घाउखटिरा नभएको मान्छे भेटाउनै मुस्किल

सफल खबर संवाददाता

शनिबार, २३ कार्तिक २०७६, १४ : ४१
घाउखटिरा नभएको मान्छे भेटाउनै मुस्किल

नवलपुर । गैंडाकोट वडा नम्वर ३ को भुजेल गाउँमा पिलोको महामारी नै सृजना हुने अवस्था आएको छ ।
खानेपानीको अभाव र फोहोर पानी भएकै कारण यहाँका मानिसहरु हरेक वर्ष विभिन्न प्रकारका सरुवा जन्य रोगहरुको महामारी सहन वाध्य छन् । मौषम परिवर्तनसगैं यहाँका स्थानीयहरुमा छालाको रोग बढि देखा पर्न थालेको गैडाकोट ३ ढोडेनीमा रहेकोे शहरी स्वास्थ्य केन्द्रका अ.हे.व कमला देवी तिवारीले बताउनुभयो ।
छालाको रोगमा पनि सबैभन्दा बढि पिलोको समस्या देखा परेको तिवारीको भनाई छ । पिलो घर परिवारका सदस्यहरुमा पालो गरी गरी आउने र घाउखटिरा नभएको मान्छे नै गाउँमा नभएको तिवारी बताउनु हुन्छ । सरसफाईमा उचित ख्याल नर्गदा लाग्ने यो सरुवा प्रकारको रोग जटिल रोग नभएपनि पिलोलाई मानिसहरुले एकदमै अप्ठ्यारो रोगको रुपमा लिने गरेका छन् । पिलो प्रायः मानिसको शरिरको अप्ठ्यारो अंग काखी, आखाँ, ढाड, कम्मर, पिठ्यु, हात, घाटीमा यो आउने गर्दछ ।
भुजेल गाउँका साना बालबालिकादेखि युवा, वयस्क मानिसहरुमा पनि पिलो देखा पर्न थालेको तिवारीले बताउनुभयो । गैंडाकोट ३ मा रहेको शहरी स्वास्थ्य केन्द्रको अ.हे.व तिवारीले गाँउमा देखा परेको पिलो समस्या नियन्त्रणको लागि जनचेतना मुलक कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताउनुभयो । स्वास्थ्य शिक्षाको कमी, सरसफाईको कमी र दुषित पानीको प्रयोगले गर्दा रोग लागेको उहाँ बताउनु हुन्छ । रोग लागे पनि रोकथामको लागि मानिसहरु स्वास्थ्य केन्द्रमा नआउने तिवारीको भनाई छ । यहाँका मानिसमा चेतनाको कमिका कारण पनि स्वास्थ्य संस्थामा जानु भन्दा त्यसै समस्या लुकाएर राख्ने बानि परेको बताउँदै आफु सो क्षेत्रका मानिसको स्वास्थ्यप्रतिको चेतना जगाउन हरेक समय सक्रिय भएर लागेको उहाँको भनाई छ । उहाँले यस्तो समस्या समाधानका लागि नगर स्वास्थ्य शाखाले विशेष ध्यान दिनु पर्ने समेत बताउनुभयो ।
भुजेल गाँउमा खानेपानीको लागि राम्रो व्यवस्था नभएकै कारण यहाँका बासिन्दाहरु दुषित पानी पिउन वाध्य छन् । दुषित पानीको प्रयोगले पनि विभिन्न प्रकारको छाला सम्बन्धी रोग लाग्ने गर्दछ । मानिसहरु अन्य सामान्य पुर्वाधारबाट समेत वञ्चित छन् । दैनिक गुजारा चलाउन डोको बुनेर बिक्री गर्नु पर्ने वाध्यतामा छन् ।
गैंडाकोट  नगरपालिका ३ का अध्यक्ष शिवकान्त तिवारीले नगर स्वास्थ्यसँग मिलेर बेलाबेलामा विभिन्न खालका शिविर चलाउने काम वडाले गरेको र कहिले काहि प्रकोपको अवस्था सिर्जना भएमा त्यसलाई नियन्त्रणका लागि विशेष कार्यक्रम गर्ने गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस