निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष दिए यस्तो बयान

सफल खबर संवाददाता

शुक्रबार, १५ कार्तिक २०७६, १६ : ५२
निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष दिए यस्तो बयान

काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई निजको निवासमा बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष बयान दिएका छन् ।
बयानमा उनले पीडित महिलालाई आफूले २०४७ सालदेखि नै चिन्दै आएको तर आफूमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताएका छन् । महराले सरकारी वकिलको कार्यालयसमक्ष दिएको बयान यस्तो छ,
‘२०४७ सालदेखि झण्डै चार वर्ष मेरो घरमा बसेकी हुँदा निजलाई मैले सोही समयदेखि चिन्छु । उनी मेरो विद्यार्थीजस्तै हुन् । उनले अहिले पनि मलाई महरा सर भनी सम्बोधन गर्छिन् । २०४८ सालमा म सांसदमा निर्वाचित भएपछि करिब ३ वर्ष भेट भएन । पटक पटक निरन्तर उनको परिवार र मेरो परिवारबीच सँगै आउनेजाने, खाना खाने सन्दर्भमा भेट भइरहन्थ्यो । साविकमा म सम्बद्ध पार्टीमा निजले आफ्नो र श्रीमानको सरुवाको लागि पटक पटक भन्ने सिलसिलामा भेट हुन्थ्यो ।’ सोही क्रममा गत असोज १२ गते करिब ३-४ बजे उनी सिंहदरवारस्थित आफ्नो अफिसमा आएको महराले उल्लेख गरेका छन् ।
 ‘उनी मेरो अफिसमा आइ मेरो समायोजन मिलेन, आफ्नो समायोजन मिलाउन भनी मलाई पटक पटक अनुरोध गर्दै म अन्यायमा परेँ भनी आक्रोसपूर्ण रुपमा गुनासो गरेकी थिइन् । मैले धेरै सम्झाएँ । समायोजनको प्रसंगबारे सम्बन्धित निकायलाई मैले भनिदिएको हुँ तर कम्प्युटर सेटिङले मिलाउने भएकाले अहिले सकिएन भन्नेकुरा उनलाई सुनाएको हुँ तर उनको आवेग र आक्रोस मत्थर भएन । मैले सरकारले जहाँ खटाएको छ अहिले जानु, पछि काजमा मिलाउने कोशिस गर्नेछु भनी जवाफ दिएँ । उनलाई मेरो जवाफको चित्त बुझेको थिएन र आवेगकै अवस्थामा अफिसबाट फर्केकी थिइन् । म पनि सभामुख निवासतर्फ लागेँ, प्रश्नमा सोधेजस्तो १८ः३० बजे म निवासमै पूर्व वनमन्त्री वकिल महमदसँग छलफलमा थिएँ । म र पीडितको त्यतिबेला फोन सम्पर्क भएको छैन ।’
‘उक्त दिन दिउँसो उनीसँग भएको सम्वादमा उनी आक्रोसमा आएपछि उनको स्वास्थ्य प्रतिकुल हुने र विक्षिप्त अवस्थामा पुग्ने भन्ने कुरा मैले सुनेको थिएँ । केही समय अगाडि यस्तै घटनाक्रमले अति नै विक्षिप्त भई सिभिल अस्पतालमा उपचार गराएको कुरा पनि मैले उनको श्रीमानबाट थाहा पाएको थिएँ । त्यतिबेला भने उनको श्रीमान काठमाडौं बाहिर भएको, मैले टेलिफोन गर्दा सम्पर्क हुन नसकेकोले एक पटक फेरि सम्झाउनु पर्छ भन्ने उद्देश्यले म निजी गाडीमा सुरक्षाकर्मीसहित अन्दाजी बेलुका ७ः०० बजेपछि उनको कोठा रहेको इलाकामा गएको हुँ र मैले उनलाई पटक पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि म सोही गाडीमा फर्की निवासमा आएको हुँ ।’ 
महराले बयानमा भनेका छन्, ‘करिब १२ वर्षदेखि यता बजारमा मैले रक्सी किनेको पनि छैन, बोकेर हिँड्ने प्रसंग नै भएन । त्यसैले रक्सी बोकेर आएको भन्ने कुरा विल्कुलै निराधार हो ।’