समाजवादी बैठक आजबाट : सरकारमा रहिरहने कि बाहिरिने ?

राजपा संगको पार्टी एकीकरण के गर्ने भन्ने विषयमा छलफल हुदैं

सफल खबर संवाददाता

विहीबार, २८ कार्तिक २०७६, १० : ५४
समाजवादी बैठक आजबाट : सरकारमा रहिरहने कि बाहिरिने ?

काठमाडौं । सरकार छोडन तिव्र दबाबमा परेको संघीय समाजवादी पार्टीको संघीय परिषद बैठक आजवाट काठमाडौंमा शुरु हुदैछ । संघीय समाजवादी र नयाँ शक्ति पार्टी बिच एकता पछि यो पार्टीको पहिलोपटक संघीय परिषद्को बैठक बस्न लागेको हो । समाजवादीको संघीय परिषद् बैठक लगत्तै केन्द्रिय समितिको पनि बैठक बस्दैछ । समाजवादीको यो बैठकलाई अहिले निक्कै महत्वका साथ राजनीतिक वृत्तमा हेरिएको छ । यसका प्रमुख दुई कारण छन् – समाजवादीले यो बैठकवाट महत्वपूर्ण दुई निर्णय गर्ने अपेक्षाका साथ सबैको चासो परेको हो । पहिलो, नेकपा नेतृत्वको अहिलेको सरकारमा रहिरहने वा बाहिरिने । दोश्रो, मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा) सँगको पार्टी एकीकरण गर्ने या नगर्ने ।
यी दुई महत्वपूर्ण निर्णय गर्न समाजवादीलाई पार्टी भित्र र बाहिर पनि निक्कै बढी दबाब छ । उसले पार्टी बैठकको एजेण्डामा पनि यो विषयलाई प्रमुख एजेण्डा बनाएको छ । लिखित राजनीतिक प्रतिवेदनकै आधारमा नेताहरुले बैठकमा छलफल केन्द्रीत गर्न खोजेका कारण पनि समाजवादीको संघीय परिषद र केन्द्रीय समितिको बैठक सरकारमा रहेको दल नेकपा देखि सरकार बाहिर रहेको राजपा सम्मलाई चासोको विषय वनेको छ ।
संघीय परिषद् बैठकमा सहभागी हुनका लागि करिब १ हजार नेता कार्यकर्ता अहिले काठमाडौंमा छन् । बहुराष्ट्रिय राज्यको मान्यता अनुरूप संघीय शासन, राष्ट्रिय पहिचान, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व, भाषिक समानता र सामाजिक विभेदबाट मुक्ति हासिल भइनसकेकाले क्रान्ति गर्नुपर्ने बताउँदै आएको समाजवादीमा सरकारमा सहभागिता विषयमा दुई थरी मत छ ।
उपेन्द्र यादव सकभर सरकार नछोड्ने मनस्थितीमा छन भने डा. बाबुराम भट्टराई सरकार छोडनुपर्ने पक्षमा छन् । यी दुई थरी नेताहरुको आ–आफ्नै स्वार्थ टकरावका कारण पनि समाजवादीको यो बैठक रस्साकस्सीका वीचमा चल्ने अनुमान लगाईएको छ । कतिपय नेताहरुले बैठकपछि पार्टीले सरकार छाड्ने र संविधान संशोधन सहितका राजनीतिक मुद्दा लिएर जनता बिच जाने बताउदैं आईरहेका छन् । 
राजपाले पार्टी एकताका लागि समाजवादी पार्टीले पहिले सरकार छोडनुपर्ने सर्त अगाडी सारिरहेको छ । उसले पार्टी एकता गरेर मधेसमा ओझेलमा परिसकेका मुद्दाहरूलाई ब्युँताएर राजनीतिक शक्ति आर्जन गर्ने र त्यसको बलमा अर्को चुनावमा वैकल्पिक शक्ति बन्ने मुख्य ध्येयका साथ दुई पार्टी एकीकरण आवश्यक रहेको तर्क गरिरहेका छन् । बैठकमा भट्टराईले समग्र राजनीतिक परिस्थिति र पार्टीको यसअघि घोषित सिद्धान्तलाई थप व्याख्या सहित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
सरकार छोडने विषयमा सरकारमा सहभागी हुदा भएको सहमति अनुसार संविधान संसोधनका लागि निश्चित समय दिएर सरकारलाई अल्टिमेटम दिएर जाने की सिधै छोड्ने भन्नेमा पनि समाजवादी भित्र दुई थरी मत देखिएको छ । पार्टीभित्र सरकारमा रहने भन्दा पनि बाहिरिनेहरुको जनमत बढदो छ । यादव अहिले सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । सरकारमै रहेपनि नेकपाले आफनो पार्टीलाई प्रतिपक्षको जस्तो ब्यवहार गरेको, सरकारमा सहभागी हुदाको सहमति अनुसार संविधान संसोधनका लागि कार्यदल बनाउन समेत अनिच्छा देखाएको जस्ता कारणले यादव माथि सरकारवाट बाहिरिनुपर्ने चर्काे दबाव छ । दबावका बिच उपेन्द्र यादव कुन निर्णयमा पुग्छन भन्ने सवैको चासोको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस