समाजसेवामा रोटरी इन्टरनेशनलको भूमिका महत्वपूर्ण : मन्त्री ज्ञवाली

रासस

मंगलबार, ०३ मंसिर २०७६, २० : ३४
समाजसेवामा रोटरी इन्टरनेशनलको भूमिका महत्वपूर्ण : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजसेवामा रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले आज यहाँ आयोजना गरेको कुटनीतिक नियोगका प्रमुखको छलफलमा उहाँले रोटरी इन्टरनेशनलले सरकार र निजी क्षेत्रको आँखा नपुगेको ठाउँमा सामाजिक संस्थाको रुपमा काम गरेको उल्लेख गर्नुभयो । 

 “विद्यालय, अस्पताल, भूकम्पपछिको पुनःनिर्माण, ब्लड बैंक स्थापनालगायत क्षेत्रमा काम गरेको छ,” उहाँले भन्नुभयो । रोटरी इन्टरनेशनललाई नेपालमा काम गर्ने वातावरण सरकारले तयार गर्ने मन्त्री ज्ञवालीको भनाइ थियो ।  विभिन्न देशका राजदूत स्वयं रोटरीमा आवद्ध भएका कारण पनि रोटरीमार्फत राजदूतावासबाट नेपालमा धेरै काम भएको उहाँले उल्लेख गर्नुभयो । 

 डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले नेपालको विकासका लागि रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले रोटरी इन्टरनेशनलले भूकम्पले क्षति पु¥याएको २७ विद्यालय पुनःनिर्माण गरेको बताउनुभयो । नेपाल सरकारका पूर्वमुख्यसचिव रोटरीयन तीर्थमान शाक्यले विश्वभर ३५ हजार ८९३ क्लबमा झण्डै १२ लाख रोटरीयन आवद्ध रहेको उल्लेख गर्नुभयो । रोटरी इन्टरनेशनलले ट्राफिक जनचेतना, सडक सुरक्षा, बालबालिकाको स्वास्थ्यलगायतका क्षेत्रमा समेत काम गरेको उहाँको भनाइ छ । 

नेपाल सरकारका पूर्वसचिव रोटरीयन केदारभक्त श्रेष्ठले रोटरी इन्टरनेशनलले दिगो विकासको लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । नेपालमा सन् १९५९ देखि रोटरी इन्टरनेशनलले शाखा स्थापना गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस