बैंक तथा वित्तीय संस्था सुरक्षाका हिसाबले कमजोर

नेपाल राष्ट्र बैंकले प्रभावकारी रुपमा कदम चाल्न सकेन

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, ११ : ५९
बैंक तथा वित्तीय संस्था सुरक्षाका हिसाबले कमजोर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रविधिमा लगानी गरेका छैनन् भन्ने कुरा आम जनतालाई थाहा भइसकेको छ । तर नियमनकारी निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकले प्रभावकारी रुपमा कदम चाल्न नसक्दा एक पछि अर्को गर्दै समस्या देखिएको छ । 

केन्द्रीय बैंकका प्रमुख रहेका गर्भनर डा. चिरञ्जिवी नेपालले आफू अवकाश हुन लागेको भन्दै बैंकिङ सुरक्षामा ध्यान दिएका छैनन् । बैंकका उच्च कर्मचारीलाई आ–आफ्नै स्वार्थ छ । सोही स्वार्थले बैंकिङ सुरक्षामा ध्यान दिएका छैनन् । उनीहरु मनमौजी तरिकाले चलेका छन् ।

 अर्थ मन्त्रालयका कर्मचारीलाई पनि त्यतातिर ध्यान छैन । अर्थमन्त्री डा युवराज खतिवडा विद्धान र अर्थतन्त्रको क्षेत्रको जानकार भएपनि उनले त्यतातिर ध्यान दिएका छैनन् । जसका कारण नेपालको बैंकिङ प्रणाली ध्वस्त भएको छ ।  

गत भदौमा पनि नेपालको बैंकिङ प्रणालीको कमजोरीको फाइदा उठाएर चिनियाँ श्याकरले पैसा लुटे । कहिले स्वीफ्ट कोड नै ह्याक गरेर पैसा लुटिएको छ ।  यही साताको शुरुमा पनि यस्तै बैंकिङ प्रणालीमा अर्को अपराध सार्वजनिक भएको छ । 

प्रहरीले दुई दिन लगाएर अनुसन्धान गर्दा नक्कली कागजपत्र बनाएर नयाँ चेकबुक निकालेको खुलेको छ । चेकबाट कीर्ते हस्ताक्षर गर्दै खाताबाट रकम झिकेको फेला परेको छ ।  यही अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । यसबाट नेपालको बैंकिङ क्षेत्र शतप्रतिशत कमजोर रहेको छ भन्ने पुष्टि गर्दछ । 

प्रहरीले कीर्ते कारोबारमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरेलाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान अनुसार पैसा निकाल्ने गिरोहले नक्कली कागजपत्र बनाएर चेक निकालेको देखिएको छ । त्यसमै कीर्ते हस्ताक्षर गरेर पैसा झिकेको देखिएको छ । 

‘कीर्ते हस्ताक्षर गर्न उनीहरुले रातिराति अभ्याससमेत गरेको अनुसन्धानमा देखिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।  प्रहरी नियन्त्रणमा रहेका अन्जन बराल आइतवार जनता बैंकको ग्वार्को शाखा पुगेका थिए । बरालले पहिले नै गोपालमानको हस्ताक्षर, फोटो र अन्य नक्कली कागजपत्र बनाएका थिए । गत आइतबार दिउँसो करिब १ बजेतिर बैक पुगेर उनले आफू गोपालमान भएको र आफ्नो चेक हराएको भन्दै नयाँ चेक बनाउन फारम भरेको अनुसन्धानबाट खुलेको छ । 

बैंकका कर्मचारीले मागेको आवश्यक कागजपत्र समेत उपलव्ध गराए । तर, बैंकका कर्मचारीले उनी गोपालमान हुन् वा होइनन् कुनै प्रमाणीकरण नै नगरीकन पैसा दिएको पाइएको छ । 

घटनाक्रम अनुसार बैंकका कर्मचारीको समेत मिलेमतो रहेको देखिन्छ ।  मान्छे एउटा र फोटो अर्को हुँदा समेत बैंकले केही नगरी पैसा दिएको देखिन्छ । यसबाट गिरोहसँग बैंकका कर्मचारी समेत मिलेको अनुमान गर्न सकिन्छ ।  यसबाट  बैंकको गल्ती स्पष्ट नै देखिन्छ । प्रहरीले  पनि बैंकका कर्मचारी माथि पनि अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ ।

 बैंकका कर्मचारीको मिलेमतो नभएको खण्डमा उनीहरुको हातमा नयाँ चेक कसरी हात प¥यो भन्ने प्रश्न पनि उठेको छ । जनता बैंक ग्लोबल आइएमइ बैंकसँग मिल्न लागेको बैंक हो । बैंकका कर्मचारीले नै त्यही चेकमा ९ लाख ९९ हजार रुपैयाँ भुक्तानी दिएका छन् । पैसा निकाल्न गिरोहका मान्छे पुग्दा समेत कुनै जानकारी दिएन ।  काटिएको चेक र पैसा पाउने व्यक्तिको नागरिकताको फोटोकपी बैंकमा दिएको देखिन्छ । यहाँ पनि बैंकका कर्मचारीले फोटोकपीको मानिस र पैसा झिक्ने व्यक्तिको अनुहार भिडाएको देखिएन । बैंकबाट रकम झिकियो । यसबाट बैंकका कर्मचारीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ । 

पैसा झिक्ने गिरोहले साँझको शाखा खोज्दै न्यूरोड गएको देखिन्छ ।  त्यहाँ मनिष श्रेष्ठ र सुवास श्रेष्ठले उसैगरी दुई पटक पाँच पाँच लाख रुपैयाँ झिकेका छन् ।  धेरै पटक पैसा झिक्दा शंका हुने भएकाले त्यस दिन उनीहरुले थप पैसा नझिकेको प्रहरीको भनाइ छ ।  गोपालमानको खातामा कूल २५ लाख रुपैयाँ थियो । त्यसमध्ये एक हजार कम २० लाख रुपैयाँ उनीहरुले निकालिसकेका थिए । 

गोपालमान आफै घरजग्गा व्यवसायी हुन् । सस्तोको जग्गा उठाएर महंगोमा बेच्ने धन्दामा थिए गोपालमान ।  पैसा झिकिएको सूचना आएपछि आइतवार राति नै गोपालमानले प्रहरीलाई जानकारी दिइसकेका थिए । तर किन प्रहरीले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन सकेन भन्ने प्रश्न उठेको छ । 

सूचना पाएको करिब एक दिन पछि मात्रै प्रहरी, बैंकका कर्मचारी सबैलाई अलर्ट गरिएको थियो । तर यत्रो घटना भइसक्दा समेत प्रहरीले तीन दिनसम्म घटना किन गुपचुप राख्यो भन्ने कुरा पनि सन्देहको घेरामा रहेको छ ।  प्रहरीका अनुसार सोमबार बिहान १ लाख ७० हजार रुपैयाँको चेक लिएर सुवास श्रेष्ठ फेरि बैंक पुगेको देखिछ । 

अलर्ट अवस्थामा रहेका बैंकका कर्मचारीले तत्कालै प्रहरीलाई खबर गरे । त्यसपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर त्यतिबेलासम्म अन्य बैंकबाट थप पैसा निकालिएको छ । यसबारे प्रहरीले किन जानकारी पाउन सकेन भन्ने प्रश्न गम्भीर रहेको छ ।  यसपछि प्रहरीले २१ वर्षीय अन्जन बरालको कोठामा छापा मारेको बताउँछ । तर त्यसअघि नै विभिन्न बैंकबाट पैसा निकालेको देखिन्छ ।

 उनको साथबाट ११ लाख रुपैयाँसँगै ८ सय ८० वटा विभिन्न व्यक्तिको नागरिकताको फोटो कपी, तीन सय जनाको पासपोर्ट साइजको फोटो, विभिन्न बैंकका चेक बुक र एटिएम कार्ड फेला परेको प्रहरीले जनाएको छ । यसबाट पैसा निकाल्ने व्यवसायिक गिरोह  नै सििक्रय रहेको संकेत मिल्छ । त,र प्रहरी यसबारेमा अनुसन्धान भइरहेको भनेर पन्छन  खोजेको छ । 

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। उनीहरु विरुद्ध बैंकिङ कसुरमा अदालतबाट समय थप गरी अनुसन्धान भइरहेको छ । बैंकका केही कर्मचारी पनि अनुसन्धानको घेरामा परेका छन् ।  प्रहरीका अनुसार काभ्रे पाँचखाल घर भएका २१ वर्षीय अन्जन कालिमाटीमा कोठा लिएर बस्ने गरेका थिए ।  उनले २० हजार रुपैयाँ तिरेर फ्याट नै भाडामा लिएका छन् । यसबाट संगठित गिरोह नै पैसा उठाउने धन्दामा लागेको देखिन्छ । 

प्रहरीको अनुसन्धानमा अन्जनले बैकबाट अरुको खाता प्रयोग गरेर चोरी गर्ने मात्र होइन, मोटरसाइकल समेत चोरी गर्ने गरेको देखिएको छ । उसले मोटरसाइकल समेत चोरी गर्ने गरेको भेटियो । चोरी गरेको मोटरसाइकल फिर्ता समेत गरिसकेका अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिए ।  

बरालले सोरुम तथा अनलाइनमा बिक्रीमा राखिएका बाइक टेस्ट ड्राइभ गर्ने भन्दै जाने र फरार हुने गरेको एक मोटरसाइलक व्यापारी बताउँछन् । बैंकिङ सुरक्षामा खेलबाड गर्नेमा एनआइसि एशिया, जनता बैंक, कुमारी बैंक, मुक्तिनाथ विकास बैंकलगायतका संस्था रहेका छन् । उनीहरुले कुनै पनि रुपमा बैंकिङ सुरक्षालाई ध्यान दिएका छैनन् । पटक पटक यस्तो समस्या आउँदा समेत नेपाल राष्ट्र बैंकले कुने पनि ध्यान दिएको छैन ।