नेपाल दरै उत्थान समाजको केन्द्रीय भवन भरतपुरमा उद्घाटन

सफल खबर संवाददाता

आइतबार, ०१ मंसिर २०७६, १८ : ०९
नेपाल दरै उत्थान समाजको केन्द्रीय भवन भरतपुरमा उद्घाटन

चितवन । चितवनको भरतपुरमा निर्माण गरिएको नेपाल दरै उत्थान समाजको केन्द्रीय भवन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका २३ मा निर्माण भएको भवनको एक कार्यक्रमकाबीच नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सदस्य सचिव गोविन्दलाल माझीले उद्घाटन गरेका हुन् । 

भवन निर्माणको लागि जगतपुरका दुई जना दाजुभाई राम दराइ र लक्ष्मण दराईले १०, १० धुर गरी एक कठ्ठा जग्गा दान गरेका थिए । सोही जग्गामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६ लाख र अन्य दाताहरुको सहयोग गरी निर्माण भएको समाजले जनाएको छ । भवन २ बर्षमा निर्माण सम्पन्न गरेको जनाइएको छ । 

दरै समुदायको हक अधिकार, सामाजीक सांस्कृतिक विषयका क्षेत्रमा काम गर्दै आएको समाजका लागि केन्द्रीय भवन बन्नु निकै महत्वपूर्ण भएको प्रतिष्ठान सदस्य सचिव गोविन्दलाल माझीले बताए । उनले आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिइरहने बताए ।
 
समाजका केन्द्रीय अध्यक्ष मंगलराम दराईले संस्ण्थाको भवनले कानुनी मान्यता प्राप्त गरेको र सबैको साथ र सहयोगले निर्माण सम्पन्न भएको भन्दै आगामी दिनमा समिति र सम्पूर्णको साथमा संगठनलाई अझ सशक्त भएर लैजाने प्रतिबद्धता जनाए । कार्यक्रममा भवन निमार्णका लागि जग्गा दान गर्ने रामु दराइ र लक्ष्मण दराइ दाजुभाइका दम्पतीलाई सम्मान गरीएको थियो ।
 

प्रतिक्रिया दिनुहोस