नवलपुर खण्डको वन क्षेत्रमा रुख छपानको काम धमाधम

रुख कटान सकिएलगतै बिद्युतका पोल सारिने

प्रकाश सिग्देल

विहीबार, ०५ मंसिर २०७६, १७ : १४
नवलपुर खण्डको वन क्षेत्रमा रुख छपानको काम धमाधम

नवलपुर । बुटवल नारायणगढ सडकखण्डमा पर्ने रुखहरुको छपानको काम धमाधम भइरहेको छ । सो सडकको पहिलो खण्डमा पर्ने नवलपुर जिल्लाको ६ वटा वन खण्डको ३० हजार ८ सय २५ वटा लाथ्रा र रुखमा धमाधम छपान गर्ने काम अर्थात नम्बर लगाउने काम भईरहेको डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ ।
पहिलो खण्ड नारायणीदेखि दाउन्ने विश्वकर्मा मन्दिरसम्म पर्र्छ भने करिब ३ किलोमिटर जति दोस्रो खण्डको क्षेत्र पनि नवलपुरभित्रै परेको छ । सडक आयोजनाले सडकको बिच भागबाट २५ मिटर दायाँ र २५ मिटर बायाँ गरेर रुखको गणना गर्दा नवलपुरमा ४० हजार २९३ रुख काट्नु पर्ने देखिएकोमा पछि क्षेत्र घटाएर दायाँ वन क्षेत्रमा २० मिटर र बायाँ वन क्षेत्रमा १५ मिटर बिस्तार गर्ने गरी गणना गर्दा ३० हजार ८२५ वटा लाथ्रा र रुख काट्नु पर्ने देखिएको र त्यही अनुरुपको मन्त्रालयबाट कटान अनुमति आएकाले अहिले धमाधम छपानको काम भएको डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत पूर्णेश्वर सुवेदीले जानकारी दिनु भयो । छपानको काम तिब्र गतिमा अगाडि बढेको र छपान सकिए लगत्तै आयोजनासंग सम्झौता गरेर कटान आदेश दिने उहाँको भनाई छ ।
थुम्सीदेखि मुकुुन्दपुर, लोकाहादेखि कावासोती, डण्डादेखि चोरमारा, चोरमारादेखि अरुणखोला, अरुणखोलादेखि दुम्कीवास र ढुम्कीवासबाट दाउन्नेसम्म ६ वटा वन क्षेत्रहरु यो खण्डमा रहेको छ । जसमा ७५.६५ हेक्टर वन क्षेत्र पर्ने सुवेदीले जानकारी दिनु भयो । आयोजनाले आवादी क्षेत्रमा २५÷२५ मिटर र वन क्षेत्रमा दायाँ २० मिटर र बायाँ वन क्षेत्रमा १५ मिटर सडक बिस्तार गर्ने जनाएको छ ।
पूर्वी नवलपरासीतर्फ सडक फराकिलो बनाउने काम कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैंडाकोटको थुम्सीबाट सुरु गरिएको छ । ११३ किलोमिटर सडक खण्डको काम दाउन्ने–गैंडाकोट खण्ड र बुटवल खण्ड गरी दुई समूहमा बाँडेर एकैचोटी काम सुरु गरिएको हो । जंगल क्षेत्र पर्ने थुम्सी, कावासोती, चोरामारा, अरुणखोला, दाउन्ने, सुनवल क्षेत्रमा सडक क्षेत्रमा पर्ने रुख कटानको कामका लागि रुखहरुमा नम्बर लगाउने कार्य भईरहेको हो ।
सडक निर्माणको जिम्मेवारी पाएको चाइनीज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन (सिएससिईसी)ले रुख छपान सकिए लगत्तै कटान गर्ने र कामलाई तिब्र रुपमा अगाडि बढाउने जनाएको छ । आयोजनाले अन्य प्राबिधिक कामहरु प्ुाल निमार्णका लागि माटो परिक्षण कल्भर्ट निर्माण वन क्षेत्र नभएको स्थानमा सतह मिलानको काम तिब्र रुपमा गरिरहेको छ ।
पहिलो खण्डको सडक आयोजना कार्यान्वयन कार्यालय गैंडाकोटका आयोजना प्रमुख सुजन अधिकारीले अब एक हप्तामा रुख कटानको काम सुरु गर्ने र त्यस लगत्तै बिद्युतको पोलहरु पनि सार्ने बताउनु भयो । जंगल क्षेत्रमा हाई भोल्टेजको प्रसारण लाईन पनि पर्ने भएकाले त्यसलाई पनि क्रमिक रुपमा सार्दै जाने सहमति भएको र बिद्युतका पोलका कारण काममा अवरोध सृजना नहुने उहाँको भनाई छ ।
नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग पनि यो सडक क्षेत्रका बिद्युतको लाईनको बिषयमा छलफल भएको र उहाँ निकै सकारात्मक रहनु भएको अधिकारी बताउनु हुन्छ । रुख कटान भएलगत्तै पोल सार्ने काम तत्काल सुरु हुने अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस