दुई करोड लगानीमा खुल्यो प्राकृतिक चिकित्सालय

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, १६ : ००
दुई करोड लगानीमा खुल्यो प्राकृतिक चिकित्सालय

चितवन । मेडिकल सिटीको रुपमा विकास भइरहेको चितवनको भरतपुर महानगरपालिकामा अर्को थप प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका वडा नं ४ मा दुई करोड लगानीमा प्राकृतिक चिकित्सालय नेट फ्रेस हस्पिटल प्रालि सञ्चालनमा ल्याइएको हो । 

नेट फ्रेस हस्पिटल प्रालिले आज पत्रकार सम्मेलन गरी तीन बिघा जमिनमा अत्याधुनिक मेशिनबाट शुद्ध प्राकृतिक पद्धतिद्वारा उपचार गरिने जनाएको छ । पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष गोविन्द हुमागाईंले भन्नुभयो, 
‘नेट फ्रेस हस्पिटलमा रासायनिक, प्रतिजैविक चिरफार र विषादीको प्रयोगबिना प्राकृतिक वस्तु र साधनहरुको सदुपयोग गरी उपचार गरिन्छ ।’

उहाँले केही वर्षपछि १३ बिघा जमिन लिएर प्राकृतिक चिकित्साको कलेज स्थापना गर्ने उद्देश्यले प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याइएको बताउनुभयो । 

११ जना संस्थापक समिति रहेको यस प्राकृतिक चिकित्सालयले प्राकृतिक तथा अर्गानिक आहार केन्द्रको समेत स्थापना गरिने उद्देश्य लिएको अध्यक्ष हुमागाईंले जानकारी दिनुभयो । उहाँले नेट फ्रेस हस्पिटलमा नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट प्राकृतिक उपचार पद्धति अपनाइने दावी गर्नुभयो । 

केके छन् सेवा ?

नेट फ्रेस हस्पिटलमा प्राकृतिक आहारसहितको अन्तरंग सेवा सञ्चालन गरिरहेको छ । यसबाहेक विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण तथा परामर्शको सेवा, अकुपंचर, अकुप्रेसर सेवा, फिजियोथेरापी÷रिह्याविलिटेसन सेवा, मसाज थेरापी, मड थेरापी, योग, यौगिक क्रिया तथा मनोपरामर्श सेवा पनि हस्पिटलले सञ्चालनमा ल्याएको छ । 

‘प्राकृतिक वस्तु र साधनहरुको सदुपयोग गरी दीर्घरोग सुगर, प्रेसर, दमलगायतका रोगको उपचार गरिन्छ’ हस्पिटलका डा अमित शाहनीले भन्नुभयो, ‘उपचार पद्धतिमा आफ्नै ठाउँमा भएका जडिबुटीको प्रयोग गरी  नमुना प्राकृतिक चिकित्सालय बनाउने अभियानमा हामी जुटेका छौँ ।’

कुनकुन रोगको हुन्छ उपचार ?

नेट फ्रेस हस्पिटलमा ढाड, कम्मर, गर्धन दुख्ने, युरिड एसिड, बाथ, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिसको उपचार हुने डा भगवानचन्द्र ज्ञवाली बताउनुहुन्छ । जडिबुटीको प्रयोग गरी पिनास, टाउको दुख्ने, माइग्रेसन, एलर्जी दम, मानसिक तनाव, पायल्स, ग्यास्ट्रिक, अल्सर, पुराना तथा दीर्घ रोगहरुको उपचार पनि नेट फ्रेस हस्पिटलमा हुने डा ज्ञवाली बताउनुहुन्छ ।

१४७ वटा जडिबुटी हस्पिटलले उत्पादन गरिरहेको छ । माटो, पानी र जडिबुटीको प्रयोग गरी हस्पिटलले उपचार पद्धति अँगाल्ने डा सग्राम पुरी बताउनुहुन्छ । अन्य प्राकृतिक चिकित्सालयको तुलनामा सस्तो सर्भसुलभमा उपचार गरिने हस्पिटलले दावी गरेको छ । 

हस्पिटलमा हाल ३ जना प्राकृतिक चिकित्सक छन् । १० बेडको उक्त हस्पिटलमा २१ जनालाई रोजगार दिइएको छ । 

प्रतिक्रिया दिनुहोस