अधिकांश वडा अध्यक्षमा नेकपाको वर्चश्व

४३ मध्ये ३९ स्थानको वडा अध्यक्षको परिणाम सार्वजनिक, नेकपा २२, काँग्रेस ११, राजपा र समाजवादी तीन–तीन स्थानमा विजयी

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, १० : २६
अधिकांश वडा अध्यक्षमा नेकपाको वर्चश्व

 काठमाडौं । उपचुनाव भएका अधिकांश वडा अध्यक्षमा नेकपाका उम्मेदवारहरुले जित निकालेका छन् । कतिपय वडामा पहिले आफुले जितेका वडा गुमाउन पुगेपनि नेकपाका अधिकाशं उम्मेदवारले वडा अध्यक्षमा बाजी मारेका छन् ।

३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भईसकेको छ । निर्वाचन आयोगका अनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल) का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् । अब, ४ वटा वडाको मात्र परिणाम आउन बाँकी छ । अन्तिम परिणाम सार्वजनिक नभईसकेपनि मतगणना भईरहेका कतिपय स्थानमा पनि नेकपाकै उम्म्मेदवारले अग्रता लिईरहेका छन् । वडा अध्यक्षका लागि विभिन्न नगरपालिका र गाँउपालिकामा गरी कुल ४३ स्थानमा उपचुनाव भएको थियो ।

कँहाको नतिजा कस्तो ?
– बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का मनराज बुढा विजयी भएका छन् । बुढाले ३६७ मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र चदारालाई २१ मतले पराजित गरेका हुन् । यो वडामा पहिले काँग्रेसले जितेको थियो । 

– दाङको घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका ताराबहादुर  डाँगी  विजयी भए । डाँगी एक हजार २२२ मत प्राप्त गरी विजयी भएका हुन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  सुरेशबहादुर केसी एक हजार ११७ मत प्राप्त गरी पराजित भए । यहाँ नेकपाकै वागी उम्मेदवारले पनि ७ सय ४ मत ल्याएका थिए । यो वडा पहिले एमालेले जितेको थियो ।

– सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएकी छिन् । मतगणना परिणामअनुसार  राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल  र समाजवादी पार्टीका साझा महिला उम्मेदवार प्रमिलादेवी यादवले ५४० मत ल्याएर विजयी भएकी हुन् । उनले प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवलाई ११ मतले पराजित गरेकी हुन् ।

– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को अध्यक्षका लागि भएको निर्वाचनमा नेकपाका केदारनाथ आचार्य विजयी भए । उनले नेपाली काँग्रेसका अशोक तामाङलाई पराजित गरेका हुन् । आचार्यले ७१२ र तामाङले ४३९ मत प्राप्त गरेका थिए । यस अगाडी काँग्रेसले जितेको थियो यो वडामा ।

– महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ को वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।  राजपाका रामबाबु नायक ३७५ मत ल्याई विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याएका थिए । 

– महोत्तरीकै बलवा नगरपालिकाको वडा नं २ को वडाध्यक्षमा  नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका विपिन पञ्जियार सुडी ४६१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याएका थिए । 

– अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा काँग्रेसका शोभाखर खनाल एक हजार १५९ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले एक हजार ५३ मत प्राप्त गरेका थिए ।

– रौतहटको गढीमाई नगरपालिका–२ मा भएको वडाध्यक्षको निर्वाचनमा काँग्रेसका दीपेन्द्र श्रेष्ठ ७७१ मत प्राप्त गरी विजयी भए ।  उनका प्रतिद्वन्द्वी नेकपाका जवार मियाले ५९६ मत प्राप्त गरे ।

– बनेपाको धुलिखेल नगरपालिका–२ मा नेकपाका देवप्रसाद कोइराला ८६७ मत प्राप्त गरी विजयी भए  प्रतिस्पर्धी नेपाली काँग्रेसका दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गरे । 

– गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ मा नेकपाका गिरीप्रसाद सिञ्जाली विजयी भए । सिञ्जालीले ८०२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धीले ७२७ मत प्राप्त गरेका थिए । 

– नवलपरासी पूर्व नवलपुरको  बौदीकाली गाउँपालिका–५ मा नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी भए । उनले कुल ३६७ मत प्राप्त गरे । उनका  प्रतिद्वन्द्वी काँग्रेसका तुलबहादुर रानाले २११ मत प्राप्त गरेका थिए । 

– सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेकपाका दिलीपकुमार यादव ८२५ मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका प्रदीपकुमार महतोले ६५४ मत प्राप्त गरे । यो वडामा पहिले काँग्रेसले जितेको थियो । 

– भोजपुरको पौवादुङमा गाउँपालिका–१  मा नेकपाका जीतेन्द्र राई काँग्रेसका सम्मरबहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी बने ।  राईले ६९१ मत प्राप्त गर्दा कार्कीले २५४ मत प्राप्त गरे । 

– बैतडीका तीन वडामध्ये दुई वडामा नेपाली काँगेस र एक वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयी भएको छ । दोगडाकेदार गाउँपालिका–४ मा काँग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौंडी गाउँपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा काँग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भए ।

– संखुवासभाको खाँदबारी नगरपालिका–३ मा नेकपाका  भरत घिमिरे विजयी भए । उनले ७९६ मत प्राप्त गरे । काँग्रेसका विक्रम गुरुङले ४६७ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस