नेकपाको स्थायी समिति बैठक ठ्याक्कै एक वर्ष पछि बस्दै

तयारीका लागि प्रचण्ड र ओली बिच आज छलफल हुदै, ओली सहभागी हुनसके बालुवाटारमा बस्ने, नत्र धुम्बाराहीमा

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, ०८ : ३८
नेकपाको स्थायी समिति बैठक ठ्याक्कै एक वर्ष पछि बस्दै

फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपाको ठयाक्कै एक वर्ष पछि पार्टी स्थायी समिति बैठक बस्ने भएको छ । गत वर्षको मंसिर २९ देखि पुस १३ सम्म नेकपाको स्थायी समिति बैठक बसेको थियो । बैठकले संगठनात्मक एकताका लागि ९ सदस्यीय कार्यदल गठन गरी पुस मसान्तसम्ममा एकताका लागि काम सक्ने र लगत्तै स्थायी समिति बैठक बस्ने निर्णय गरेको थियो ।

स्थायी समिति गत वर्षको पुसको अन्त्य वा माघको पहिलो साता बस्ने भाका राखिएको थियो । विद्यानत ः तीन महिनाभित्रै स्थायी समिति बैठक बस्नुपर्ने ब्यवस्था छ । तर न विद्यानको फलो भयो, न गत वर्षको स्थायी समिति बैठकले तोकेको भाकाकै आधारमा स्थायी समिति बैठक बस्यो । पार्टी सचिवालयका ९ सदस्य बाहेक अन्य कुनै नेताले पार्टी केन्द्रको बैठक भनेर बस्न पाएका छैनन् ।

आफुलाई लागेका कुरा केन्द्रीय समिति वा स्थायी समितिमा निर्धक्क राखेर जनवादी केन्द्रीयताका आधारमा बहस नै गर्न पाएका छैनन् । पार्टी शीर्ष नेताहरुले केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाउन नेतृत्वलाई दबाब दिने उदेश्यले हस्ताक्षर अभियान नै चलाउने तयारी गरिरहेका बेला अहिले स्थायी समिति बैठक बोलाउने तयारी भएको छ । गत मंसिर ४ को पार्टी सचिवालय बैठकले पार्टीका दुई अध्यक्षका बीचमा कार्यविभाजन गरेपछि कार्यकारी अधिकार प्राप्त पार्टी अध्यक्ष प्रचण्ड पार्टीमा रोकिएको स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने तयारीमा जुटेका छन् ।

उनले भोली (सोमबार) पार्टी सचिवालय बैठक बोलाईसकेका छन् । त्यो बैठकबाट स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेका छन् । पार्टीको आगामी ६ महिने कार्ययोजनाको ठोस प्रस्ताव, स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने निर्णय देखि उपनिर्वाचन समिक्षा सम्ममा केन्द्रीत रहेर सोमबारको सचिवालय बैठकमा छलफल गराउन खोजेका छन् । उनले १८ मंसिरमा राखेको सचिवालय बैठकमा यो कार्ययोजना बनाएका थिए ।

प्रचण्ड निकट स्रोतका अनुसार उनले मंसिर २८ या २९ मै पार्टी स्थायी समिति र पुस पहिलो साताभित्र केन्द्रीय समिति बैठक बोलाउने आन्तरिक तयारी गरिरहेका छन् । १८ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओलीको अस्वस्थ्यताका कारण बैठकमा अुनुपस्थित थिए । उनीसँगै वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेल इलाम गएका कारण बैठकमा अनुपस्थित थिए ।

भोलिको सचिवालय बैठकको तयारीका लागि दाहालले आज अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पनि आन्तरिक छलफल गदैछन् । दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डले ओलीसँग सम्वाद गर्न लागेका छन् । बैठकमा प्रधानमन्त्री ओली समेत सहभागी हुन सक्ने अवस्था आए धुम्बाराहीमा राखिएको बैठक बालुवाटारमै सर्न पनि सक्नेछ । तर त्यसका लागि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यान राखेर गरिने नेकपा स्रोतले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस