टिकौलीको संयुक्त अप्रेसन क्याम्पको हरिबिजोग

राति एक घण्टा सडक बन्द गर्नु पर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृतको निचोड

प्रकाश सिग्देल

आइतबार, २९ मंसिर २०७६, १७ : २१
टिकौलीको संयुक्त अप्रेसन क्याम्पको हरिबिजोग

चितवन । रत्ननगर र भरतपुरलाई जोड्ने टिकौलीस्थित वरण्डाभार जैविकमार्गमा निमार्ण गरिएको संयुक्त अप्रेसन क्याम्प बेवारिसे बनेको छ । चितवन राष्ट्रिय निकुन्ज र जिल्ला वन कार्यालय चितवनले स्थापना गरेको संयुक्त अप्रेसन क्याम्पको संरक्षण गर्न कुनै पनि निकायले चासो नदिँदा क्याम्प अहिले धमिराले खाएर भत्किएको छ ।

यो मार्गमा अत्याधिक फोहोर बढेपछि त्यो फोहोर नियन्त्रणसंगै त्यहाँ रोक्ने सवारी साधनलाई कारबाही गरी वन्यजन्तु मैत्री मार्गका रुपमा बिकास गर्न त्यहाँ हतियार सहितका वन रक्षक बस्ने गरी  क्याम्प निमार्ण गरिएको थियो । तर अहिले क्याम्प बेबारिसे बनेको छ । केहि दिन खुबै तामझाम देखाएका वन रक्षकहरु अहिले कता हराए कुनै मेसो छैन । 

३ वर्ष अगाडि निकै तामझाम गरेर चितवन राष्ट्रिय निकुञ्जले संयुक्त अपरेसन क्याम्प नै खडा गरेर सवारी रोक्न नदिने भनेर अभियान चलायो । तर, त्यसको केही महिनामै यो अभियान हरायो । अहिले त झन् अभियानको नामोनिसान समेत मेटिने अवस्थामा पुगेको छ ।  फोहरबाट वन्यजन्तुलाई पर्न सक्ने असर र सवारी साधन रोक्दा वन्यजन्तुलाई असर पर्ने भन्दै तत्कालीन प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलको पालामा जैविक मार्गमा सवारी रोक्न नदिने गरी यस्तो अभियानको थालनी गरिएको थियो ।  

लामो समयदेखि यो अभियान बेवारिसे बनेको छ । यो मार्ग भएर दिनहुँ हजारौं सवारीसाधन गुड्ने गर्छन् । यो मार्गमा प्रायः गरेर सवारीसाधनमार्फतै यहाँ फोहर ल्याएर फ्याँक्ने गरेको पाइन्छ । कतिपयले रातको समय पारेर आफ्नो साधनमा फोहर ल्याएर फ्याँक्ने डम्पिङ साइटको रुपमा प्रयोग गर्ने गरेका छन् । 

वन्यजन्तुको आवातजावत हुने यो मार्गमा सवारीसाधन रोक्ने र दिशा पिसाब गर्नेलाई जरिवाना गरिने भनी बोर्ड समेत लगाइएको छ सिसी क्यामरा जडान गरी क्यामराबाट समेत निरीक्षण हुँदै आएको थियो । अहिले न क्यामराले काम गर्छ, न त्यहाँ सुरक्षाकर्मी काम गर्छन् ।


 

जैविक मार्ग छेउछाउमा प्लाष्टिक र अस्पतालजन्य फोहरहरु फाल्ने गरेको पाइन्छ । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले वन्यजन्तु संरक्षणका लागि राजमार्ग क्षेत्रमा सेना परिचालन गर्नु पर्ने बताउँदै आउनु भएको छ । बरण्डाभार जैविक मार्ग वन्यजन्तुको कोरिडोर भएकाले यहाँ बिशेष ध्यान दिनु पर्ने उहाँको भनाई छ ।     

चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले आफु चितवन आएको तेस्रो दिनमा नै टिकौलीमा रहेको सशस्त्र वन रक्षक कार्यालयलाई यो पोष्ट  सन्चालनमा ल्याउन निर्देशन दिएको बताउनु भयो । क्यामरा बिग्रिएको अन्य के के बहाना बनाएर त्यो पोष्ट सन्चालन नभएको आफुले जानकारी पाएको र यो सन्चालन गर्ने जिम्मा जिल्ला वन र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीको भएको उहाँले बताउनु भयो । 

यो वन्यजन्तुको प्रमुख कोरिडोर भएकाले यसको संरक्षणमा सबैको बराबर दायित्व हुने उहाँको भनाई छ । मानिसलाई आफनो जिउको जति माया लाग्छ अर्काको जिउको पनि त्यति नै माया गर्नु पर्ने बताउँदै उहाँले राति १२ देखि १ बजेसम्मको समय बन्यजन्तुले सडक वारपार गर्नका लागि छुट्याउनु पर्ने उहाँको भनाई छ । अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन रातिमा १२ देखि १ बजे सम्म टिकौली जंगलमा रोक लगाउनु पर्ने उहाँको भनाई छ । यहाँ फोहोर फाल्नु हँुदैन, सवारी तिब्र गतिमा कुदाउनु हँुदैन, सवारी रोक्नु हँुदैन भन्ने कुरा हरेक मानिसले बुझनु पर्ने उहाँ बताउनु हुन्छ । 

सवारीको अत्यधिक स्पीडका कारण जैविक मार्गमा वन्यजन्तुको ज्यानसमेत जाने गरेको छ । यो पोष्टलाई तत्कालै सन्चालन गरी बन्यजन्तु मैत्री राजमार्गका रुपमा बिकास गर्न प्रयास भइरहेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस