ग्रामीण भेगका बिरामीलाई लक्षित गरी स्वास्थ्य शिविर

सफल खबर संवाददाता

बुधबार, २५ मंसिर २०७६, १७ : ३३
ग्रामीण भेगका बिरामीलाई लक्षित गरी स्वास्थ्य शिविर

बुलिङटार । नवलपुर जिल्लाको पहाडी क्षेत्र, बुलिङटार गाउंँपालिका वडा नम्बर ४, अर्खलामा ग्रामीण भेगका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । 
बुलिङटार गाउंँपालिका, गंगा स्वास्थ्य दर्पण फाउण्डेशन नेपाल र स्वास्थ्य दर्पण मिडीया नेटवर्कको संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । 
शिविरमा हाडजोर्नी तथा नशा, स्पाइनल, छाला, मुटु, मिर्गौला, मधुमेह, फोक्सो, पेट सम्बन्धीको उपचार गरिएको गंगा फाउण्डेशनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहांँका अनुसार करीब तीन सय जना बिरामीले सेवा लिएका थिए । उक्त शिविरमा हाडजोर्नीका १ सय २० जना, छालाका ८० जना, बांँकी १ सय जनाले मृगौला, मुटु, फोक्सो, पेट रोगको स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा भरतपुर अस्पतालका वरिष्ठ छाला तथा यौनरोग बिशेषज्ञ डाक्टर शशी हिराचन, वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर श्रवणकुमार थापा, वरिष्ठ फिजिसियन डाक्टर प्रमोद पौडेल र फिजियोथेरापिष्ट लालगोविन्द श्रेष्ठ लगायतले सेवा दिएका थिए । बिरामीका लागि आवश्यक औषधि देउराली जनता फर्मास्युटिकल्स काठमाडौले सहयोग गरेको थियो । 
बुलिङटार गाउंँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन समारोहमा गाउंँपालिकाका स्वास्थ्य संयोजक तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोककुमार श्रेष्ठ, अर्खला स्वास्थ्य चौकीका प्रमुख टोकबहादुर सुस्लिङ लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस