चितवनमा बढारियो नेकपा, अन्तर्घात भयो कि अन्तर्कलह !

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, १० : ०७
चितवनमा बढारियो नेकपा, अन्तर्घात भयो कि अन्तर्कलह !

चितवन । चितवन जिल्लाको तीन वडामा भएको उपनिर्वाचनमा सत्तारुढ नेकपा बढारिएको छ । तीन वटा वडामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस विजयी भएको छ । यसअघि तत्कालीन नेकपा एमालेले जितेको भरतपुर १६ पनि कांग्रेसले खोसेको छ । 

आखिरी किन यस्तो परिणाम आयो ? नेकपा चितवनलाई तोरीको फूल देख्ने गरी तीन वटा वडा कांग्रेसले आफ्नो कव्जामा पारेको छ । कस्ता कारणले नेकपा पछारियो, आउनूस् केही विश्लेषण गरौँ ।

नेकपा पछारिनुको कारण खोतल्दा...

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि उपचुनाव भयो । भरतपुर महानगरको वडा नं १६ पनि चुनाव भयो । तत्कालीन माओवादी केन्द्र र एमाले एकीकरण नहुँदै यस अघिको स्थानीय चुनावमा खैरहनीको वडा ४ र ५ मा कांग्रेसले जितेको थियो । 

खैरहनीमा सजिलै जित्छौँ भन्नेमा नेकपा ढुक्क थियो, तर परिणाम उल्टो आयो । दबै पार्टी नमिल्दा कांग्रेसले जितेको ठाउँ त हो, तर मिलेपछि सजिलै नेकपाले जित्नपर्ने हो, तर परिणाम उल्टो आउँदा नेकपाभित्र कि अन्तर्घात भयो, कि अन्तर्कलह थियो भन्ने विषयले सजिलै जोकोहीको मनमा डेरा जमाउँछ । 

खैरहनी नगरपालिका वडा नं ४ मा बेदबहादुर अधिकारी र वडा नं ५ मा पुननारायण प्रधानलाई सर्वसम्मत रूपमा नेकपाले उम्मेदवार बनाएको थियो । कांग्रेसले खैरहनी नगरपालिका–४ मा देवबहादुर बस्नेत, वडा नं ५ मा प्रतिमा बस्नेतलाई उमेदवार बनाएको थियो । नेकपाका दुवै उमेदवार पछारिएको मत परिणामको विषयमा यतिबेला नेकपाभित्र तरङ्ग पैदा भएको छ । 

‘तत्कालीन एमाले र तत्कालीन माओवादीको मत जोड्दा सजिले जित्ने देखिन्छ, तर त्यो रुपमा मत आएन’ खैरहनीका नेकपाका एक कार्यकर्ताले भने, ‘नेकपा मतदाताहरु आफ्नो उमेदवारलाई हराउन आफैँ लागेको देखियो, नत्र यस्तो परिणाम आउने अवस्था नै छैन, यस विषयमा आन्तरिक छलफल गर्न बाँकी छ ।’  उनका अनुसार नेकपाको एकता तल्लो तहसम्म अझै हुन नसकेको यस परिणामले देखाउँछ । ती कार्यकर्ताले भने, ‘भित्री अन्तर्कलह, अन्तर्घात देखियो, नत्र कसरी पराजय भयौँ ? खोजी गरिनुपर्छ ।’

मतदाताको हिसाबकिताब (खैरहनी ४)

खैरहनी– ४ मा नेकपाबाट उम्मेदवार बनेका वेदबहादुर अधिकारी पूर्वएमाले हुन् । उनलाई पूर्व माओवादीहरुले भोट दिएनन्, जसका कारण उनले पराजय भोग्नुपर्ने अवस्था आयो भन्नेहरु पनि छन् । तर यस विषयमा नेकपाले मुख खोलेको छैन, पराजयपछि ऊ आन्तरिक बैठक बस्ने तयारी गरिरहेको छ ।

खैरहनी ४ मा कांग्रेसबाट विजयी बनेका देवबहादुर बस्नेत सोही वडाका पार्टी कार्यवाहक अध्यक्षसमेत हुन् । कांग्रेस कार्यकर्ता भने बस्नेतको इमान्दार उज्ज्वल छवीका कारण जित हात परेको बताउँछन् । 

अघिल्लो पटकको निर्वाचनमा कांग्रेस र एमालेको मतान्तर कम भएको र माओवादी केन्द्रको पनि मत राम्रै रहेका कारण यहाँको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिए पनि नेकपा जित हात पर्नेमा ढुक्क थियो, तर परिणाम उल्टो आउँदा भूमरीमा परेजस्तो भएका छ ।  

खैरहनी ४ मा ०७४ सालको स्थानीय चुनावमा कांग्रेसका नरेन्द्रनाथ अधिकारीले ७३५ मत ल्याएर जित्दा तत्कालिन एमालेका जगतबहादुर रानाले ६७१ र माओवादीका दलबहादुर बस्नेतले ३८६ मत ल्याएका थिए । यसअघिको चुनावमा तत्कालीन एमाले र माओवादीको मत जोड्दा पनि त्यतिबेला ११ सय २१ मत थियो । अहिले कांग्रेसका देवबहादुर बस्नेतले १ हजार १३८ मत ल्याएर विजयी भए । 

अहिले मतदाता बढ्दासमेत नेकपा उमेदवार वेदबहादुर अधिकारीले ९८६ मतमात्र ल्याए । तत्कालीन एमाले र माओवादीका मत कता गए ? नयाँ मतदाताका मत कता गए ? यसअघिको चुनावमा तत्कालीन माओवादी र नेकपाको मत पनि अहिलेका नेपकाका उमेदवारले जगतबहादुर रानाले पाएनन् ।

खैरहनी ४ मा ०७४ मा २ हजार ३ सय १५ मतदाता रहेकोमा हाल बढेर २ हजार ६९२ पुगेको थियो । यस वडामा मतदाता ३७७ जना थपिएका थिए । यो परिणामबारे नेकपा मौन छ, आन्तरिक बैठकबाट समस्याको चुरो खोतल्न खोजिरहेको छ । 

मतदाताको हिसाबकिताब (खैरहनी ५) 

खैरहनी वडा नं ५ मा कांग्रेसबाट प्रतिमा बस्नेत कार्की विजयी भएकी छन् । उनी यसअघि सोही वडाबाट निर्वाचित दिवंगत वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । नेकपाले यस वडामा पुननारायण प्रधानलाई उम्मेदवार बनाएको छ । प्रधान पूर्वमाओवादी केन्द्रका हुन् । यहाँ पनि प्रधान पराजय हुनुमा पूर्व एमालेले मत नदिएका हुन् कि भन्ने चर्चा सुरु भइसकेको छ । नेकपाको समस्या उही छ, टाउको मिल्यो, खुट्टा र मन मिल्न बाँकी छ । 

०७४ को निर्वाचनमा यस वडामा कांग्रेसका विश्वविजय वस्नेतले ६२७ मत ल्याएर विजयी बन्दा एमालेका जोगिराम चौधरीले ३९८ र माओवादीका लक्ष्मण सुवेदीले २७३ मत ल्याएका थिए । त्यतिबेलाको दुबैको मत जोड्दा ६७१ मत हुन आउँछ । अहिले प्रतिमाले ८४२ मत ल्याएर जितिन् ।

नेकपाका कार्यकर्ताहरु प्रतिमालाई समवेदनाको मत मिलेको पनि बताउँछन् । पुननारायण प्रधानले ७५६ मत ल्याए । यस वडामा ०७४ मा १ हजार ७८५ मतदाता रहेकोमा हाल बढेर २ हजार १११ पुगेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकाल बताउँछन् । 

एकातिर समवेदनाको मतले प्रतिमाले जितिन् भन्ने आंकलन भएको छ भने अर्कोतर्फ नेकपालाई केही आफ्नो भनिएका मतदाताबाट अन्तर्घात भएको आंकलन पनि यस वडामा भएको छ । 

मतदाताको हिसाबकिताब (भरतपुर १६)

नेकपालाई सबैभन्दा ठूलो ठक्कर भरतपुर १६ मा लागेको हो । यसअघि तत्कालीन एमालेले जितेको ठाउँ अहिले माओवादी र एमाले मिल्दा पनि पराजय भोग्नु भनेको त्यहाँ भन्दा बढी अर्को ठक्कर नेकपा चितवनलाई कुन होला ? यसमाथि अझ भनौ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रमा पराजय हुँदा मर्नु भएको छ नेकपालाई । 

भरतपुर–१६ मा कांग्रेसबाट उम्मेदवार बनेका अमृतराज हमाल विजयी भए ०७४ सालमा तत्कालीन एमाले उम्मेदवार चतुरमान गुरुङले जितेका थिए । उनको क्यान्सरबाट मृत्युपछि भएको उपचुनावमा हमालले जिते । यहाँ त नेकपाका हार्ने उम्मेदवार पनि हमाल नै हुन्, भक्तराज हमाल । ‘गत चुनावमा पराजित भएको कांग्रेस अहिले दुबै पार्टी मिल्दा पनि जित्न पाउँदा त्यहाँ भन्दाको खुसीयाली अन्त कहाँ होला ?’ एक कांग्रेस कार्यकर्ताले भने । 

कांग्रेसका हमालले ३०८ मतान्तरले जितेका हुन् नेकपाका हमाललाई । अमृतराजले तीन हजार १८३ मत प्राप्त गरे भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गरे । यसअघि चतुरमानले २ हजार १३२ मत ल्याएर जित्दा कांग्रेसका उम्मेदवारले दुई हजार ६८ मत ल्याएका थिए ।

माओवादी केन्द्रका पुडासैनीले ९ सय ८९ मत प्राप्त गरेका थिए । त्यतिबेला दुबैको मत जोड्दा पनि ३ हजार बढी हुन्छ । तर अहिले नेकपालाई ३०८ मतले कांग्रेसले जित्दा नेकपाभित्र तरङ्ग छाएको छ । 

नेकपाका जिल्ला नेता रामप्रसाद न्यौपानेले जिल्लाका निर्वाचन हुने तीनवटै वडामा नेकपाका उम्मेदवारहरुले जित्ने दावी त गरेका थिए, तर परिणामले धुलो चटाइदिएको छ । कांग्रेस खैरहनीको दुबै वडा जित्नेमा ढुक्क थियो, उसलाई भरतपुर १६ कव्जा गर्ने सकिन्छ कि सकिदैन भन्नेमा द्विविधा थियो, तर हात परेको छ । 

प्रतिक्रिया दिनुहोस