पुनः सभामुख बन्न मरिहत्ते गरिरहेछन् सुवासचन्द्र नेम्वाङ

सफल खबर संवाददाता

आइतबार, २९ मंसिर २०७६, १४ : ०३
पुनः सभामुख बन्न मरिहत्ते गरिरहेछन् सुवासचन्द्र नेम्वाङ

काठमाडौँ । घटस्थापनाको साँझ एक महिलालाई बलात्कार प्रयासको आरोप लागेका कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभामा सभामुख पद पछिल्लो अढाई महिनादेखि खाली छ । गत असोज १४ गते महराले राजीनामा दिएपछि रिक्त पदमा आफू जसरी पनि आउन नेकपा संसदीय दलमा उपनेता सुवासचन्द्र नेम्वाङले मरिहत्ते गरेका छन् ।

प्रतिनिधि सभाको सभामुख पदमा कसलाई ल्याउने भन्नेमा नेकपाभित्र छलफल चलिरहेको छ । पूर्वमाओवादीको तर्फबाट अग्निप्रसाद सापकोटा र पूर्वएमालेबाट नेम्वाङको नाम चर्चामा छ । पूर्वएमालेबाट अहिलेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउने कसरतमा राष्ट्रपति विद्यादेवी भण्डारी नै लागेको भन्ने पनि राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

संघीय संसद् सचिवालयको महासचिव मनोहरप्रसाद भट्टराईको कार्यकक्षलाई आफ्नो पनि कार्यकक्ष बनाएका नेम्वाङले भित्रभित्र सबै तयारी पूरा गरेपनि आफू सभामुख नबन्ने, बन्नका लागि तयार नभएको, कति खाने भन्दै बाहिर हल्ला गराएका छन् । तर सो पद प्राप्तिका लागि उनले मरिहत्ते नै गरेका छन् । 

नेम्वाङले आफू सभामुख बन्न लागेको भन्दै नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंहसँग समेत राम्रै छलफल गरेका छन् । अमरेशकुमारका अनुसार नेम्वाङ सभामुखका लागि लालायित छन् । नेम्वाङ, अमेरशकुमार र महासचिव मनोहरप्रसाद भट्टराईका बीचमा सभामुख बन्ने विषयमा  हरेक दिनजसो संघीय संसद सचिवालयमा छलफल हुने गरेको स्रोतको भनाइ छ । 

नेम्वाङले अन्तरवार्ता दिन प¥यो भने पनि उनले आफ्नो कार्यकक्ष सामान्यत प्रयोग गर्दैनन् । उनले महासचिव भट्टराईको भित्री कोठा प्रयोग गर्छन् । उनले पूर्व एमालेका नेता तथा कार्यकर्तालाई माहोल बनाउन प्रयोग गरेका छन् । कहिले मलाई सभामुखबारे नबोल्ने उर्दी छ भन्दै समाचार लेखाउँछन् भने कहिले सभामुखमा इच्छुक त छैन, तर पार्टी नेतृत्वले के भन्छ ? सोही आधारमा निर्णय हुन्छ भन्दै प्रचार गराउने गरेका छन् । तर लालसा भने सभामुख बन्नेमा छ । त्यसकारण माहोल बनाउन उनले भएभरका सबै प्रयत्न जारी राखेका छन् । 

सभामुखको नाममा राज्य यन्त्रको दुरुपयोग गर्न सिपालु नेम्वाङलाई प्रधानमन्त्री समेत रहेका उनकै सहपाठी केपी ओलीले समेत चेपेको बताइन्छ । प्रधानमन्त्री ओलीलाई नेम्वाङले बुढा भन्दै सम्बोधन गर्छन् । 

आगामी पुुस पहिलो साताका लागि नै संसद्को हिउँदे अधिवेशन बोलाइएको छ । अधिवेशनको पहिलो कार्यसूची नै सभामुखको चयन समेत भएकाले पनि आफू सभामुख पुनः बन्ने दिन आएको भन्दै नेम्वाङ खुसीले गदगद भएको बताइन्छ । पारिवारिक नाता नै पर्ने उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई समेत सभामुख मलाई नदिने भए राजीनामा दिन्न भन्दै उनै नेम्वाङले प्रचार गर्न लगाएका छन् । 

बार्गेनिङ गरेर मिलाउन सिपालु नेम्वाङले साम, दाम, दण्ड, भेद सबै उपयोग गरेर सभामुख पड्काउने र संघीय संसदमा विगतदेखि नै मारेको तर पुनः मार्ने योजनामा लागेका छन् । त्यसो त तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार काण्ड लागेपछि सबैभन्दा पहिला तीन हात उफ्रेर महरालाई कारबाही गर्नुपर्छ भन्न समेत उनै नेम्वाङले भ्याएका थिए । पार्टीले महराका बारेमा निर्णय गर्नु अगावै नै नेम्वाङले जान्ने भएर कानूनका धारा, उपधारा तथा अन्य विषयमा चर्चा गर्न समेत भ्याएका थिए ।

प्रतिक्रिया दिनुहोस