अतिक्रमणको विरूद्ध उन्मुक्त पुस्ताद्वारा देशव्यापी सडक साहित्य आन्दाेलन सुरू, भृकुटीमण्डपमा सुरक्षाकर्मीकाे अवराेध

सफल खबर संवाददाता

आइतबार, २४ कार्तिक २०७६, १३ : ०७
अतिक्रमणको विरूद्ध उन्मुक्त पुस्ताद्वारा देशव्यापी सडक साहित्य आन्दाेलन सुरू, भृकुटीमण्डपमा सुरक्षाकर्मीकाे अवराेध

काठमाडाैं । भारतले सार्वजनिक गरेकाे नयाँ नक्सामा नेपालकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको विराेधमा उन्मुक्त पुस्ताका कविहरूले देशव्यापी रूपमा सडक साहित्य आन्दोलनको सुरूवात गरेका छन् । 

नेपालका भूभागहरूलाई समेटेर भारतले आफ्नाे नयाँ नक्सा सार्वजनिक गरेपछि उन्मुक्त पुस्ताले सडक कविता वाचन र पाेष्टरमा कविता लगायतका कार्यक्रमहरू सुरू गरेकाे हाे ।

भारतीय अतिक्रमणकाे विराेधमा सडक साहित्य आन्दोलन अन्तर्गत कविहरूले आइतबार काठमाडौंकाे भृकुटीमण्डपमा कविताहरू सुनाए । कवितामार्फत् कविहरूले राष्ट्रिय स्वाधीनता र स्वाभिमानकाे पक्षमा आवाज बुलन्द गरेका थिए ।

भृकुटीमण्डपकाे कार्यक्रममा बाेल्दै निबन्धकार राेशन शेरचनले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा आफू जहिले पनि साथै रहेको बताए । कार्यक्रममा कविहरू केशव सिलवाल, प्रकाश गुरागाईं, खेम आचार्य, प्रेमिला राई, अशोक कुँवर 'नेत्र', मिसन अधिकारी, मुक्तान थेबा, माधव घिमिरे 'अटल' लगायत एक दर्जनभन्दा बढी स्रष्टाहरूले आआफ्ना सिर्जना सुनाएका थिए ।

सुरक्षाकर्मीको चर्को अवरोधबीच आयोजित सडक कविता वाचन कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । सुरक्षाकर्मीले भृकुटीमण्डपमा पोष्टर टाँस्न र कार्यक्रम सञ्चालनमा अवरोध गरेको थियाे । 

बाह्य हस्तक्षेप विरुद्ध आवाज उठाउन लाग्दा आन्तरिक हस्तक्षेपविरुद्ध पनि लड्नुपर्ने विडम्बनापूर्ण स्थिति आएकाे भन्दै उन्मुक्त पुस्ताले सुरक्षाकर्मीहरूकाे अवराेधप्रति खेद प्रकट गरेकाे छ ।

नेपाली भूभाग अतिक्रमणको विराेधमा भारतीय राजदूतावास अघि सिर्जना वाचन गरी थालनी भएको कार्यक्रमको दोस्रो दिन शान्तिवाटिकामा सम्पन्न भएको थियो भने आइतबार अपराह्न ४:०० बजे पाटनको मङ्गलबजारमा हुने तय भएको छ । 

त्यस्तै उन्मुक्त पुस्ताकै अगुवाइमा खोटाङ र हेटौंडापछि  पोखरामा भव्य रुपमा कार्यक्रम  सम्पन्न भएकाे छ । पोखराको सिर्जनाचोकमा आयोजित कार्यक्रममा स्रष्टाहरुले हस्तक्षेपविरुद्ध रचना वाचन, गायन र नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस