सरकारले सीमा विवादको विपषयलाई चासोका साथ हेर्न सकेन : सभापति देउवा

सफल खबर संवाददाता

शुक्रबार, २० मंसिर २०७६, १८ : ४७
सरकारले सीमा विवादको विपषयलाई चासोका साथ हेर्न सकेन : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सीमा विवादको विपषयलाई चासोका साथ हेर्न नसकेको आरोप लगाउनु भएको छ । शुक्रवार प्रेस यूनियन नवलपुरले आयोजना गरेको सुर्यभक्त–पतनादेवी स्मृती राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा बोल्दै कांगेस सभापति देउवाले आफू प्रधानमन्त्री हुँदा भारतसँग गरेको सम्झैतामा महाकाली नेपालकै हो भनि स्पष्ट हुँदा पनि अहिलेको सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्न नसकेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै सभापति देउवाले भारतले मिचेको सीमाको विषयमा सरकार आफैले विवाद समाधान गर्नु पर्ने भए पनि सरकारलाई सबै जनता र कांग्रेस पार्टीले समर्थन गरेको भए पनि यो सरकारले देशको सीमा सुरक्षा गर्नतर्फ नलागेको आरोप लगाउनु भयो । ‘केपि ओली सरकारलाई सबैले सहयोग गरेका छन्, आफ्नो देशको सीमा बचाउन सरकार लाग्नु पर्ने भए पनि जनता र हामीले सरकारलाई बाटो खुल्ला गरिदिएका छौं । त्यही पनि सरकार बोल्दैन’ उहाँको भनाइ छ । उहाँले कालापानी देशकै हुँदा पनि सरकारले भारतसँग वार्ता गर्न नखोज्नुले ओलीले भन्दै आएको राष्ट्रवाद, राष्ट्रवाद नभई लम्पसारवाद भएको उहाँको तर्क थियो । 

यसैबीच प्रेस युनियन नवलपुरले प्रत्येक वर्ष प्रदान गर्ने सुर्यभक्त–पतनादेवी स्मृती राष्ट्रिय पुरस्कार यो वर्ष पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ । प्रेस युनियन नवलपुरले पन्ध्र वर्षअघि स्थापना गरेको पुरस्कारले यस वर्ष नेपाललाई सम्मानित गरेको हो । 

शुक्रबार एक कार्यक्रमकाबीच नेपाली सभापति देउवाद्वारा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता क्षेत्रमा नेपालले उल्लेखनीय योगदान पुर्‍याएको हुँदा उहाँको कदर स्वरुप पुरस्कारले सम्मान गरिएको  प्रेस यूनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनु भयो । नेपाललाई २५ हजार नगद र ताम्रपत्रले सम्मान गरिएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उनकी धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोष रकमबाट हरेक वर्ष एक पत्रकारलाई सम्मान गरिँदै आइएको छ ।