नेत्रज्योति संघलाई महानगरले सहयोग गर्ने

सफल खबर संवाददाता

शनिबार, ०७ मंसिर २०७६, १६ : १३
नेत्रज्योति संघलाई महानगरले सहयोग गर्ने

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल नेत्रज्योति संघ चितवन शाखालाई आवश्यक सबैखाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २१ औ बार्षिक साधारण सभामा प्रमुख अतिथि रहनु भएकी मेयर दाहालले महानगरको स्रोत र साधनले भ्याएसम्म नेत्रज्येति संघलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भरतपुर ओरालोमा रहेको नेत्रज्योति संघको जग्गामा आँखा सम्बन्धी तालिम केन्द्र निर्माण र अस्पताल सन्चालनका लागि आवश्यक नयाँ जेनेरेटर खरिदका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । नेपाल नेत्रज्योति संघले भरतपुर ओरालोमा रहेको आँखा अस्पतालसंगै जोडिएको जग्गामा तालिम केन्द्र सन्चालनको लागि प्रक्रिया थालेको छ । जसका लागि आवश्यक आर्थिक सहयोग गर्ने दाहालले प्रतिवद्धता जनाउनु भएको हो । 
स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबाट आफुले गर्न सक्ने सहयोगका लागि आफु तयार रहेको उहाँको भनाई थियो । मेयर दाहालले आफुले जिल्लामा सक्रिय रहेका संघसंस्थासंग सहकार्य गरेर काम गर्न आफु तयार रहेको समेत बताउनु भयो ।


कार्यक्रममा प्रमुख अतिथि मेयर दाहालले नेत्रज्योति संघ चितवन शाखाका  संस्थापक उपसभापति श्रीनारायण पिया, सचिव प्रभातकुमार जोशी, सदस्य केएल भुषण, प्रेमकुमार श्रेष्ठ र कृष्णराज धरेललाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा सदस्य मिना खरेल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, लायन्स क्लब ३२५ बिटुका सेकेण्ड भाईस गभर्नर रामप्रसाद भट्ट, महानगरका प्रवक्ता अरुणपिडित भण्डारी, सेवा फाउण्डेसन नेपालका कार्यक्रम संयोजक रामप्रसाद कंडेल, प्रदेश ३ का सभापति ऋषिराम पौडेल, काँग्रेस चितवनका सचिव उत्तम जोशी, नेकपाका महानगर सचिव इश्वर सापकोटा सुमन लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संघका कोषाध्यक्ष तेजेन्द्रबहादुर खड्काले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । जिल्ला सभापति कृष्णराज धरेलको अध्यक्षतामा भएको कार्यक्रममा  उपसभापति जयराम श्रेष्ठले स्वागत मनत्व्य राख्नु भएको थियो ।  नेपाल नेत्रज्योति संघले ४२ जिल्लामा शाखा बिस्तार गरेको छ भने १९ वटा आँखा अस्पताल र ८४ प्राथमिक आँखा उपचार केन्द्र सन्चालन गरेको छ । नेत्रज्योति संघले भरतपुरमा निकै सुबिधायुक्त आँखा अस्पताल सन्चालन गरी निकै न्युन शुल्कमा आँखाको उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस