इच्छाकामना गाँउपालिकाकोे सबै वडा कार्यालय ठप्प, आक्रमणकारीलाई कारवाहीको माग

सफल खबर संवाददाता

सोमबार, २३ मंसिर २०७६, १६ : ४६
इच्छाकामना गाँउपालिकाकोे सबै वडा कार्यालय ठप्प, आक्रमणकारीलाई कारवाहीको माग

चितवन । वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै चितवनको इच्छाकामना गाँउपालिकाका सबै वडा कार्यालयले काम ठप्प पारेका छन् । वडा नम्बर २ का अध्यक्ष पञ्चबहादुर चेमाङमाथि आक्रमण भएपछि गाँउपालिकाका ७ वटै वडा कार्यालयले अनिश्चितकालका लागि कामकाज ठप्प पारेका हुन् । 
आक्रमणमा संलग्नलाई पक्राउ गरी कारबाही नगरेसम्म सबै वडा कार्यालयले काम ठप्प पारेको वडा नम्बर ६ का अध्यक्ष भुपेन्द्र चेपाङले बताए । उनका अनुसार हिजोदेखि नै नियमित कामकाज ठप्प पारिएको छ । वडाअध्यक्षहरुले संयुक्त रुपमा दोषीलाई कारबाहीको माग गर्दै गाँउपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । 
जिल्लाको एकमात्रै गाँउपालिका इच्छाकामनाको सबै वडा कार्यालयहरु ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । गाउँपालिकाको वडा नं. २ स्थित प्राथमिक विद्यालय नजिक जोखालाल चेपाङको घरमा कांग्रेसले  तालाबन्दी गरेको अवस्थामा रहेको वडा कार्यालय सोही गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आदेश बमोजिम सामुदायिक भवनमा सार्न खोज्ने क्रममा वडा अध्यक्ष चेपाङ र बुढाथोकीमाथि दुव्र्यवहार भएको थियो । 
कांग्रेसका स्थानीय कार्यकर्ताहरु उत्तर गुरुङ, बिर्खबहादुर गुरुङ, विजय गुरुङ, गीताबहादुर गुरुङ र जोखालाल चेपाङले वडा अध्यक्ष पञ्चबहादुर चेपाङसहित नेकपाका सोही वडाका अध्यक्ष प्रकाश बुढाथोकीमाथि गत शनिबार कालोमासो दल्नुका साथै जुत्ताको माला लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस