वडा अध्यक्ष चेपाङमाथि कांग्रेसका कार्यकर्ताद्वारा कुटपिट, दोषीलाई कारवाही गर्न नेकपा चितवनको माग

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, १४ : १९
वडा अध्यक्ष चेपाङमाथि कांग्रेसका कार्यकर्ताद्वारा कुटपिट,  दोषीलाई कारवाही गर्न नेकपा चितवनको माग

सांकेतिक तस्बिर ।

चितवन । इच्छाकामना गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङमाथि शनिबार नेपाली कांग्रेसका कार्यकर्ताले हमला गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा सचिव समेत रहेका पञ्चबहादुर चेपाङ तथा पार्टी वडा अध्यक्ष प्रकाश बुढाथोकीमाथि नेपाली कांग्रेसका केही उच्छृंखल व्यक्तिहरुबाट कुटपिट तथा गम्भीर खालको दुव्र्यवहार भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय चितवनले घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ र जिल्ला सचिव कृष्णभक्त पोखरेलद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘इच्छाकामना गाउँपालिकाको वडा नं. २ स्थित प्राथमिक विद्यालय नजिक जोखालाल चेपाङको घरमा कांग्रेसद्वारा तालाबन्दी गरेको अवस्थामा रहेको पालिकाको वडा कार्यालय सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आदेशबमोजिम सामुदायिक भवनमा सार्न खोज्ने क्रममा नेपाली कांग्रेसका सक्रिय कार्याकर्ताहरु उत्तर गुरुङ, विर्खबहादुर गुरुङ, विजय गुरुङ, गीताबहादुर गुरुङ, जोखालाल चेपाङलगायतले सोही वडाका अध्यक्ष एवम् पार्टी सचिव क.पञ्चबहादुर चेपाङ तथा वडा पार्टी अध्यक्ष क.प्रकाश बुढाथोकीमाथि कुटपिट गर्दै कालोमोसो दल्ने र जुत्ताको माला लगाउने तथा क.पञ्चमाथि मानव मलमूत्र खुवाउन खोज्नेसम्मको दुष्प्रयास भएको घटनाले आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसको प्रजातान्त्रिक कुसंस्कार आम जनताबीच छर्लङ्ग देखिएको छ ।’ 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘लोकतान्त्रिक गणतान्त्रिक मुलुक विधिको शासनले सञ्चालन हुने गर्दछ । भिन्न राजनीतिक आस्था भएकै कारण विधि र कानुन हातमा लिई वडाको कामकारबाहीलाई समेत दखल पुग्ने गरी जनताको काम हुन नदिने र वडाका जनप्रतिनिहरुसमेतलाई सांघातिक हमला गर्ने हर्कत अत्यन्त निन्दनीय र भत्र्सनायोग्य छ ।

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उक्त कुटपिट र दुव्र्यवहारको घोर भत्र्सना र निन्दा गर्दै सांघातिक आक्रमणमा उत्रने नेपाली कांग्रेसका सक्रिय कार्यकर्ताहरु उत्तर गुरुङ, विर्खबहादुर गुरुङ, विजय गुरुङ, गीताबहादुर गुरुङ, जोखालाल चेपाङलाई तुरुन्त पक्राउ गरी सत्यतथ्य छानविन गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस