गैंडाकोट बुटवल सडकखण्डको ५० हजार रुख काटिने

वन मन्त्रालयले दियो अनुमति, अब कामले गति लिने

प्रकाश सिग्देल

बुधबार, २० कार्तिक २०७६, १६ : ४६
गैंडाकोट बुटवल सडकखण्डको ५० हजार रुख काटिने

गैंडाकोट । गैंडाकोट बुटवल सडक बिस्तारको काम अब तिब्र गतिमा अगाडि बढ्ने भएको छ । वन मन्त्रालयले रुख काट्न अनुमति दिएसंगै अब काम अगाडि बढ्ने भएको हो ।
यसअघिको वातावरणीय प्रभाव मुल्याकंन रिपोर्टमा ९ हजारमात्रै रुख काटे हुने भन्ने रिपोर्ट मन्त्रालयमा पेश भएको  र पछि पुन सर्वे गर्दा ५० हजार रुख काट्नु पर्ने देखिएपछि सडक बिस्तारको काममा समस्या भएको निमार्ण कम्पनीले जनाएको थियो ।
पछिल्लो सर्वेको रिपोर्टलाई आधार मानी ५० हजार रुख काट्न अनुमतिका लागि मन्त्रालयमा पेश भएको फाईल सदर भएपछि अब सडक निमार्णको लागि बाटो सहज बनेको आयोजना कार्यान्वयन कार्यालयका अधिकारीहरुले जनाएका छन् । मन्त्रालयले हिजो मंगलबार सडक निमार्णका लागि काट्नु पर्ने ५० हजार रुख काट्ने अनुमति दिएको योजना कार्यान्वयन कार्यालय गैडाकोटका प्रमुख सुजन अधिकारीले बताउनु भयो ।
केही महिनादेखिको आफुहरुको अथक मेहनत र प्रयासले मन्त्रालयबाट ५० हजार रुख कटान गर्न पाउने अनुमति पाएकाले अब काम धमाधम अगाडि बढ्ने उहाको भनाई छ । अब तिन जिल्लाका वन कार्यालयका प्रमुख, निर्माण कम्पनी र कार्यान्वयन कार्यालयका अधिकारी बसेर कटान भएका रुख कहाँ कहाँ राखेर त्यसको सुरक्षा कसरी गर्ने भन्ने सहमति भएलगतै पुर्ण रुपमा काम अगाडि बढ्ने कार्यालय प्रमुख अधिकारी बताउनु हुन्छ । उहाँका अनुसार १५ दिनमा सबै काम पुरा हुने छ ।
मन्त्रालयसंग एक रुख बापत २५ रुख रोप्नु पर्ने सहमती भएको अधिकारीले बताउनु भयो । त्यसका लागि जग्गा उपलब्ध नभए त्यस बापतको पैसा दिने या अरु कुनै प्रक्रिया अप्नाउने भन्ने छलपmल समेत भएको छ ।
आयोजनाले रुख काट्ने अनुमति नपाउँदा काम अगाडि बढ्न सकेको थिएन ।
२०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ५७ बर्षपछि फराकिलो गराउने गरी चिनियाँ कम्पनी चाइना स्टेट कन्ट्रक्सनसंग ठेक्का सम्झौता भएपछि काम थालनी भएको हो ।
हाल दुई लेनको रहेको सडक फराकिलो पार्ने कामको प्रधानमन्त्री केपी ओलीले चैत्र ८ गते  बुटवलबाट शिलान्यास गर्नु भएको थियो । शिलान्यास भएको आधा वर्ष बितिसक्दा पनि काम सुरु नभएको भन्दै असन्तुष्ठिहरु बढ्दै जान थालेको थियो ।
१७ अर्ब रूपैयाँको लागतमा बन्ने सडकका लागि एशियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ । बाँकी रकम नेपाल सरकारले नै लगानी गर्ने छ । बुटवल–नारायणगढ १ सय १३ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार हुनेछ । १ सय १३ किलोमिटरमध्ये २८ किलोमिटरमा ६ लेन’ अर्थात् सर्भिस लेन पनि संगै हुनेछ ।


‘सडक निर्माणको अवधि साढे ३ वर्ष तोकिएको छ । सडकको दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको हो । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४।४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८।५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुबैतर्फ काम हुने अधिकारीले जानकारी दिनु भयो । 
गैंडाकोट दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
सडकका लागि नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षका लागी  एडिबीले ऋण उपलब्ध गराएको हो । आयोजनाको ठेक्का गएको पुस ४ गते भएको थियो । यो सडक २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको हो । यसअघिका आयोजनाहरु एकवर्ष मात्र मर्मत गर्ने नियम रहेपनि यसमा भने थप चार वर्ष पनि ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ ।
यो सडकमा २१ वटा नयाँ पुलहरू बन्ने छन् । अहिले जहाँ पुल छन, तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल पनि बन्ने छन् । सडकले रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी ३ जिल्ला छुनेछ । सडक आयोजनाको कार्यालय भने गैंडाकोटमा रहेको छ । सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टादेखि पौने दुई घण्टामा पुग्न सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस