नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ सुकी हेगको कठघरामा

एजेन्सी

विहीबार, २६ मंसिर २०७६, १६ : ४०
नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ सुकी हेगको कठघरामा

File photo

काठमाडौं । संयुक्त राष्ट्रसंघको इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) हेगमा नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ आङ सान सुकी उपस्थित भएकी छन् । नोबेल शान्ति पुरस्कार विजेता सुकी रोहिंग्या मुसलमान समुदायमाथि भएको दमन र उनीहरुको आमहत्याको अभियोगमा अन्तर्राष्ट्रिय अदालत हेगमा म्यानमारको बचाउ गर्न प्रस्तुत भएकी हुन् ।

हेगमा भएको प्रारम्भीक चरणको सुनुवाईको क्रममा बयानका लागि उपस्थित भएकी नेतृ सुकीले आफ्नो सुरुवाति सम्बोधनमा म्यानमारमाथि लगाइएको अभियोग ‘अपूरो र गलत’ रहेको दाबी गरेकी छन् । रोहिंग्या मुसलमानको बसोबास रहेको रखाइन राज्यमा शदियौँदेखि नै तनावको अवस्था रहेको उनले बताएकी छन् ।

म्यानमारमाथि रोहिंग्या मुसलमानलाई गम्भीर दमन गरेको तथा उनीहरुको निमर्म तवरले आम हत्या गरेको अभियोग लागेको छ र सो मुद्दाको सुनुवाई अन्तर्राष्ट्रिय अदालत हेगमा भइरहेको हो । म्यानमारमाथि लागेको रोहिंग्या मुसलमानको आमहत्या सम्बन्धी अभियोगमा सुकीले देशको बचाउ गरेकी हुन् ।

म्यानमारले आमहत्या गरेको भन्दै अफ्रिकी देश गाम्बियाले अन्तर्राष्ट्रिय अदालत हेगमा यो मुद्दा लगेको हो । बुद्धिस्ट बाहुल्य म्यानमारमा सन् २०१७ मा बुद्धिस्ट तथा सुरक्षा अधिकारीले रोहिंग्याहरुमाथि दमन गरेका थिए । सो हिंसाका कारण सात लाख भन्दा बढी रोहिंग्याहरु छिमेकी देश बंगलादेशमा शरण लिन बाध्य भएका छन् । हिंसामा रखाइन राज्यमा बस्ने धेरै रोहिंग्याहरुको सामूहिक हत्या भएको थियो ।

यस्तै भारत तथा नेपालसम्म पनि बिस्थापित भएका रोहिंग्याहरु आएका छन् । म्यानमार सरकारले भने आफूले कुनै पनि किसिमको अत्याचार नगरेको र अतिवाद विरुद्ध अभियान मात्रै चलाएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस