बढी शुल्क समायोजन गर्न तयार छौँ : चितवन मेडिकल कलेज

सफल खबर संवाददाता

शुक्रबार, १५ कार्तिक २०७६, १५ : ४३
बढी शुल्क समायोजन गर्न तयार छौँ : चितवन मेडिकल कलेज

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले सरकारले तोकेको भन्दा बढी लिएको शुल्क समायोजन गर्न तयार भएको जनाएको छ । सीएमसीले आज पत्रकार सम्मेलन गरी शुल्क समायोजन गर्न तयार भएको जनाएको हो । 

विगतमा विद्यार्थीहरुसँग भएको सहमति कार्यान्वयन हुन समस्या परेको सीएमसीको भनाइ छ ।  सिएमसीले पत्रकार सम्मेलनमा विद्यार्थीहरु इमान्दार नहुँदा विगतको सहमति कार्यान्वयन हुन नसकेको जनाएको छ । 

विगतमा भएको सहमति अनुसार बढी शुल्क फिर्ता वा समायोजन भन्ने विषय अध्ययन गर्न बनेको समितिले अहिलेसम्म रिपोर्ट नबुझाएको सीएमसीको प्रबन्ध निर्देशक प्राडा हरिसचन्द्र न्यौपानेले बताए । उनले रिपोर्ट नदिँदा सहमति अनुसार अगाडि बढ्न नसकेको दावी गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले भने ‘प्रतिवेदन नदिँदा सहमतिको बुँदा नं. १ मा उल्लेख ३० दिनभित्र नेपाल सरकार एवम् आईओएमले तोकेको भन्दा बढी शुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता पूरा हुन सकेन ।’

पठनपाठनको वातावरण बनाउन एमबीबीएसलगायत अन्य संकायका विद्यार्थीहरुले कार्तिक २० गते हुने परीक्षाको फारम कार्तिक ८ गतेभित्र भरिसक्नुपर्नेमा नभरेको कलेजको आरोप छ । ‘शुल्क विवाद लगायतका विविध विषय अध्ययन गर्न गठित संसदीय उपसमितिले दिएको प्रतिवेदनलाई नेपाल सरकार मन्त्री परिषद्को बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई कार्यान्वयनका लागि गत भदौ २३ गते निर्देशन दिइसकेको छ ।

समितिले दिएको प्रतिवेदनका आधारमा प्राप्त निर्देशनलाई मेडिकल कलेज पनि लागू गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दाछौँ’ सिएमसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मेडिकल कलेजले तोकेको भन्दा २० लाखसम्म बढी शुल्क गैरकानुनी रुपमा लिएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका थिए ।

शुल्क फिर्तालगायतका विभिन्न माग राख्दै आन्दोलनरत सिएमसीका विद्यार्थीहरु, अभिभावक र मेडिकल प्रशासनबीच गएको असोज ४ गते त्रिपक्षीय ५ बँुदे सहमति भएको थियो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा भएको उक्त सहमतिसँगै विद्यार्थीहरुले तत्कालका लागि सम्पुर्ण आन्दोलन स्थगित गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस