नेकपा स्थायी समिति बैठक आज

शीर्ष नेतृत्व दुई दिनमा टुंग्याउने तयारीमा, जमेर बहस गर्न पाउनुपर्ने स्थायी समिति सदस्यहरुको माग

सफल खबर संवाददाता

आइतबार, २९ मंसिर २०७६, ०८ : २८
शीर्ष नेतृत्व दुई दिनमा टुंग्याउने तयारीमा, जमेर बहस गर्न पाउनुपर्ने स्थायी समिति सदस्यहरुको माग

काठमाडौं । सत्तारुढ दल नेकपाको लामो समयपछि आज स्थायी समिति बैठक बस्दैछ । गत वर्ष आजकै दिन अर्थात मंसिर २९ मै बसेको स्थायी समिति बैठक त्यसयता बस्न सकेन् । संयोग भन्नुपर्छ, त्यसपछि बस्न नसकेको स्थायी समिति बैठक आज मंसिर २९ मै बस्दैछ । 
पार्टी कमिटिको बैठक नबस्दा पार्टी नेताहरुले आन्तरिक जनवादको अभ्यास गर्न नपाएको भन्दै गुनासो गरिरहेका बेला यो स्थायी समिति बैठक बस्न लागेको हो । स्थायी समिति बैठक अगाडी बैठकका एजेण्डा तय गर्न पार्टी सचिवालयको बैठक पनि बस्दैछ ।
 
पार्टी मुख्यालय धुम्बराहीमा बिहान ९ वजे सचिवालय र त्यसपछि दिउँसो १ बजे स्थायी समितिको बैठक बोलाईएको केन्द्रिय कार्यालयका सचिव इश्वरवहादुर रिजालले बताए । एक वर्ष यता सचिवालयले टुंगो लगाएको संगठनात्मक कमिटिका निर्णयको अनुमोदन, राजनीतिक प्रतिवेदनका आधारमा अन्तरिम विधानको प्रस्तावना देखि उपत्यका विशेष प्रदेश कमिटि निर्माण, वामदेव गौतमलाई उपाध्यक्ष बनाउने लगायतका विषयमा विधानको संसोधन र अध्यक्ष प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन र आगामी ६ महिने कार्ययोजनाका विषय स्थायी समिति बैठकका एजेण्डा भित्र छन् ।
 
यी विषयलाई सरसर्ती बैठकमा प्रस्तावका रुपमा राख्ने र अहिलेलाई ति निर्णय अनुमोदन गराएर केन्द्रीय समिति बैठक बोलाउने र अब देखि विधानमा ब्यवस्था भए अनुसार नै तीन –तीन महिनामा बैठक बोलाउने गरी शीर्ष नेतृत्वले स्थायी समिति सदस्यहरुलाई मनाउने गरी दुई दिनमा स्थायी समिति बैठक टुंग्याउने तयारी गरेको छ । तर, स्थायी समिति सदस्यहरुले भने लामो समय बैठक बस्न नसकेकोले यो बैठकमा जमेर कुरा राख्न पाउनुपर्ने बताईरहेका छन् । पार्टी बैठक नबस्दा मनभित्रका कुरा कतै राख्न नपाएको र अबको बैठकमा जमेर सदस्यहरुलाई छलफलमा सहभागी हुन दिनुपर्ने तर्क स्थायी समिति सदस्यहरुले राख्न थालेका छन् ।
 
यो हिसाबले शीर्ष नेतृत्वले दुई दिनमा बैठक सक्ने गरी गरेको तयारीमा स्थायी समिति सदस्यहरुको जमेर बहसमा भाग लिन पाउनुपर्ने तर्कका कारण सम्भव होला नहोला अहिले बहस हुन थालेको छ । स्थायी समिति बैठकका लागि कतिपयले सरकारका एजेण्डामा पनि छलफल गर्न पाउनुपर्ने,सचिवालय बिस्तारको एजेण्डामा छलफल गर्नुपर्ने, पोलिटब्यूरो गठन अहिले स्थायी समिति बैठकबाटै गर्नुपर्ने लगायतका माग उठाउने तयारी गरेका छन् ।

पार्टीभित्र लामो समय देखि स्थायी समिति बैठक बस्न नसकेकोले पार्टीभित्रको समिकरण बारेमा पनि केही ठोस आकार आउन सक्ने नेकपा नेताहरु बताउँछन् । यो बैठक लगत्तै नेकपाले पार्टी एकतापछि एक पटक दल निर्वाचन आयोगमा दर्ताको निर्णय लिनका लागि मात्र बसेको केन्द्रीय समिति बैठक पनि बोलाउने तयारी गरेको छ ।

पार्टी एकताको १९ महिनामा केन्द्रीय समिति बैठक बस्न सकेको छैन् । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डका बीचमा प्रष्ट कार्यविभाजन नहँुदा पनि पार्टी बैठक अवरुद्ध हुदै आईरहेको थियो । ४ मंसिरको सचिवालय बैठकले प्रचण्डलाई पार्टी कामको कार्यकारी जिम्मा दिएपछि पार्टीले गति लिन थालेको छ ।
 

प्रतिक्रिया दिनुहोस