्टीले दिएको भन्ने हुने ?’ नेतृ भुषालले भनिन्,–‘जनयुद्धमा २ हजार ५ सय महिलाको बलिदान हुने, जनआन्दोलनमा पनि महिलाको बलिदान छ । आन्दोलनहरुमा लाखौं महिलाहरु सहभागी छन् । कानुनले पनि ब्यवस्था गरेको छ । त्यसकारण प्रतिनिधीत्व चाहियो ।’ भुषालले पुरुषको अधिकार खोसेको नभई आफुहरुले आफ्नै अधिकार खोजेको बताइन् । उनले सचिवालय बिस्तार गरेर १५ सदस्यीय बनाएर भएपनि प्रतिनिधत्व गराउन चर्काे माग गरिन् ।  उनले भनिन्,–‘हामीले तपाईहरुसँग माग्ने होइन, तपाईहरुको ठाँउमा तपाईहरु हुनुहोस ।

हामी हाम्रो ठाँउमा हुन्छौं । १५ सदस्यीय बनाऔं, महिला पनि थपौं, अरु पनि थपौं । सबै कमिटमा त्यसै गरी जाऔं । हामी संर्घष नै गरेर आएका हौं । प्रतिनिधित्व हुदा की भएका श्रीमान गुम्नु पर्ने कि खान्दानी परिवारको हुनुपर्ने प्रावाधान अब सह्य हुदैन । यो पितृसत्तावादी सोच हुनुुहुन्न ।’ नेतृ शाक्यले पनि पार्टी कमिटिमा पुरुष मात्रै बसेर धमाधम निर्णय गर्न लाज हुदैन ? भनी नेतृत्वलाई प्रश्न गरेकी थिइन् । ‘लैंगिक समानताको यति धेरै आवाज हामीले उठाउँदै आएका छौं । संविधानले नै महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत स्थान सुरक्षित गरेको छ ।’ शाक्यले बैठकमा भनिन्,–‘तर पार्टी सचिवालयमा पुरुषमात्रै बसेर निर्णय गर्दा अलिकति अप्ठ्यारो मान्न पर्दैन ? तपाईहरुलाई लाज लाग्दैन ?’ नेकपामा ९ सदस्यीय सचिवालयमा एक जना पनि महिला छैनन् ।

स्थायी समितिमा पनि २ जना मात्रै महिला छन्, शाक्य र भुषाल मात्रै । उनीहरुले पार्टी कमिटिमा समावेशी रुपमा महिलाको प्रतिनिधित्व नगराइए लिखित मत नै राख्ने पनि जानकारी दिएका थिए । ‘मैले त लिखित रूपमा प्रस्ताव नै राख्ने योजना बनाएको छु । पम्फाजी पनि यही पक्षमा हुनुहुन्छ,’शाक्यले भनिन्,– ‘सचिवालय सदस्य बढाउनुपर्छ र त्यसमा महिला पनि हुनुपर्छ । नभए हाम्रो मत स्थायी समितिमा छुटै लिखित रुपमा नै बुझाउने छौं ।’ शाक्य र भुषालले महिला प्रतिनिधत्वमा प्रश्न उठाईरहदा अन्य नेताहरु भने चुपचाप बसेका थिए । अरुले यो विषयमा खास टिप्पणी गर्न चाहेनन ।
 

प्रतिक्रिया दिनुहोस