टिप्पणी

चितवनको उपनिर्वाचन : कसले मार्ला बाजी ?

सफल खबर संवाददाता

मंगलबार, १० मंसिर २०७६, १६ : ३१
चितवनको उपनिर्वाचन : कसले मार्ला बाजी ?

चितवन । यही मंसिर १४ गते चितवन जिल्लाको तीन वडामा उपनिर्वाचन हुँदैछ । खैरहनी नगरपालिकाको दुई वटा वडा ४ र ५ मा र भरतपुर महानगरपालिकाको वडा नं १६ मा उपनिर्वाचन हुन लागेको हो । 

चितवनको यी तीन वटा वडामा वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुन लागेको हो । खैरहनी ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको दुर्घटनामा निधन भएपछि यी दुई वडामा उपनिर्वाचन हुन लागेको हो ।

भरतपुर १६ का वडाध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगका कारण निधन भएको हो । चितवन जिल्लामा १५ वटा पद रिक्त रहे पनि तीन वटा वडाको वडाध्यक्षको लागि मात्र उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । 

प्रतिस्पर्धा नेकपा र कांग्रेसकै 

चितवनको उपनिर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । ठूला दल भनिएका सत्तारुढ पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

कांग्रेसलाई यसअघि गुमेको चितवनको साख फिर्ता ल्याउनु छ भने नेकपालाई यस अघि जोडिएको आफ्नो साखलाई जोगाइराख्नु छ । त्यसैले दुबै दल कडा रुपमा जनतासामु प्रस्तुत भएका छन् । चुनावी सभामा होमिएका छन् । 

पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नेकपाले भरतपुर १६ मा चुनावी सभा गरिसकेको छ भने नेपाली कांग्रेसले पनि युवा नेता गगनकुमार थापाको उपस्थितिमा खैरहनीमा चुनावी सभा गर्दैछ । 

कस्ता छन् उम्मेदवार ?

तीन वटा वडामा तिहारपछि चुनावी रौनक सुरु भएको हो । दलहरुले कोणसभा र घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल कांग्रेस उम्मेदवारसहित विकासका एजेण्डा लिएर चुनावमा होमिएका छन् । 
भरतपुर १६ मा नेकपाबाट भक्तराज हमाल उम्मेदवार रहेका छन् ।

मृदुभाषी, विकासप्रेमी हमाल वडावासीले रुचाएका नेकपाका पुराना नेता मानिन्छन् । हमाल स्थानीय विभिन्न संघसंगठनमा रहेर काम गरेका इमान्दार नेता पनि हुन् । नेपाली कांग्रेसले भरतपुर–१६ मा अमृतराज हमाललाई उम्मेदवार बनाएको छ । भरतपुर १६ मा दुबै हमालबीच प्रतिस्पर्धा हुँदैछ ।

भरतपुर १६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अमरबहादुर थापाले उम्मेदवारी दिएका छन् । उनीहरु पनि अनुभवी, विकासप्रेमी नेताको रुपमा चिनिन्छन् ।

नेकपाले खैरहनी नगरपालिका वडा नं ४ मा बेदबहादुर अधिकारी र वडा नं ५ मा पुननारायण प्रधानलाई उम्मेदवार बनाएको छ । नेकपाका दुबै उम्मेदवार पार्टीका सक्रिय कार्यकर्ता, इमान्दार र नयाँ भिजन भएका नेता रहेका जिल्ला अध्यक्ष यमबहादुर परियारले बताए । उनले तीन वटा वडामा नेकपाको जित सुनिश्चित रहेको दावीसमेत गरे । नेकपाले अध्यक्ष परियारको संयोजकत्वमा २५१ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

नेकपाको नेता तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला प्रचार–प्रसार समिति गठन गरेको छ । यस्तै सम्बन्धित वडामा समेत निर्वाचन परिचालन समिति गठन भएको छ । राष्ट्रियसभाकी सांसद पार्वती रावल संयोजक र अञ्जन तिमिल्सिना उपसंयोजक रहेको १५१ सदस्यीय भरतपुर–१६ निर्वाचन परिचालन कमिटि बनाइएको छ । 

त्यस्तै, खैरहनी नगरपालिका वडा नं ४ मा कमल पाठक संयोजक र रामेश्वर पोखरेल उपसंयोजक र सोही नगरपालिकाको वडा नं ५ मा जगन्नाथ आचार्य संयोजक र झगरु चौधरी उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । 

कांग्रेसले खैरहनी नगरपालिका–४ मा देवबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । उनी सोही वडाका निर्वाचित वडा सदस्य पनि हुन् । वडा नं ५ मा प्रतिमा कार्की बस्नेतलाई उम्मेदवार बनाएको छ । खैरहनी वडा नं ५ मा यसअघिका उम्मेदवार विश्वविजय बस्नेतकी श्रीमती प्रतिमालाई उम्मेदवार बनाएको छ । उनीले नेविसंघबाट राजनीति सुरु गरेकी थिइन् । कांग्रेसले उपनिर्वाचन हुने तीन वटा वडामा समितिहरु बनाएर निर्वाचनमा होमिएको जनाएको छ ।

खैरहनी ४ मा राप्रपाका अनोज अधिकारी, राप्रपा संयुक्तका सीताराम थापाले समेत उम्मेदवारी दिएका छन् । खैरहनी ५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका विकल महतो थारुले पनि उम्मेदवारी दिएका छन् । 
भरतपुर १६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादीका अमरबहादुर थापाले उम्मेदवारी दिएका छन् । 

कसले जित्ला  ?

तीन वटा वडामा नेकपा र कांग्रेसले आफूले जित्ने दावी गरेका छन् । खैरहनी नगरपालिकाको ४ र ५ नं वडा यसअघि नेपाली कांग्रेसका उम्मेदवारले जितेको वडा हो । कांग्रेसले उपनिर्वाचनमा आफूले जितेको खैरहनीको दुबै वडा र भरतपुर १६ सहित तीन वटा वडा जित्ने दावी गरेको छ । 

कांग्रेसलाई यसअघि आफूले जितेको खैरहनीका दुवै वडा जसरी पनि जित्नैपर्ने दबाब छ भने यसअघि तत्कालीन एमालेबाट जितेको वडा भरतपुर १६ जसरी पनि जित्नपर्ने नेकपालाई दबाब छ । तर दुबै दल तीन वटा वडा हत्याउने दाउमा छन् । 

चितवनको उपनिर्वाचनमा नेकपाले तीन वटा वडा नजिते उसलाई आगामी चुनावमा धक्का लाग्न सक्ने विश्लेषण भएको छ भने यसपटक पनि कांग्रेस पराजय भए आगामी चुनावमा उसलाई जित्न ठूलो सकस हुने देखिन्छ । त्यसकारण पनि दुबै दल चुनावी मैदानमा कडा रुपमा होमिएका छन् । तीन वटा वडामा उम्मेदवार अन्य दलहरुले पनि दिएका छन्, तर मतदाताका अनुसार प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच नै हुनेछ । 

खैरहनी– ४ मा कांग्रेसबाट उम्मेदवार बनेका देवबहादुर वस्नेत सोही वडाका पार्टी कार्यवाहक अध्यक्ष हुन् । नेकपाबाट उम्मेदवार बनेका बेदबहादुर अधिकारी पूर्वएमाले हुन् । अघिल्लो पटकको निर्वाचनमा कांग्रेस र एमालेको मतान्तर कम भएको र माओवादी केन्द्रको पनि मत राम्रै रहेका कारण यहाँको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

०७४ सालमा कांग्रेसका नरेन्द्रनाथ अधिकारीले ७३५ मत ल्याएर जित्दा तत्कालिन एमालेका जगतबहादुर रानाले ६७१ र माओवादीका दलबहादुर बस्नेतले ३८६ मत ल्याएका थिए । यस वडामा मतदाता ३७७ जना थपिएका छन् । 

खैरहनी– ५ मा ०७४ को निर्वाचनमा यस वडामा कांग्रेसका विश्वविजय वस्नेतले ६२७ मत ल्याएर विजयी बन्दा एमालेका जोगिराम चौधरीले ३९८ र माओवादीका लक्ष्मण सुवेदीले २७३ मत ल्याएका थिए । यस वडामा ०७४ मा १ हजार ७८५ मतदाता रहेकोमा हाल बढेर २ हजार १११ पुगेको छ ।

भरतपुर–१६ मा कांग्रेसबाट उम्मेदवार बनेका अमृतराज हमाल गत स्थानीय तहको निर्वाचनमा पनि पराजित उम्मेदवार हुन् । ०७४ सालमा तत्कालीन एमाले उम्मेदवार चतुरमान गुरुङले कांग्रेसका उम्मेदवार हमाललाई ६४ मतको झिनो अन्तरले पराजित गरेका थिए ।

चतुरमानले २ हजार १३२ मत ल्याएर जित्दा कांग्रेसका हमालले २ हजार ६८ मत ल्याए । माओवादी केन्द्रका कृष्ण पुडासैनीले ९ सय ८९ मत प्राप्त गरेका थिए । ०७४ सालमा यस वडामा कुल ७ हजार २५६ जना मतदाता रहेकोमा ५ हजार ७२३ मत खसेको थियो । हाल मतदाता संख्या बढेर ८ हजार ४८१ पुगेको छ ।

यस वडामा १ हजार २२५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । मतदाता मंसिर १४ गते मत हाल्नलाई आतुर छन् ।