भारतको वेश्यालयबाट ४ नाबालिग सहित सात किशोरीको उद्धार

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १० : १७
भारतको वेश्यालयबाट ४ नाबालिग सहित सात किशोरीको उद्धार

काठमाडौं । आसामको सिल्चारस्थित लेन १४ नामबाट चिनिने  एक कुख्यात वेश्यालयबाट ४ नाबालिग सहित सात नेपालीको उद्धार गरिएको छ । यही वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दार गरिएकी नेपाली किशोरीको मद्दतले अन्य सातजनाको उद्दार गर्न सकेको हो । महिलाहरुको क्षेत्रमा काम गर्दै आएको शक्ति समूहको नेतृत्वमा ती युवतीहरुको उद्धार भएको हो । शक्ति समूह गत आइतबार कछार पुलिससहित सिल्चार पुगेको थियो र सोमबार बेलुकी अभियान चलाएको थियो ।

‘उद्दार गरिएका सातजना मध्ये चारजना नाबालिग थिए भने अन्य तीनजना २० वर्ष मुनिका थिए,’ शक्ति समूहका कानूनी तथा प्रशिक्षण सल्लाहकार दिपिल कोइरालाले जानकारी दिए । दिलिपले नर्थइस्ट नाउसँगको कुराकानीमा भने, ‘जुलाई १४ तारिखमा एक किशोरीको उद्धार गरिएपछि यो वेश्यालयमा छट्पटाइरहेका उनीहरुलाई उद्धार गर्न सम्भव भएको हो ।’ कोइरालाले थपे, ‘उनीहरुलाई वेश्यावृत्तिमा धकेल्ने नेपाली महिला लक्ष्मी तामाङलाई पनि पक्राउ गरिएको छ ।’

‘यी सबै सातजना मध्ये कतिलाई राम्रो काम दिलाउने प्रलोभन देखाइएको थियो भने कतिलाई राम्रो श्रीमान पाउने आशा दिलाइएको थियो,’ कोइरालाले जानकारी दिए । उनले यसबारे दूतावासमा जानकारी दिइसकेको र मंगलबार सिल्चार अदालतमा एकपटक पेश गराएपछि उनीहरुलाई नेपाल फिर्ता लैजाने पनि उनले जानकारी दिए ।
सन् १९९६ मा मुम्बईस्थित थुप्रै वेश्यालयबाट उद्दार गरिएको १ सय २८ महिलामध्ये १५ जना महिलाले शक्ति समूहको स्थापना गरेको उनले बताए । सिल्चारमा मात्रै नभई भारतका विभिन्न स्थानमा यस्ता अभियान बारम्बार गरिँदै आएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस