भारतको असममा नागरिकता विधेयकको विरोधमा हिंसात्मक प्रदर्शन

विहीबार, २६ मंसिर २०७६, १४ : ०९
भारतको असममा नागरिकता विधेयकको विरोधमा हिंसात्मक प्रदर्शन

ऐजन्सी ।  भारतको केन्द्रीय सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयक पारित गरिएको विरोधमा असममा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि स्थानिय प्रशासनले निषेधज्ञा जारी गरेको थियो ।  तर प्रदर्शनकारीले निषेधाज्ञाको बेवास्ता गर्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले गोली चलाएको छ । विधेयकको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन् । 

प्रदर्शनमा २० जना घाइते भएको प्रहरीको भनाई छ ।  प्रदर्शनकारीले सवारी साधनहरूमा आगो लगाएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ । घटनालाई मध्यनजगर गर्दै सरकारले असममा हजारौं सुरक्षाकर्मी परिचालन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आमजनतालाई शान्त रहन अपिल गरेका छन् । प्रदर्शन उग्र हुन नदिन राज्यका अधिकांश भागमा इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । 

भारतको माथिल्लो सदनले बुधबार पारित गरेको नागरिकता संशोधन विधेयकले तीन छिमेकी मुलुकका धार्मिक अल्पसंख्यक नागरिकहरू खासगरी हिन्दु धर्मावलम्बीका नागरिकता सम्बन्धी आवेदनलाई छिटो निरुपण गर्न अनुमति दिएको छ, तर यसमा मुस्लिम अल्पसंख्यकलाई त्यस्तो मौका नदिएको उनीहरुको आरोप छ । 

इस्लामी समूहहरू, विपक्षी, अधिकार समूह र अन्यहरूले यो प्रधानमन्त्री मोदीको हिन्दू–राष्ट्रवादी एजेन्डाको एक हिस्सा भएको भन्दै विरोध गरिरहेका छन् । उनीहरुको भनाईमा भारतका २ करोड मुसलमानलाई सीमान्तकृत गर्नेगरी नागरिकता विधेयक आएको हो । भारतको सुदूर उत्तर पूर्वका धेरैजसो मानिसहरुलाई केन्द्र सरकारको पछिल्लो कदमले निकै त्रासमा राखेको छ । नयाँ कानुनले बंगलादेशबाट आएका इस्लाम बाहेक हिन्दू आप्रवासीलाई मात्र नागरिकता दिने बाटो खोल्नेछ, र मुस्लिम समुदाय बिचल्लीमा पर्नेछन् ।

‘म असमका मेरा भाइबहिनीहरूलाई आश्वस्त पार्न चाहन्छु कि नागरिकता संशोधन विधेयक पारित भएपछि पनि उनीहरूले चिन्ता लिनुपर्दैन’, प्रधानमन्त्री मोदीले उत्तरपूर्वको सबैभन्दा ठूलो राज्य असमका जनतालाई  सामाजिक संजाल ट्वीटर्मा लेखेका छन् । सरकारले रातिको समयमा निषेधाज्ञा (कर्फयु) लगाएको भए पनि धेरैजसो स्थानमा त्यसलाई उल्लङ्घन गरिएको छ ।  सरकारले मोबाइल इन्टरनेट सेवा पनि बन्द गरेको छ । त्रिपुरा र असम राज्यतर्फ जाने सबैजसो रेलसेवा स्थगित गर्नुका साथै केही स्थानको हवाई उडान रद्द गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस