सडक पेटीमा लडे मसालका महामन्त्री मोहनविक्रम सिंह

सफल खबर संवाददाता

शनिबार, २८ मंसिर २०७६, १० : ०४
सडक पेटीमा लडे मसालका महामन्त्री मोहनविक्रम सिंह

बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह बुटवल मिलनचोकको आकाशे पुलनेर सडक पेटीमा लडेका छन् । 

अर्धभूमिगत नेता ८४ वर्षीय सिंह शुक्रबार साँझ पैदल हिँड्दै गर्दा एक्कासी लडेका हुन् । बुटवलको चाँदबारीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा बोलेर सिंह चौराहातर्फ पैदल जाँदै थिए । 

सडकमा लडेपछि उनको कालिकानगरस्थित चौराहा हस्पिटल प्रालिमा उपचार गरिएको छ । उक्त हस्पिटलमा सिटीस्क्यान लगायतका परीक्षण गरेर करिब दुई घण्टापछि सिंह राति नै घर फर्किएका छन् ।

चौराहा हस्पिटल प्रालिका डा. विवेक मल्लका अनुसार स्वास्थ्य परीक्षण गर्दा सबै रिपोर्टहरु सामान्य देखिएको छ । निधार सामान्य सुनिएको बाहेक अरु त्यस्तो केही समस्या नदेखिएको डा. मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस