कालापानी क्षेत्रमा नेपालको सुरक्षा शून्य

पत्रपत्रिकाबाट

मंगलबार, २६ कार्तिक २०७६, ०७ : ०७
कालापानी क्षेत्रमा नेपालको  सुरक्षा शून्य

दार्चुला । भारतले कालापानी क्षेत्रमा सुरक्षा बढाइरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने शून्य छ। नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले हालै जारी गरेको नयाँ नक्साअनुसार नेपाल-भारत सीमा वारिपारि कौवा र गुञ्जी क्षेत्र पर्छ । नेपालतर्फको ठाउँ कौवा हो भने भारततर्फको गुञ्जी। कौवाबाट कालापानी नौ किलोमिटर उत्तरमा पर्छ । यी दुई विन्दुबीच भारतका आधा दर्जन सुरक्षा अंग छन्।

नेपालतर्फ भने कौवाबाट १० किलोमिटर वर गागामा सीतापुल चौकी छ । चीनसितको रणनीतिक क्षेत्रसमेत भएकाले भारतले भने ती ठाउँमा सुरक्षा निकायहरूको उपस्थिति बढाउँदै लगेको छ ।

त्यस क्षेत्रमा भारतीय सेना, सीमा सुरक्षा बल, भारतीय बोर्डर पुलिसलगायत सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन्। कालापानी क्षेत्रमा आफ्ना सैनिक राखेदेखि नै भारतीय पक्षले नेपालीलाई आवतजावतमा अवरोध गर्दै आएको छ । यो नाकाबाट भारत-चीन व्यापार सुरु भएदेखि नेपालीलाई असहज भएको हो ।

पञ्चायतकालमा सदरमुकाम खलंगाबाट तिंकर नाकासम्म झन्डै एक सय २५ किलोमिटर घोरेटो बाटो बनेको थियो । यो बाटो बनेपछि व्यास क्षेत्र जान सहज भएकाले नेपाली र भारतीय नागरिक नेपालकै घोरेटो बाटो हुँदै व्यास क्षेत्रमा बर्सेनि कुञ्चा (बसाइँसराइ) गर्थे ।

सशस्त्र द्वन्द्वकालमा नेपाली सुरक्षाकर्मी व्यास क्षेत्रमा जान सकेनन् । द्वन्द्व सकिएपछि घोरेटो बाटो बिग्रिएको भन्दै राज्यले उक्त क्षेत्रमा आफ्नो उपस्थिति नदेखाएको स्थानीय बिरु तिङ्करीले बताए। उनले भने, ‘नेपाल प्रहरीका दुई युनिट व्यास क्षेत्रमा भए तापनि त्यहाँ ६ महिना मात्र प्रहरीको उपस्थिति हुने गरेको छ। हिमाली ठाउँमा जाडोले बस्न नसकेर नेपाल प्रहरीका दुवै अस्थायी पोस्ट जिल्ला सदरमुकाम झर्छन्।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस