भरतपुर कारागार बिस्तारका लागि जग्गाको खोजी

प्रकाश सिग्देल

मंगलबार, १० मंसिर २०७६, १७ : ०२
भरतपुर कारागार बिस्तारका लागि जग्गाको खोजी

चितवन । भरतपुरमा रहेको भरतपुर कारागारको क्षमता बिस्तारका लागि जग्गाको खोजी भएको छ । 
धेरै कैदीबन्दीको रोजाई चितवन पर्ने र क्यान्सर लगायतका गम्भीर प्रकारका रोग लागेका कैदीबन्दीको उपचारका लागि पनि अन्यन्त्रबाट चितवन कारागारमा नै ल्याएर राख्नु पर्ने भएपछि कारागारमा अत्याधिक चाप बढेपछि यसको क्षमता बिस्तारका लागि जग्गाको खोजी गरिएको हो । 
कारागार ब्यवस्थापन र क्षमता बिस्तारका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट मन्त्री आफैले पनि इच्छा प्रकट गरेकाले जग्गाको खोजी कार्य समेत भइरहेको भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्लेले बताउनु भयो । चितवनको भरतपुर कारागारमा कैदीबन्दीको चाप अत्याधिक रहेको उहाँको भनाई छ ।  
छिमेकी जिल्ला नवलपुरमा कारागार नहुँदा त्यो जिल्लाको चाप पनि भरतपुर कारागारले थेग्नु परेको छ । २ सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले ७ सय ८० जना कैैदीबन्दी भरतपुर कारागारमा रहेको  कारागार प्रमुख काफ्लेले बताउनु भयो । चितवनमा नवलपुरसहित अन्य जिल्लाका कैदीबन्दीहरु पनि आउने र अन्य कारागारमा रहेका क्यान्सर लगायतका रोगका बिरामी समेत भरतपुर कारागारमा नै ल्याउने भएका कारण यहाँ चाप बढेको काफ्ले बताउनु हुन्छ । 
कारागारको चाप घटाउन निकै समस्या भएको बताउँदै उहाँले चाप बढी हुँदाहँुदै पनि ब्यवस्थापन भने प्रभावकारी बनाइएको उहाँको भनाई छ । कारागारमा ४ सयको हाराहारीमा कैदीबन्दी स्वरोगजार रहेकाले पनि ब्यवस्थापनमा सहज भएको उहाँको भनाई छ । कारागारमा ३० जना जति गलैँचा बुन्ने काममा ब्यस्त रहेका छन् भने करिब ३ सय ५० जना मुडा बुन्ने काममा ब्यस्त रहेको काफ्ले बताउनु हुन्छ । यसलाई बढाउँदै सुरक्षित र ब्यवस्थित बनाउन पनि आफु सक्रिय भएको काफ्लेले बताउनु भयो ।


अब नयाँ बन्ने कारागारमा १ हजार क्षमताको बिस्तार गर्नु पर्ने उहाँ बताउनु हुन्छ । त्यसका लागि करिब पाँच बिघा जमिन खोजी भइरहेको उहाँ बताउनु हुन्छ । हाल कारागार रहेको ठाउँमा एक बिघा १३ कठ्ठा जमिन छ । त्यसका लागि भरतपुर महानगरपालिकासँग समन्वय गर्ने काम पनि भइरहेको उहाँको भनाई छ । अस्पताल, अदालत, प्रशासन र सरकारी वकिलको कार्यालय आवतजावत गर्नुपर्ने भएकाले भरतपुरको शहरी क्षेत्रमा नै जग्गाको खोजी भइरहेको काफ्ले बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस